• काठमाडौं | नेपालकै सबैभन्दा लोकतान्त्रिक दलको मान्यता दिंदा मख्ख पर्ने गरेको नेपाली कांग्रेसका नेताहरुका बीचमा देखिएको बेमेलले कांग्रेसजनलाई लज्जित बनाइरहेको छ ।

    लोकतान्त्रिक दलमा कुनै पनि निर्णय हुनुपूर्व सौहार्दपूर्ण रुपमा छलफल हुनुपर्ने तथा छलफलबाट निस्कने निर्णय सबैले मान्नुपर्ने सामान्य लोकतान्त्रिक मान्यताविपरित कांग्रेसका शीर्ष नेताहरु लागिपरेको हालको अवस्थामा कांग्रेसजन दिक्क मान्न थालेका छन् ।

    पुस १६ गते कांग्रेसका पूर्व सभापति स्व. बी.पी.कोइरालाले लिएको राष्ट्रिय मेलमिलापको नीतिको अवसर परेको अवस्थामा समेत उक्त दिनलाई कांग्रेसका नेताहरुले औपचारिकतामा परिणत गरेको भनी शुभेच्छुकहरु समेत निराश अवस्थामा पुगेका छन् ।

    कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ४४औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसर पारेर कांग्रेस सभापति शेरबहादुर देउवा र आफूले हात मिलाएको तस्वीर फेसबुक पेजमा सार्वजनिक गरेको अवस्थामा कांग्रेसमा गुजुल्टिएको गाँठो फुक्ने आशा गरिए पनि नतिजा भने ठोस रुपमा देखा पर्न सकेको छैन ।

    पार्टीभित्र संस्थापनइतर पक्षको नेतृत्व गरिरहेका पौडेलले बुधबार बिहान दुई शीर्ष नेताहरूको तस्वीरमार्फत पार्टीमा मेलमिलापको संकेत गरेपछि कांग्रेसजनमा उत्साह भने थपिएको अवस्था छ ।

    पौडेलले शुभकामना दिंदै ‘आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भमा राष्ट्रिय मेलमिलापको आवश्यकता र महत्व अझ बढेको मैले महशुस गरेको छु’, भन्दै पौडेलले लेखेका छन्, ‘ऐतिहासिक दिनको स्मरणमा मनाइने यो दिवसले हामी नेपालीको आत्मीयता, आपसी सद्भाव, विश्वास र एकता अझ घनिभूत हुने र हाम्रो राष्ट्रियता बलियो हुने विश्वास लिएको छु ।’

    सभापति देउवाले मेलमिलाप दिवसका अवसर पारेर बुधबार पदाधिकारीहरूको बैठक बोलाए पनि संस्थापनइतर समूहका पदाधिकारीहरु उक्त बैठकमा सामेल नहुने अवस्था रहेकाले पनि कांग्रेसजनमा निराशाको बादल नै मडारिन पुगेको हो । केन्द्रीय कार्यसमितिबाट हालै सभापति देउवाद्वारा गरिएका निर्णयहरू फिर्ताको माग गरेर पौडेल पक्षधरहरुले भेला, छलफल, बहिस्कार लगायतका कार्यक्रम गर्दै आएको छन् ।

    यसैगरी पौडेल पक्षधरहरुले सभापति देउवाविरुद्ध रणनीति बनाउन पुस २१ गते जिल्ला सभापतिहरूको भेला डाकेको अवस्थामा कांग्रेसलाई घिउ नपचेको भन्न थालिएको छ । महाधिवेशनको मिति तोक्न माग गर्दै आएको अवस्थामा बिना सहमति देउवाले १४औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपछि पौडेल पक्षधरहरु त्यो कार्यतालिका फिर्ता लिनुपर्छ भनेर माग गर्दै आएका छन् ।

