जीतपुर/ ‘मधेश प्रान्त हुने र यहाँ लिम्बुवान खम्बुवान नहुने भनेर कोही उफ्रिन्छ भने यहाँ दिउँसै मारामार हुन्छ।’ समाजसेवी घलिन्द्रबहादुर लिङ्देनको सालिक अनावरण कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ ले सरकारलाई चेतावनी दिए।

जीतपुर पारिगाउँस्थित फाल्गुनन्द चोकमा सम्पन्न अनावरण कार्यक्रमका विशेष अतिथि अध्यक्ष कुमार लिङ्देनले भने, ‘पूजनीय गुरु आत्मानन्द लिङ्देनज्यूको शिघ्र सुस्वास्थ्य लाभको लागि ओत तागेरा निङवाभूमाङसँग हार्दिक प्रार्थना गर्छु र म सम्बद्ध संस्था सदैव तयार रहेको अध्यक्ष डकेन्द्रसिं मार्फत गुरुज्यू समक्ष पुर्‍याउन चाहान्छु।’

चुनावी घोषणापत्रमा उल्लेख भएको बुँदालाई उल्लेख गर्दै भने, ‘७० वर्ष काटेकाहरुलाई रेडियो टिभीमा राखेर जुन भाषामा बोल्न चाहन्छन् त्यही भाषामा बोल्न दिनुपर्छ, जिन्दगीका कुराहरु पोख्न दिनुपर्छ, ज्ञानले नै हो आर्थिक प्रगति गर्ने।’
सालिकबारे उनले थपे, ‘यो सालिक त गहना हो, जसरी गहना लगाएपछि महिला सुन्दर देखिन्छ त्यस्तै यो सालिकले यो गाउँ सुन्दर देखिनेछ।’

प्रमुख अतिथि किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिं थेगिमले भने, ‘माङसेबुङदेखि नवमीसम्म तीर्थमार्ग घोषणा गरिएको अवस्थामा, महागुरुको कर्मभूमि, पानी उमार्नु भएको ठाउँ, महागुरुको जीवनसँग जोडिने घलिन्द्रबहादुर लिङ्देनको सालिक स्थापनाले यो क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिनुपर्छ। किरात धर्म तथा साहित्य उत्थान संघ यसको लागि सहयोगी हुने जानकारी गराउन चाहान्छु।’

देउमाइ नगरपालिकाका मेयर सूर्य पोखरेलले सालिक स्थापना भएकोमा खुशी व्यक्त गर्दै भने, ‘भोलिका दिनमा यस्ता कामका लागि आवश्यक पर्ने सहयोग माग्नोस् देउमाई नगरपालिकाले सहयोग गर्ने वचन व्यक्त गर्दछु।’

जीतपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक खडानन्द अधिकारीले बुँदागत रुपमा विचार प्रस्तुत गर्दै शुभकामना दिए, ‘जीतपुर माध्यमिक विद्यालय जसलाई रोप्न, फलाउन र फूलाउन आफ्नो बुता र वर्गतले भ्याएसम्म घलिन्द्रबहादुर लिङ्देनले गर्नुभएको कार्यको उच्च मूल्याङकन गर्दै जीतपुर माविको प्रअको तर्फबाट वहाँप्रति श्रद्धा सुमन व्यक्त गर्न चाहान्छु।’

जीतपुर माविका भूतपूर्व प्रअ जीवनप्रसाद दुलालले स्मरण गरे, ‘२०३४ साल चैतमा यहाँ आउँदा जीतपुरको उप प्रधानपञ्च तथा विद्यालयको सहयोग समितिको वहाँ सबैभन्दा सक्रीय सदस्य हुनुहुन्थ्यो। साँचो कुरालाई नछोड्ने, हठी स्वभावका वहाँ सफा सुग्घर हुनुहुन्थ्यो। जुत्ता साह्रै सफा लगाउनु हुन्थ्यो। कतिपय कुरामा संरक्षकको भूमिका पनि निर्वाह गर्नुभएको थियो। वहाँको मृत्युपछि रिक्तता छाएको थियो।’

नेपाल रेडक्रस सोसाइटी इलामका सभापति देवी गौतमले यो ठाउँको अझै पनि अनुसन्धान गर्नुपर्ने बताए। र भने, ‘घलिन्द्रबहादुरका सुमार्ग र सुकर्महरुलाई लिन सकौं।’

नेपाली कांग्रेसका इलाम क्षेत्र नं. २ का सभापति गोविन्द गिरीले आभार प्रकट गरे, ‘गिरी र लिम्बुको सम्बन्धलाई थप सुमधुर राख्न ९० वर्षभन्दा माथिका व्यक्ति तथा मृत्यु सैयामा हुँदा सँगै रहेका घनश्याम गिरीकी धर्मपत्नीलाई यो परिवारले सम्मान गरेको छ, यसप्रति गिरी परिवारको तर्फबाट आभार प्रकट गर्दछु।’

