• काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा देखिएको विवाद अझै समाधान नहुने संकेत देखिएको छ ।

    पार्टी सभापति शेरबहादुर देउवाले शुक्रवार(आज) का लागि बोलाएको बैठकमा पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षसहभागी नहुने भएपछि बैठक अन्योलमा परेको छ भने पार्टी भित्र समस्याको ‘भूमरी’ मा परेको छ ।

    वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता एवं वार्ता समितिका सदस्य हृदयराम थानीले आजका लागि बोलाइएको बैठकमा सहभागी हुने सम्भावना नरहेको बताए ।

    समस्या समाधानका लागि नेता प्रकाशमान सिंह निवासमा पौडेल पक्षका नेताहरुको बैठक शुक्रवार(आज) बसेको छ । शुक्रवार विहान पार्टी उपसभापति समेत रहेका देउवा निकटका नेता विमलेन्द्र निधिले पौडेल पक्षका नेता सिंहलाई टेलिफोन गरि सभापति सहमतिका लागि अग्रसरता देखाएको भन्दै पार्टी कार्यालय आउन आग्रह गरेका थिए ।

    तर नेता थानीले भने यसअघि भएका सहमतिलाई कार्यान्वय गर्नेतर्फ संस्थापन पक्ष गम्भीर नदेखिएको र आफूहरुका मागलाई वेवास्ता गरिएको बताए।

    ‘सहमतिलाई कार्यान्वयन गर्न उहाँहरु लाग्नु भएको छैन,’ नेता थानीले भने,‘मागहरुको पनि वेवास्ता गर्नुभएको छ । उहाँहरु(देउवा) गम्भीर देखिनु भएको छैन । निकास ननिस्कने बैठकमा बस्नुको के औचित्य ?’

    असन्तुष्ट पक्षधरले केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका ल्याउन शुरुवाती दिनहरुमा माग गर्दै आएको थियो ।

    संस्थापन पक्षले फागुन २०७७ मा महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने भएसँगै कांग्रेस भित्रको विवाद सहमतिमा पुग्ने देखिएको भएपनि पछिल्ला दिनहरुमा नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल र विभागहरुले गर्दा दुई पक्षबीच समस्या देखिएको छ ।

    पौडेल पक्षका नेता थानीले नेपाल विद्यार्थी संघ, तरुण दल लगायतमा देखिएको समस्यामा संस्थापन पक्ष गम्भीर नदेखिएको आरोप लगाए ।
    ‘उहाँहरु विद्यार्थीमा देखिएको समस्यामा गम्भीर देखिनु भएको छैन’ नेता थानीले भने,‘हाम्रो दाबी विद्यार्थीको नेतृत्वदेखि शीर्ष स्थानमा पनि रहेको छ ।’

    पौडेल पक्षले विद्यार्थी संघमा करिब ५० प्रतिशतको हिस्सेदारी दावी गरेको छ । तर देउवा भने पौडेल र सिटौला पक्षलाई गरेर ५० प्रतिशत दिने मुडमा पुगेको देउवा निकट नेताको भनाइ छ ।

    देउवा पक्षले पौडेल पक्षधरलाई ३५ र सिटौला पक्षधरलाई १५ प्रतिशत छुट्याउन सकिने अडान राख्दै आएको छ । जसका कारण विहीवार(हिजो) पौडेल पक्षधर नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बसेको बैठकले पनि कुनै निष्कर्ष निकाल्न सकेको थिएन ।

    देउवा निकटका नेता ज्ञानेन्द्र बहादुर कार्कीले पार्टी सभापति सबैलाई मिलाएर लैजाने पक्षमा रहेपछि असन्तुष्ट पक्षले एकपछि अर्को माग गर्दा समस्या देखिएको बताउँछन् ।

    ‘पार्टी भित्र देखिएका समस्या समाधान बैठकहरुबाट गर्नुपर्छ, त्यसका लागि निरन्तर सभापतिले बैठक बोलाइरहनु भएको छ,’ कार्कीले भने,‘तर साथीहरु नयाँ नयाँ कुरा गरिरहनु भएको छ ।’

    पार्टी सभापति देउवालाई पौडेल पक्षलाई मात्र मिलाएर लैजाने छुट नभएको देउवा निकट एक नेताले बताए ।

    ‘पार्टी सभापतिलाई पौडेल समूहलाई मात्र मिलाएर लगेर पुग्दैन’ देउवा निकट नेताले भने,‘सिटौला र गच्छादार समूहले पनि हिस्सेदारी खोजिरहेको छ। यसले गर्दा थप समस्या उत्पन्न भएको छ ।’

    मंसिर २६ गते बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नभएको पौडेल पक्षको सहभागीताको अपेक्षा गर्दै निरन्तर नेपाली कांग्रेसको बैठक सर्दै आएको छ । तर सहमति हुन नसकेपछि बैठक कहिले बस्ने भन्ने टुंगो लाग्न सकेको छैन ।

    पार्टी सभापति देउवाले असन्तुष्ट पक्षलाई पेलेरै भएपनि बैठक बसाल्न खोजेका थिए, तर पछि समस्या देखा पर्नसक्छ भन्दै देउवाको ‘कोर टीम’ ले देउवालाई मनाएका थिए ।

    ‘सभापति ज्यूले यसअघि नै पनि बैठक जसरी पनि चलाउँछु भन्नु भएको थियो’ देउवा निकटका एक नेताले भने,‘हामीले नै साथीहरु सहमतिमा आउँछन् केही दिन धैर्य गर्रौं भनेका हौं तर, उहाँहरुको नियत त्यस्तो देखिएको छैन ।’

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…