• काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभामा सभामुख निर्वाचनपछिको पहिलो बैठकमा प्रधानमन्त्रीसहित संसद्मा प्रतिनिधित्व गर्ने शीर्ष नेताहरूले सभामुखलाई बधाईसँगै एमसीसी पारित गर्नुपर्नेमा जोड दिएका छन् । नयाँ सभामुखमा निर्वाचित भएपछि अग्नि सापकोटालाई बधाई दिँदै अधिकांश शीर्ष नेताहरूले एमसीसीलाई स्वीकार गरेर अघि बढ्नुपर्ने धारणा राखेका हुन् ।
    सभामुख सापकोटाको कार्यकाल सफलतापूर्वक अघि बढाउन सबै दलको भूमिका महŒवपूर्ण हुने बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासका लागि एमसीसी सर्वसम्मतले परित गर्नुपर्ने धारणा राखे । उनले सहमतिबाटै संसद् चलाउन आग्रह गरेका छन् । प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहमतिबाट मात्रै हालसम्म प्रगति भएको र आगामी दिन सहमतिबाटै अघि बढ्न जरुरी रहेकामा जोड दिए ।

    सभामुख निर्वाचन प्रक्रियाबाटै सर्वसम्मत र सहमतिको अभ्यास भइसकेको बताउँदै प्रधानमन्त्री ओलीले बाँकी कामकारबाहीमा पनि सहमति जुट्ने विश्वास व्यक्त गरे । ‘हाम्रो समाजको चरित्र नै मेलमिलापका साथ अघि बढ्ने खालको छ,’ उनले भने, ‘हामीले लोकतान्त्रिक प्रणाली र बहुदल रोज्यौं । तर, हामी हरेक काम सहमतिमा गरिरहेका छौं ।’ उनले राणा शासनविरुद्ध संघर्ष गर्दा प्रजातन्त्र ल्याउँदा र गणतन्त्र ल्याउँदा सबैले सहकार्य गरेको स्मरण गराए ।
    ‘जहाँ एकताबद्ध भएनौं । त्यहाँ असफलता र पीडा भोगेका छौं,’ उनले भने, ‘एकता नभएकै बेलामा विभिन्न प्रतिगामी कदम भएका छन् ।’

    ‘कानुन र नियमसंगत ढंगले संसद्लाई अघि बढाउने सफलता प्राप्त हुनेछ भन्ने विश्वास लिएको छु । आफ्ना तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाउन चाहन्छु । सकारात्मक भूमिकामा साथ रहनेछ,’ प्रधानमन्त्री ओलीले सभामुख सापकोटालाई बधाई दिँदै भने । उनले देश विभिन्न राजनीतिक आन्दोलनको चरण पार गरेर यस बिन्दुमा आइपुगेको बताउँदै भने, ‘जहाँ हामीले देशलाई कसरी अगाडि बढाउने ? आजको प्राथमिकता के हुन् ? हाम्रा विचार र काम के मा केन्द्रित गनुपर्छ भन्ने विचार गरेर अघि बढ्नुपर्ने अवस्था छ ।’ उनले संविधान कार्यान्वयनका संरचना बनाउने कुरामा बाटो तय गरिसकेको बताउँदै सुशासन र विकासका विषयमा विचार केन्द्रित गरेर अघि बढ्न जरुरी रहेको बताए ।

    ‘अब हाम्रा एजेन्डा र विषयलाई सुशासन र विकासतर्फ केन्द्रित गर्न जरुरी छ । आजको समय आइडोलोजिकल आग्रहमा अडिने र तिनले सत्यभन्दा माथि ठान्ने प्रवृत्तिबाट बाहिर आउनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘आफ्नो संलग्नतालाई महŒवपूर्ण ठान्ने र सत्यलाई कम महŒव दिने हामीसँग समय छैन ।’ उनले विश्व तीव्र गतिमा अघि बढेको बताउँदै विकास, विज्ञान प्रविधि, भौतिक पूर्वाधार र कनेक्टिभिटीमा दुनियाँलाई समेट्नतर्फ लम्कनुपर्ने बताए । उनले सरकारको तर्फबाट लिइने अवधारणालाई पुनः संसद्मा प्रस्तुत गर्ने जानकारीसमेत गराए ।
    ‘हामीले यतिबेला हाम्रो अगाडि थुप्रै विधेयक पारित गरेर निर्माण गर्नुपर्नेछ । प्रस्ताव पारित गर्नुपर्नेछ । हामीले धेरै अघिदेखि बढ्दै आएको र विभिन्न चरण पार गर्दै आएको एमसीसी पारित गर्नुपर्नेछ,’ प्रधानमन्त्री ओलीले भने । उनले भ्रमण वर्षलाई सफल बनाउने विषयमा केही समस्या उत्पन्न भएको बताउँदै त्यसको सामना गरी अघि बढ्न सबैलाई आग्रह गरे ।

    ‘मुलुकको हित हुने गरी पारित गरौं’ हामीले धेरै अघिदेखि बढाउँदै आएको र विभिन्न चरण पार गर्दै आएको एमसीसी पारित गर्नुपर्नेछ
    –केपी शर्मा ओली, प्रधानमन्त्री

    यो धेरै अघिदेखि सुरु भएको, नेपालका लागि ठूलो सहयोग हो, यसमा अनेक शंका गर्नु जरुरी छैन, अमेरिकाले सैन्य रणनीतिअन्तर्गत हैन भनेको छ, चीनले आपत्ति जनाएको छैन त्यसैले छिटो पारित गर्नुपर्छ ।
    – शेरबहादुर देउवा, कांग्रेस सभापति

    नेपालजस्तो देशमा भारत–चीन र अमेरिकासँग सन्तुलित सम्बन्ध राख्ने विषयमा अनावश्यक विवाद हुनु जरुरी छैन, गुट वा द्वन्द्वको गन्ध एमसीसीमा देखिनु गलत छ ।
    –बाबुराम भट्टराई, अध्यक्ष, समाजवादी पार्टी, संघीयपरिषद्

    यसैगरी, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी परियोजना एमसीसी यसै सदनबाट पारित गर्नुपर्ने बताए । सभामुखलाई बधाई दिँदै उनले यति धेरै अमेरिकी सहयोग नेपाललाई कहिल्यै नभएको बताउँदै एमसीसी पारित गर्नुपर्ने बताए । ‘यो धेरै अघिदेखि सुरु भएको नेपालका लागि ठूलो सहयोग हो, यसमा अनेक शंका गर्न जरुरी छैन । अमेरिकाले सैन्य रणनीतिअन्तर्गत हैन भनेको छ । चीनले आपत्ति जनाएको छैन । फेरि कसको आपत्ति हो ?’ उनले प्रश्न गर्दै भने, ‘त्यसैले यो कुनै हालतमा रोकिनुहुँदैन ।’ राजधानीबाट ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…