• २०७६ फाल्गुण १३ मंगलबार

    काठमाडौं : सुनको भाउ सोमबार प्रतितोला ८० हजार ३ सय रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो। २०७५ मंसिर १६ मा तोलाको ५७ हजार २ सय थियो।

    एक वर्षमै पहेंलो धातुको मूल्य २३ हजार १ सय रुपैयाँ अर्थात् ४०.३८ प्रतिशत बढेको छ। भाउ बढ्ने क्रम तीव्र छ। फागुन लागेपछि तोलामा ४ हजार ६ सय महँगियो। कात्तिक २२ पछिको साढे ३ महिनाको मूल्य हेर्ने हो भने तोलामा १० हजार ४ सय बढेको छ।

    सामान्यतया सुनको भाउ यसरी बढ्दैन। अहिले छिमेकी मुलुक चीनबाट सुरु भएको घातक भाइरस ‘कोरोना’ संक्रमणका कारण सुनको मूल्य चुलिएको हो। संक्रमण नियन्त्रण हुन नसकेपछि सुनको भाउ अझै बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

    विवाह र सामाजिक पर्वको मौसममै सुनको भाउ यसरी चुलिँदा नेपाली ग्राहक मर्कामा परेका छन्। ‘हिउँदमा सुनको भाउ बढेपछि अत्यावश्यकबाहेक धेरैले त किन्दैनन्,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष तेजरत्न शाक्य भन्छन्, ‘किन्नैपर्नेलाई बढी पैसा खर्चनुपरेको छ।’ अहिले सुनको व्यापार करिब ७० प्रतिशत घटेको व्यवसायीले बताएका छन्।

    नेपालमा काँचो सुनमा लगानी गर्ने कानुन छैन। अधिकांश विकसित मुलुकमा सुनमा लगानी गरेर नाफा कमाउन पाइन्छ। ती मुलुकमा लगानीकर्ताले सुन किन्न थालेका छन्। विश्वमा ५० प्रतिशत सुनमात्रै गहनामा प्रयोग हुन्छ।

    कोरोना संक्रमणका कारण चीनसँगै सिंगो विश्व अर्थतन्त्र शिथिल हुँदै छ। कैयन् ठूला उद्योग बन्द भएका छन्। संसारकै सबैभन्दा ठूलो वस्तु निर्यातक मुलुक चीन सुनसान भएको छ।

    सेयर बजार, ऋणपत्र, औद्योगिक क्षेत्र र व्यापारमा लगानी गर्ने पैसा अहिले सुनमा लगानी हुन थालेको छ। पृथ्वीमा सुन अरू धातुजस्तो जति पनि निकाल्न सकिँदैन। वैज्ञानिकको हालसम्मको अनुसन्धानअनुसार विश्वमा एक लाख ७१ हजार ३ सय टन मात्रै सुन छ। पृथ्वीको सबै सुन एकै ठाउँमा राख्ने हो भने २०.७ घनमिटरको डल्लो बन्छ।

    सीमित सुन भएकाले नै संसारभर यसको महŒव बढी छ। युद्ध खतरा बढ्दा होस् वा यस्तै महामारी वा अन्य कारणले अर्थतन्त्र डगमगाउन थाल्दा लगानीकर्ताको धन सञ्चय गर्ने माध्यम सुन बन्ने गरेको छ। यस्तो बेला सरकारले सुन थुपार्छ। नेपाल राष्ट्र बैंकले पनि करिब ३९ अर्ब रुपैयाँ सुन र एसडीआर (अन्तर्राष्ट्रिय मुद्रा कोषले तयार पारेको डलरजस्तै एक किसिमको मुद्रा) मा लगानी गरेको छ।

    विश्वमा सबैभन्दा धेरै सुन उत्पादन गर्ने देश चीन हो। संसारको १२ प्रतिशतभन्दा ज्यादा खानीजन्य सुन चीनमै उत्पादन हुन्छ। पछिल्ला वर्षमा चीनले अमेरिकी डलरको सञ्चिति बढाउन सुन बजारमा आफ्नो उपस्थिति बढाउँदै लगेको थियो। अहिले चिनियाँ सुनको उत्पादन खस्केको छ।

    सुनको मूल्य महँगिन्छ र विदेशी ऋणपत्रको नाफा घट्छ भन्ने अनुमानमा सरकार पनि सुनमै बढी पैसा सञ्चित गर्न चाहन्छन्। थुप्रै सरकारी संस्था र निजी लगानीकर्ताले सुनमै पैसा खन्याउन थालेका छन्।

    अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य सन् सात वर्षयताकै उच्च भएको छ। नेपाली समयअनुसार सोमबार साँझ ८ बजे अन्तर्राष्ट्रिय बजारमा स्पट गोल्डको मूल्य प्रतिऔंस १६ सय ७९ अमेरिकी डलरभन्दा माथि पुगेको छ। अन्तर्राष्ट्रिय बजारको मूल्य शृंखला नियाल्ने हो भने पनि प्राविधिक रुपमै अहिले सुन महँगिने देखिएको छ। वित्तीय बजारको रेखाचित्र विश्लेषणमा ‘राउन्डेड बटम’ भनिने अर्धचन्द्राकार आकृति तयार भएको छ।

    अन्नपूर्ण पोष्टले लेखेको छ- यसले मूल्यवृद्धिलाई अझै उचाल्न सक्ने संकेत गर्छ। अहिलेको रफ्तार पूरा हुने सुनको भाउ प्रतिग्राम ५८ डलरको हाराहारी पुग्न सक्ने देखिन्छ। यही स्तरमा सुनको मूल्य पुग्यो भने नेपाली बजारमा सुनको भाउ प्रतितोला ८६ हजार रुपैयाँ हाराहारी पुग्न सक्छ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …