• काठमाडौँ , २९ पुस : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक स्थायित्वसहितको आर्थिक विकासका लागि वाम गठबन्धनले असाध्यै ठूलो मिहिनेत गर्नुपर्ने बताएका छन् ।

    अध्यक्ष दाहालले भने–‘वाम गठबन्धनका लागि आगामी दिन सहज छैन । धेरै चुनौती छन् । त्यसको उचित निरुपण गर्दै जनतालाई राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको दिशामा लैजानु जरुरी छ ।’

    राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र सुशासनको एजेन्डालाई नेपाली जनताले संस्थागत गरेको र करिब दुई तिहाइ जनमत वाम गठबन्धनको पक्षमा प्राप्त भएको भन्दै अहिले प्राप्त भएको उपलब्धि ठूलो मिहिनेतको परिणाम भएको बताए ।

    देशभक्त गणतान्त्रिक मञ्चले शनिबार राजधानीमा आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली जनताको अपेक्षालाई सम्बोधन गरेर मुलुकलाई समृद्ध बनाउनु र नेपाली जनतालाई समृद्धिको मार्गमा लैजानु नै आजको प्रमुख कार्यभार भएको स्पस्ट पारे ।

    शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउने लक्ष्यका साथ नेकपा एमाले र माओवादी केन्द्रको बीचमा पार्टी एकता गर्न लागिएको उल्लेख गर्दै उनले लामो समयदेखिको नेपाली जनताको अपेक्षालाई सम्बोधन गर्न पनि राजनीतिक स्थायित्व जरुरी रहेको बताए ।

    संविधान कार्यान्वयन गर्ने र तीनओटै तहको निर्वाचन सम्पन्न गर्ने मुलुकको प्रमुख दायित्वलाई आफूहरुले सहजरुपमा सम्बोधन गरिसकेको भन्दै अध्यक्ष दाहालले समृद्ध नेपाल बनाउने युगको सुरुआत भएको धारणा राखे ।

    ‘संविधान निर्माण भएपनि कार्यान्वयन हुँदैन कि, नेपाली जनताले पाएको अधिकार संस्थागत हुँदैन कि भन्ने नेपाली जनतामा ठूलो चिन्ता थियो, त्यो चिन्ता दूर भएको छ । राजनीतिक स्थायित्वको दिशामा मुलुककेन्द्रित भएको छ’–अध्यक्ष दाहालले भने ।

    सुशासन, समृद्धि र स्थायित्व नै मुलुकको प्रमुख कार्यभार भएकाले त्यसलाई सम्बोधन गरेर जाने र नेपाललाई सक्षम र सबल मुलुककारुपमा स्थापित गर्ने दायित्वलाई वाम गठबन्धनले उचित सम्बोधन गर्ने उनको कथन थियो ।

    कार्यक्रममा राजनीतिकशास्त्रका प्राध्यापक डा। सुरेन्द्र केसीले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न सबैको सकारात्मक योगदानको जरुरी रहेको बताए ।

    उनले जनअपेक्षालाई सम्बोधन गर्न राजनीतिक नेतृत्व इमान्दार भएर प्रयत्न गर्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा कला, संस्कृति र पत्रकारिताका माध्यमबाट समाजमा विशिष्ट योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वलाई अध्यक्ष दाहालले सम्मान गरेका थिए ।

    आयोजक संस्थाका अध्यक्ष बाबा बस्नेतले समाजमा राम्रा काम गर्नेको सम्मान गर्ने संस्कारको विकासका लागि आफ्नो संस्थाले गत वर्षदेखि सम्मान गर्ने प्रचलन सुरु गरेको जानकारी दिए ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…