•  

    धनगढी । नेकपा सुदूरपश्चिमले ठ्याक्कै एक बर्ष पछाडि १८ – १९ फागुनमा प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । नेता तथा कार्यकर्ताहरुको राजनीतिक जीवनलाई सक्रिय बनाइराख्न यस्ता भेला बैठकहरु आयोजना गर्ने गरिन्छ । भेला र बैठकहरुले नेता कार्यकर्ताहरुबीच सम्बन्धको अन्तरघुलन पनि हुन्छ । तर, सुदूरपश्चिम नेकपाका भेला बैठकहरुमा माथि भनेजस्ता कुरा भन्दा पनि एकले अर्कालाई कसरी समाप्त पार्ने, होच्याउने र दुख दिने भन्ने विषय मात्र उठ्ने गरेकाले नेकपाका कार्यकर्ताहरु दिक्क मान्दै आएको बताउछन् ।

    प्रसंग हो, २०७६ फागुन १८ गतेको, प्रदेश कमिटीको बैठक भइरहदा नेकपा कैलालीका अध्यक्ष रतन थापालाई अध्यक्षबाट हटाउनु पर्ने माग राख्दै लम्किचुहा नगरपालिकाका मेयर महादेव बजगाई बोले । बजगाईको मागमा प्रदेश कमिटी सदस्य कर्ण कुँवरले हाँ मा हाँ मिलाए । बजगाईको कुरालाई शब्दले समर्थन गर्न नपाउदा कुँवर रिसले आगो भएको र स्थिति एकछिन तनावपूर्ण भएको बैठकमा सहभागी एक जनाले बताए ।

    ती सहभागी प्रदेश सदस्यका अनुसार करिब २ सयको प्रदेश कमिटीमा ६ जनाले कैलाली अध्यक्ष रतन थापालाई कार्वाही गर्नु पर्ने भन्दै हो हल्ला गरेका थिए । कार्वाही नगर्ने भए बैठक नै बहिस्कार गर्ने धम्की दिने बजगाई र कुँवरको व्यवहारले सहभागी अन्य नेताहरुलाई समेत आक्रोशित बनाएको थियो ।

    ती दुबै जनालाई होहल्ला गर्ने भए बैठकस्थलबाट निकालिने अध्यक्ष कर्ण थापाले चेतावनी दिएपछि बजगाई र कुँवर चुपचाप बसेको सहभागी एकजनाको भनाई छ । १८ फागुनको प्रदेश कमिटी बैठक एकअर्काप्रतिको आरोप र प्रत्यारोपका बीच सकिएको र यसले गुटहरुलाई झन उग्र बनाएको केही सहभागीहरुको प्रतिक्रिया छ ।

    त्यसपछि कैलालीबाट क्षेत्र नम्बर २ का प्रदेश सांसद राजेन्द्र भनिने नन्द साउदले ताली पिटे र प्रदेश कमिटी सदस्य अछामका हिक्मत कुँवरले पनि अनैतिक अध्यक्षलाई कार्वाही गर्नु पर्छ भनी चिच्याए । आफ्ना चारै जना विश्वासपात्रले बैठकमा मनको कुरा बोलेपछि मञ्चासनमा रहेका इन्चार्ज भीमबहादुर रावल अनुहारमा चमक देखियो । उनी एकछिन मुस्कुराए ।

    नेकपा केन्द्रीय सदस्य गरिमा शाहले पनि दिर्घ सोडारीको कार्वाही फुकुवा हुनु पर्ने माग गरिन । धनगढीकी एकजना महिलासंगको अनैतिक सम्बन्ध सार्वजनिक भएपछि पार्टीले दीर्घलाई साधारण सदस्यबाट निलम्बन गरेको छ । उनी यति बेला नेकपाको कार्यकर्ता होइनन तर त्यो कागजको निर्णयमा मात्र सीमित छ । पार्टीमा दीर्घको हैसियत यतिबेला केही नभएपनि उनको खुराफातले सिमा नाघेको नेकपाका कार्यकताहरु बताउछन ।

    स्रोतका अनुसार, बैठकमा नेकपा केन्द्रिय सदस्य गरिमा शाहले पनि दीर्घको कार्वाही फुकुवा गर्नुपर्ने र रतन थापालाई कार्वाही गर्नुपर्ने माग राखिन । दीर्घलाई यति लामो समयसम्म पनि कार्वाही फुकुवा नगर्दा गरिमा शाहको मन यति धेरै किन दुखिरहेको छ भनेर नेकपाका कार्यकताहरुले प्रश्न गरेका छन । सोडारी एमालेको कैलाली अध्यक्ष हुँदा अनैतिक आचरण, गैरकानूनी चन्दा असुली, कमिसन र पदको दुरुपयोग गरेका जस्ता दर्जनौ घटनाहरु पत्रपत्रिकामा सार्वजनिक भएका थिए । तिनै सोडारीलाई कार्वाही फुकुवा गर्नु पर्यो भनेर गरिमा शाह बैठकमा कुर्लदा अन्य नेता तथा कार्यकर्ताहरु अचम्ममा परेका थिए ।

