• विराटनगर । प्रदेश नं १ को प्रदेशसभा सदस्यको प्रादेशिक अस्थायी राजधानी विराटनगरमा आइतवार हुन गइरहेको शपथ ग्रहण कार्यक्रमको तयारी पूरा भइसकेको छ ।

    वीरेन्द्र सभागृहमा हुन गइरहेको ऐतिहासिक शपथग्रहण आइतबार बिहान १० बजेदेखि शुरु हुने कार्यक्रम रहेको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी गराए ।

    प्रदेशसभाका प्रमुख डा गोविन्द सुब्बाले सबैभन्दा पहिले प्रदेशसभाका सदस्यमध्ये ज्येष्ठ सदस्यलाई शपथग्रहण गराउनेछन् ।  त्यसपछि, ज्येष्ठ सदस्यले अन्य प्रदेश सदस्यहरुलाई शपथ ग्रहण गराउने  प्रजिअ आचार्यले जानकारी गराए ।

    विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयबाट प्राप्त जानकारीअनुसार ७४ वर्षीय ओम सरावगी प्रदेशसभाका ज्येष्ठ सदस्य हुन् । मतदाता नामावलीका आधारमा उनको जन्म २००० चैत ३० मा भएको हो । झापाका स्थायी बासिन्दा उनि नेपाली काँग्रेस पार्टीबाट समानुपातिक सदस्यमा छनोट भएका हुन् ।

    प्रदेशसभा सदस्यहरु अन्य जिल्लाबाट आउने क्रम जारी रहेको र आइतबार बिहान सबै सदस्य शपथ ग्रहणस्थलमा आइपुग्ने बताइएको छ ।

    प्रदेश नं १ का १४ जिल्लाका २८ वटा संसदीय क्षेत्रका ५६ वटा प्रदेशसभाका ५६ जना निर्वाचित र समानुपातिका ३७ जना गरी ९३ जना प्रदेशसभा सदस्य छन् ।

    प्रदेश नं १ मा मोरङबाट १२ जना, झापाबाट १० जना, सुनसरीबाट आठजना, इलामबाट चारजना, उदयपुरबाट चार जना प्रदेशसभामा प्रत्यक्षतर्फ निर्वाचित भएका छन् ।

    त्यस्तै, भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ र तेह्रथुम जिल्लाबाट २–२ जना प्रदेशसभामा निर्वाचित भएका छन् ।

    हिंसात्मक आन्दोलन नगर्न आग्रह

    यसैबीच, प्रदेश नं १ का प्रमुख प्रा डा गोविन्द सुब्बाले जनताले आफ्नै जिल्लामा राजधानी हुनुपर्ने चाहनाले गरिएको आन्दोलनलाई हिंसात्मकतर्फ नलग्न आग्रह गरेका छन् ।

    विराटगरस्थित सुनसरी मोरङ सिँचाइ आयोजनाको आवासमा शनिवार साँझ पत्रकारसँग कुरा गर्दै सुब्बाले आफ्नो स्थानमा राजधानी हुनुपर्ने चाहना स्वाभाविक भएपनि आफ्नो अधिकारका लागि अरुको अधिकार हनन हुने काम गर्न नहुने बताए ।

    प्रदेश प्रमुख सुब्बाले १४ जिल्ला रहेको १ नं प्रदेशका सबै जिल्लावासीले आफ्नै ठाउँमा राजधानी होस् भन्ने चाहना हुनु स्वाभाविक हो, त्यो गलत मान्नु हुन्न, तर आफ्नो मागले अरुको अधिकारको हनन् गर्नु हुँदैन भने।

    प्रमुख सुब्बाले प्रदेशको स्थायी राजधानी प्रदेशसभाले तोक्ने व्यवस्था रहेको भन्दै राजधानीका विषयलाई लिएर आन्दोलन नगर्नसमेत आग्रह गरे। आइतबार प्रदेशसभाका ज्येष्ठ सदस्यलाई शपथ ग्रहण गराइने र त्यसपछि उनले अन्य सदस्यलाई शपथ खुवाउने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…