• नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई सहमतिबाट महाधिवेशनको कार्यतालिका बनाउन र गुटको राजनीति त्यागेर सिंगो पार्टीको सभापति बन्न आग्रह गरेका छन् ।

    कोइरालाले बहुमतको आधारमा महाधिवेशनको मिति तोकिनु दुर्भाग्य भएको भन्दै कांग्रेस पार्टीको इतिहासमा यस्तो कहिल्यै नभएको बताए ।

     

    कोइरालाले शेरबहादुर देउवा सिंगो पार्टीको नभई गुटको सभापति बनेकाले समस्या आएको बताए । उनले सभापतिकै कारण भातृ एवं शुभेच्छुक संगठन लथालिङ्ग भएको बताए । उनले सभापति देउवाले नैतिक बल गुमाइसकेकाले वाइडबडी र यति होल्डिङ्स जस्ता जघन्य भ्रष्टाचारका मुद्दामा प्रतिपक्षको हैसियतले आवाज उठाउन नसकेको बताए । कोइरालाले आफू पार्टी मजबुत बनाउने अभियानमा लागेकाले कसैसँग पूर्वाग्रह नराखेको स्पष्ट पारे ।

    ४४ औं राष्ट्रिय मेलमिलापको अवसरमा नेपाली कांग्रेस मोरङले बयरवनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले कम्युनिस्टको उग्रराष्ट्रवादले मुलुकको राष्ट्रियता कमजोर बनेको बताए । उनले कांग्रेसलाई अति राष्ट्रवाद र उग्रराष्ट्रवाद स्वीकार्य नहुने प्रस्ट पारे ।

     

    ‘२०३३ सालमा बीपी कोइराला मेलमिलापको नीति लिएर नेपाल फर्कंदा जस्तो अवस्था थियो अहिले पनि राष्ट्रियता र प्रजातन्त्रको अवस्था उस्तै छ,’ कोइरालाले भने, ‘त्यतिबेला राजा राष्ट्रियताका प्रतिक थिए, त्यसैले बीपीले राष्ट्रियताको सवालमा मेरो र राजाको घाँटी जोडिएको छ भन्नुभएको थियो र प्रजातन्त्रको सवालमा जनतासँग छु भन्नुभयो । प्रजातन्त्रको सवालमा जीवनभर राजासँग लडिरहनुभयो तर सम्झौता गर्नुभएन ।’

    वर्तमान सरकारले ‘नियन्त्रित प्रजातन्त्र’मार्फत मुलुकलाई एकदलीय व्यवस्थामा लैजान लागिपरेको उनको आरोप थियो । सरकारले प्रतिपक्षलाई दबाउने, कर्मचारीलाई समायोजनका नाममा तर्साउने, अध्यादेशमार्फत नागरिक र प्रेसका संवैधानिक हकअधिकार खोस्ने, न्यायालय कब्जा गर्ने, सुरक्षा अंगमाथि नियन्त्रण राख्ने जस्ता सर्वसत्तावादी चरित्र देखाएकाले प्रजातन्त्रमाथि खतरा बढेको बताए ।

    आफूले सरकार खोजिरहेको र कतै सरकार नभेटेको बताउँदै डा. कोइरालाले अराजकता, भ्रष्टाचार र दण्डहिनतामा मात्रै सरकार भेटिएको बताए ।

    पछिल्ला दिनमा बढेको राष्ट्रपतिको सक्रियताप्रति आलोचना गर्दै कोइरालाले भने, ‘संवैधानिक राष्ट्रपतिले पदीय मर्यादा र गरिमा भुलेर दलीय कार्यकर्ताले जस्तो सक्रिय भूमिका देखाउन थालेकाले विभिन्न शंका उपशंका सिर्जना गरेको छ ।’

    सरकारले यति होल्डिङ्स लगायत केही सीमित व्यवसायीलाई पक्षपोषण गरेर राष्ट्रिय सम्पतिमाथि अतिक्रमण गरिरहेको आरोप कोइरालाले लगाए ।

    कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विधान मिचेर जथाभावी गर्न सभापतिलाई छुट नभएको बताए ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…