फागुन १४, काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले मातातीर्थको जग्गा वितरण प्रक्रिया विधिसम्मत भएको बताएका छन् ।
आफ्नो बचाउ गर्दै आफु प्रधानमन्त्री भएका बेला मातातिर्थको जग्गा वितरण प्रक्रिया विधिसम्मत ढङ्ढगबाट भएको बताउँदै उनले मातातिर्थ र ललिलतानिवास जग्गा प्रकरण फरक मुद्दा भएको जिकिर गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै डा. भट्टराइले राजनीतिक र कानुनी रुपमै आफूले निर्णय गरेर उक्त जग्गा वास्तविक मोहीलाई वितरण गरिएको प्रष्टीकरण दिए । उनले प्रष्याउँदै भने, ‘मातातीर्थ क्षेत्रको जग्गा जमीन अलग्गै कुरा हो, झट् हेर्दा गुण र गोबर उस्तै उस्तै देखिन्छ । सामान्य बच्चाले उस्तै ठान्छ तर गुण र गोबरमा तुलनात्कम फरक हुन्छ ।’
राजा महेन्द्रले सूचना जारी गरेर हकपरित्याग गरेको रेकर्ड रहेको भन्दै त्यसबेला रैकर भएको जग्गा पुनः टाठाबाठाहरुले २०४६ सालमा फेरि राजाका नाममा दर्ता गरेको पाइएको जानकारी दिए । उनले सोझासाझा जनताले दर्ता गर्न नसकेको अवस्थामा आफूले उक्त जग्गा पुनः मोहीहरुलाई दिएको बताए ।
आफ्नो मन्त्रिपरिषद् बैठकले मातातीर्थ लगायतका क्षेत्रमा मोहीले कमाएको जग्गा उनीहरुलाई दिने निर्णय गरेको सत्य भएको भन्दै त्यो वर्तमान सरकारलाई ‘अगुल्टाले हानेको कुकुर बिजुली चम्किदा पनि तर्सिए’जस्तै भएको बताए । उनले ललिता निवासको जग्गा प्रकरण भूमाफियाहरुको योजनामा ‘लुट’ नै भएको भन्दै ललितानिवास प्रकरणसँग मातातीर्थको जग्गा प्रकरण जोड्न नमिल्ने बताए ।
मातातीर्थको जग्गा प्रकरणबारे फागुन ३ गते प्रधानमन्त्रीले संसदमा चर्चा गरेका थिए । उनले त्यसदिन मातातीर्थको १७२ रोपनी १५ आना सरकारी जग्गा व्यक्तिका नाममा गरिएको भन्दै छानविन गर्ने बताएका थिए । प्रधानमन्त्रीले यसो भनेपछि डा।बाबुराम भट्टराई स्थानीयलाई भेट्न मंगलबार मातातीर्थ नै पुगेका थिए ।
उनले संसदमा प्रष्ट्यउँदै भने, ‘नेपाल ट्रस्टको सूचना अनुसार विधिसम्मत नै उक्त जग्गा वास्तविक मोहीलाई वितरण गरिएको हो ।’ डा. भट्टराईले सरकारले जोताहा गरिब किसान मोहीलाई नदिएर यति होल्डिङसलाई नै दिने हो भने त्यसवारे छुट्टै बहस गर्न सकिने भन्दै व्यङ्ग्य समेत गरे ।