• काठमाडौँ, ६ माघ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) र माओवादी केन्द्रबीचको पार्टी एकतालाई अनुमोदन गरेकाले पछाडि फर्केर जाने अवस्था कोही कसैलाई नभएको बताउनुभएको छ ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज पार्टी निकट जनसांस्कृतिक महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “नेपाली जनताले पार्टी एकतालाई स्वीकार गरिसकेका छन् । अनुमोदन गरिसकेका छन् ।”

    पार्टीभित्रका केही व्यक्तिले एकताको विरोध गरिरहेको भए पनि त्यसको कुनै औचित्य नभएको र त्यसले कुनै पनि प्रभाव नपार्ने उहाँको भनाइ थियो ।

    “एमाले–माओवादी एकताबाट प्रतिक्रियावादीहरु आत्तिएका छन्”, अध्यक्ष दाहालले भन्नुभयो, “जनता खुशी हुँदा उहाँहरु किन निराश हुनुभयो ? नेपालमा राजनीतिक स्थिरता, समृद्धि र समाजवाद आउँदा उहाँहरुलाई के घाटा हुन्छ ? मैले बुझ्न सकेको छैन । आफूलाई लागेका विषय खुल्ला फोरममा छलफल गर्न छोडेर एकता र बहसबाट भाग्नेचाहिँ क्रान्तिकारी हुन सक्दैन ।”

    नेपाली राजनीतिक इतिहासमा एमाले र माओवादी एक अर्काका पूरकको भूमिकामा रहँदै आएको अध्यक्ष ‘प्रचण्ड’ले उल्लेख गर्नुभयो ।

    विसं २०१९ पछि नेपालको कम्युनिष्ट आन्दोलनमा विभाजन आएको स्मरण गर्दै उहाँले अलगअलग समूहका रुपमा कम्युनिष्ट पार्टी अस्तित्वमा रहनुसमेत दुःखद् रहेको उहाँले बताउनुभयो ।

    नेपालका कम्युनिष्टलाई सधैँ शत्रुको व्यवहार गरिँदै आएको भन्दै उहाँले एमालेलाई आक्रमण गर्ने शक्तिले नै माओवादी केन्द्रलाई समेत आक्रमण गरेको उल्लेख गर्नुभयो ।

    विसं २०५७ को राष्ट्रिय सम्मेलनपछि प्रतिक्रियावादीको निशाना माओवादी बनेको भन्दै उहाँले त्यही शक्तिले एमालेलाई मित्र र हामीलाई दुश्मन देख्न थालेको स्पष्ट पार्नुभयो । नेपालको राजनीतिक इतिहासमा नियतमा नभए पनि वस्तुगतरुपमा एमालेले माओवादी र माओवादीले एमालेको रक्षा गर्न वस्तुगत भूमिका खेलेको भन्दै दुवै पार्टीको महत्व विशिष्ट रहेको अध्यक्ष ‘प्रचण्ड’ले बताउनुभयो ।

    विश्वभरि कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको बेला नेपालमा फैलँदै गएको भन्दै उहाँले एमाले र माओवादी अलग अलग पार्टी हुनुपर्ने कारण नै नरहेको बताउनुभयो ।

    शान्तिपूर्णरुपमै समाजवादको तयारी गर्ने भएकाले समान राजनीतिक कार्यदिशा भएपछि अलग अलग पार्टीको अस्तित्वमा रहिरहनु आवश्यक नभएको उहाँको कथन छ ।

    अध्यक्ष दाहालले भन्नुभयो, “हामीले माओवाद छोडेका छैनौँ, एमालेले पनि जनताको बहुदलीय जनवाद छाडेको छैन । नेपालको राजनीतिक क्रान्तिमा माओवादको भूमिका छ भन्ने कुरामा एमालेका नेताहरु पनि सहमत हुनुहुन्छ, हामी पनि बहुदलीय राजनीतिक प्रतिस्पर्धामा आएका छौँ त्यसकारण समान राजनीतिक विचारधाराको हैसियतमा छौँ ।”

    नयाँ कम्युनिष्ट पार्टीको वैचारिक कार्यदिशाको संश्लेषण कसरी गर्ने ? भन्ने विषयमा आफूहरु छलफलमा नै रहेको भन्दै उहाँले जनयुद्धको भूमिका र इतिहासमा यसको योगदानबारे एमाले र आफूहरुबीच कुनै विवाद नभएको बताउनुभयो ।

    उहाँले एकले अर्काको पूर्ण सम्मान गरेर र अहिलेको परिस्थिति सुहाउँदो वैचारिक कार्यदिशा बनाएर अगाडि बढ्ने भएकाले कुनै शंका नरहेको स्पष्ट पार्नुभयो ।

    कार्यक्रममा अध्यक्ष ‘प्रचण्ड’ले महासंघले पार्टी एकताको वैचारिक र सैद्धान्तिक पक्षमा प्रष्टताको जरुरी रहेको आवश्यकता औँल्याउनुभयो ।

सम्वन्धित समाचार

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…