वडा सदस्य हेमराज लिम्बुले वहाँ जिउँदो हुञ्जेलसम्म चिनेनौं आज बल्ल चिन्यौं भन्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।

त्रिभूवन निम्न माध्यमिक विद्यालयका प्रअ चित्राखर पौडेलले आभार व्यक्त गर्दै भने, ‘२०२५ सालमा स्थापनाकालमा वडा अध्यक्ष घलिन्द्रबहादुर लिङ्देनले आफू सदस्य पदमा बसेर यो विद्यालय खोल्न गहन जिम्मेवारी बहन गर्नुभयो। ४ वर्षपछि सञ्चालक समितिको अध्यक्ष पदमा २०२९ देखि २०३७ साल फागुनसम्म रहनुभयो।’

अक्षयकोषको घोषणा बारे भने, ‘यो विद्यालय जबसम्म रहन्छ तबसम्म त्यो १ लाख रुपैयाँलाई अक्षय कोषमा राखेर त्यसको ब्याजबाट जेहेन्दार २ जना विद्यार्थीलाई छात्रवृत्ति दिइनेछ।’

पानीको मुहान प्राप्त भएकोमा आभार प्रकट गर्दै भने, ‘पानी शुद्ध दान गरेर यो स्कुल र गाउँलाई पर्याप्त मात्रामा पाएकोले गाउँ र विद्यालयको तर्फबाट धन्यवाद दिन चाहान्छु।’

सिद्धिलाल लिङ्देनले सभापतित्व भएको सो कार्यक्रम बेलबहादुर पत्रेले सञ्चालन गरेका थिए। अधिवक्ता नबिन लिङ्देनले कार्यक्रमको औचित्यबारे प्रष्ट पार्दै स्वागत मन्तव्य तथा सभापतिको आदेशमा धन्यवाद दिंदै सभा बिसर्जन समेत गरेका थिए। सोही क्रममा यसै वर्षदेखि लागु हुने गरी घलिन्द्रबहादुरद्वारा संस्थापित लिङदेनटारको त्रिभूवन निमाबिलाई १ लाख रुपैयाँ अक्षय कोषमा दिने, प्रत्येक वष सो विद्यालयको भित्तेपात्रो प्रकाशन गरिदिने र आगामी वर्ष जीतपुरमा मुटु रोगीहरुका निमित्त स्वास्थ्य शिविर सञ्चालन गरिने घोषणा गरेका थिए।

वडा नं. ९ का अध्यक्ष प्रेमसागर बराल, सचिव युवराज घोर्साईलगायत सम्पूर्ण सदस्यहरु, संघीय लिम्बुवान मञ्च इलामका अध्यक्ष दीपक योङहाङ, उपाध्यक्ष सन्तराम योङहाङ, झापा जिल्ला सचिव राजाहाङ आङथुप्पो, इलाम जिल्ला समिति सदस्य राजन फियाक र देउमाई नपा अध्यक्ष हेमराज लोरिङदेन, संघीय समाजवादी फोरम नेपालका माङसेबुङ गाउँपालिका अध्यक्ष किसन खजुम, कि.ध.तथा सा.उ.संघका केन्द्रीय उपाध्यक्ष दूधबहादुर लाओती र तेह्रथुमका पूर्व अध्यक्ष टठबहादुर पङथाकको उपस्थिति रहेको थियो।

कार्यक्रममा घलिन्द्रबहादुरका मित डम्बरुबल्लभ न्यौपाने, सालिक जग्गादाता डाकमान लिङ्देन कुमार लिङ्देनमार्फत सम्मान गरेका थिए। साथै देउमाई नपा मेयर सूर्य पोखरेल मार्फत समकालीन गाउँले भाई लीलाराम गिरी र मृत्युसैयामा रहँदा पनि साथै रहेका घनश्याम गिरीकी श्रीमती मनकादेवी गिरीलाई पित्तलमा सम्मान पत्र र ज्याकेट तथा स्वीटर दिइएको थियो। सम्मान पत्रहरुको वाचन लिङ्देन आत्मानन्द सेइङ बहुमुखी क्याम्पसका प्रमुख होमबहादुर लिङ्देनले गरेका थिए।

कार्यक्रममा केन्द्रीय किरात कलाकारहरु सम्मिलित स्थानीय कलाकारहरुबाट साम्यो नु साक्थिमले थिम्सुबा नामक स्वागत नृत्य प्रस्तुत भएको थियो। बीचमा ५ वर्षीय नानुहाङमा लिङ्देनले ‘आँखैको परेलिमा’ गीतमा आकर्षक नृत्य गरेकी थिइन्। अनावरण कार्यक्रमसँगै यामबहादुर वनेममको नेतृत्वमा ११ जना माङसेवासाबाहरुले किरात धार्मिक अनुष्ठान सम्पन्न गरेका थिए।