    कार्यकर्ता पंक्तिमा रहेका नेकपा कैलालीका अध्यक्ष रतन थापा भने सहयोद्दा कमरेडहरुले आफ्नै बारेमा प्रश्न उठाउन थालेपछि चिन्तित देखिन्थे । थापा माथि कारवाहीको माग राख्ने मेयर बजगाई र उनलाई साथ दिने कर्ण कुँवर दुबै विवादित पृष्ठभूमिका हुन । तत्कालीन नेकपा एमाले कैलालीका इन्चार्ज झपटबहादुर रावललाई खुसी पारेर मेयरको टिकट लिएका बजगाई पूर्वी कैलालीका जग्गा कारोबारी हुन् । जग्गा कारोबार गरेर बजगाईले अकुत सम्पति कमाएको लम्कीचुहाका जनता बताउछन ।

    मेयर भएदेखि नै भ्रष्टाचारका मामिलामा मुछिएका बजगाई र नेकपा कैलालीका अध्यक्ष थापा एउटै वडाका निवासी हुन । थापाकी श्रीमती टीका थापा लम्कीचुहा नगरपालिकामा उपमेयर छिन । उपमेयर थापा र मेयर बजगाईबीच पदभार ग्रहण गरेको दिन देखि नै मनमुटाव रहँदै आएको स्थानीयको भनाई छ । मेयर बजगाईले नगरपालिमा मनपरी गर्न थालेपछि टीकाले विरोध गर्दा सम्बन्ध विग्रेको बताइन्छ ।

    नगरपालिका भित्रको झगडाले नेकपा कैलालीका अध्यक्ष रतन थापालाई समेत पोलिरहेको छ । थापापत्नी उपमेयर टीकाले नगरपालिकामा आफ्नो विरोध गरेको भन्दै मेयर बजगाईले रतन थापालाई सताइरहेको चर्चा यति बेला कैलालीमा छ । रतन थापाविरुद्द विभिन्न खाले षडयन्त्र गर्दै आएको मेयर बजगाई माथि आरोप लाग्दै आएको छ ।

    यस्तै पञ्च, कांग्रेस, माओवादी हुदै २०७४ मा नेकपा एमाले हुदै हाल नेकपाका प्रदेश सदस्य रहेका कर्ण कुँवर पनि नेकपा कैलालीका अध्यक्ष रतन थापाविरुद्द मैदानमा उत्रिएको स्रोत बताउछ ।

    सुदूरपश्चिममा कुवरलाई वन माफिया भनेर चिन्ने गरिन्छ । वन्यजन्तुको शिकार तथा सुकुटी ओसार पसारमा पनि कुँवर मुछिदै आएको कैलालीका सरकारी अधिकारीहरुको भनाई छ। विगतमा वन्यजन्तु मामिलामा यिनले मुद्दा खेपिसकेका व्यक्ति पनि हुन ।

    कैलालीको चुरे क्षेत्रको वन कटानी फडानी गरेर अकुत सम्पति कमाएका उनी अहिले प्रदेश इन्चार्ज भीमबहादुर रावलका आर्थिक श्रोत हुन् । रावल गुटका नेता कार्यकताहरु सदरमुकाम धनगढी आउनु पर्दा यिनैले सबैको व्यवस्थापन गर्दै आएको बताइन्छ ।

    भीमबहादुरले अछामको साफे नगरपालिकाको एकै वडाबाट ६ जना कुँवर थरका मानिसहरुलाई सुदूरपश्चिम प्रदेश कमिटीको सदस्य बनाएका थिए । कर्ण कुँवर हाल कैलालीमा बसोबास गर्ने भएपनि उनको पुरानो घर साफे नै हो ।

    धनगढीमा होटल फ्लोरा र होटल संगममा रावल गुटका नेता कार्यकर्ताहरुलाई जुनसुकै बेला पनि बस्ने र खानाको सुविधा उपलब्ध रहेको नेकपाका कार्यकर्ता बताउछन । होटल फ्लोरा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवरले सञ्चालन गर्दै आएका छन्। उनी भीमबहादुरका नातेदार समेत हुन् ।

    रावल पनि धनगढी आउँदा जाँदा यसै होटलमा बस्ने गर्छन् । यस्तै कैलाली उद्योग वाणिज्य संघको परिसरमा रहेको होटल संगम रावल गुटका नेता तथा कार्यकर्ताहरुको आश्रयस्थल भएको बताइन्छ ।

    कैलाली नेकपामा अहिले भीमबहादुर रावल पक्षधरहरु कैलाली जिल्ला अध्यक्ष रतन थापालाई हटाउन यिनै दुई होटलमा बैठकहरु बस्ने गरेको नेकपा कैलाली श्रोतको भनाई छ ।
    साँघु न्यूज डटकम

सम्वन्धित समाचार

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन “प्याब्सन” पथरी शनिश्चरे नगर कार्यसमितिको शनिबार …

मोरङ । मोरङको पथरी शनिश्चरे वडा नम्बर ६ को मुसहरघट्टालाई पथरी जेसीजले जेसीज गाउँ घोषणा गरेको छ । …

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समिति मोरङले दुई पत्रकार लग…

मोरङ । प्रदेश नं. १ पुन नामकरण संयुक्त संघर्ष समितिले कोशी नाममा हस्ताक्षर गर्ने प्रदेश मन्त्री र सांसदहरुला…