    कांग्रेसका सभापति देउवाले सिंगो कांग्रेसलाई हाँक्न नसकेको भन्ने आरोप लाग्दै आएको छ । उनले बहुमतको आधारमा कांग्रेसको निर्णय गराउँदै आफ्नाविरुद्ध आवाज सुन्न नचाहेको पनि आरोप लाग्ने गरेको छ । त्यसो त देउवाले निर्णय गराउनुपूर्व आफूइतर पक्षका शीर्ष नेताहरुसँग वार्ता गर्न चाहेको देखिएको थियो । उनी स्वयम् पौडेललाई भेट्न पौडेलको निवासमै पुगेका पनि थिए । तर, देउवाको धावन्तीमा कूटनीतिक चाल रहेको भन्दै पौडेलले आफ्ना अडानहरुलाइृ सम्बोधन हुने निश्चित गरिएका खण्डमा मात्र बैठकमा भाग लिने मनसाय राखी बैठकमा आफू पक्षधरहरुलाई अनुपस्थित राखेपछि देउवाले उपसभापति विमलेन्द्र निधिमार्फत पनि वार्ताका लागि प्रयास गरेका थिए । उनको प्रयास पनि असफल भएपछि देउवाले आपूm अनुकुलको निर्णयहरु केन्द्रीय समितिको बैठकबाट बहुमतको आधारमा गराएका थिए ।

    देउवाले एकतर्फी रुपमा गराएको निर्णय अनुसार महाधिवेशनलाई सार्ने कार्यमात्र भएको भनी सो कार्यतालिकाप्रति देउवाइतरहरुले असन्तुष्टि राख्दै आएका छन् । देउवाले नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको कार्यकालका सम्बन्धमा समेत एकतर्फी रुपमा निर्णय गराई आफू इतर पक्षकाहरुलाई झनै चिढ्याउने कार्य गरेका थिए । देउवाले केन्द्रीय विभागहरु समेत बढाई आफू पक्षधरहरुलाई ती विभागमा विधान विपरित राखी भोलिका दिनमा महाधिवेशनमा आफ्नो पक्षको मतदाता बढाउने प्रयास गरेको भनी त्यस्तो कर्मको पनि आलोचना भएको छ ।

    भर्खरै सम्पन्न उपचुनावमा कांग्रेसप्रति देखाइएको जनमतलाई आत्मसाथ गर्दै कांग्रेसका नेताहरुले एकता प्रदर्शनी गर्नुको साटो ‘विनासकाले विपरित बुद्धि’ भने झैंको अवस्था कांग्रेसका नेताहरुले देखाउँदै आएका छन् । कांग्रेस एकढिक्का भएर चुनावमा होमिएको खण्डमा जस्तोसुकै अवस्थालाई पनि आफ्नो पक्षमा पार्न सक्छ भन्ने मान्यता गत उपनिर्वाचनले समेत देखाएको थियो । कांग्रेसले उक्त उपचुनावमा देखाएको एकताका कारण जनताले समेत कांग्रेसलाई पनः विश्वास गर्ने वातावरण बनाएको थियो । धरान उपमहानगरपालिकाको प्रमुख र भक्तपुरको प्रदेशसभाको निर्वाचनमा कांग्रेसले ऐतिहासिक उपलब्धी हासिल गरेको थियो । सबै कम्युनिष्ट घटकहरु एक ठाउँमा हुँदाका अवस्थामा समेत कांग्रेसले नतिजा आफ्नो पक्षमा देखाउन सफल भएको थियो ।

    यसरी कांग्रेसप्रति जनताको पुनः आशा र माया देखाएको अवस्थामा कांग्रेसको भन्दा पनि गुटको राजनीति गर्न रमाउने गरेका देउवा, पौडेल र कृष्णप्रसाद सिटौलाले सिंगो कांग्रेसलाई छियाछिया पारी आफ्नो गुटलाई मौलाउने अवस्था सिर्जना गरेका छन् ,नयाँ विर्मशकामा उल्लेख छ । उनीहरुको व्यक्तिगत स्वार्थका कारण सिंगो कांग्रेस भने मर्माहत अवस्थामा पुगेको छ ।

     

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…