•अनिल घिसिङ
बेलबारी/ तराईको असवाफ गर्मी आजपनी उस्तै छ। अपरान्हमा आँखा तिर्मिराउने घाम। त्यस माथी निस्सासिंदो आर्द्रताका कारण खलखल पसिनाले लछप्रै भिजेको छ शरीर।
सल्लाह अनुसार चारभाई लाठे पहाडको चिसोमा रमाउन हिंडियो। सुरजको बाईकमा बसे अर्जुन। अर्जुनको बाइक विपिनले चलाउने भए। म बसें पछाडिको सिटमा।
पूर्वपश्चिम लोकमार्गको खोर्साने चोकबाट उत्तर मोडिएपछी वातावरण नै अर्कै। लोकमार्गको भिडभाड र बेफुर्सद बजार क्षेत्र चट्ट छोडेर उँभो लागेपछी चारकोसे झाडीको बाक्लो जंगल शुरु भैहाल्यो। कालोपत्रे सडकका दुवैतिर सप्रीएका अग्ला सखुवा लगायतका रुखहरुको शित्तल छायाँ ओढेको सडक खाली प्राय: छ। त्यही शान्त बाटो केराबारी बजारतर्फ हुईंकिंदा पसिनाले भिजेको शरीर सुकिहाल्यो। आफूखुसी चरन चरेर घर फर्कँदै गरेका बाख्राका बथानहरु भेटिए बाटोमा। कतै सडक किनारामा टाक्राकटुक्रुक बसेका वनकरका समूह पनि हामीले देख्यौं।
जंगल छिचोलीसकेपछी केराबारी बजार कटेर उकालो चढ्न थाल्दा जिउमा केही शितल बतास ठोक्किन थालेको छ। एकाध घुम्तिहरु कटेपछी केराबारी भ्यू होटलमा पुगेर बिसाईयो। पिस गर्न सल्लाह गर्नै परेन। नालाबाट आईरहेको पहाडे पानीले हातमुख पखालेपछी केहिबेर त्यहाँबाट देखिने फाँटिला दृष्यतिर आकर्षित भए आँखाहरु। होटलसंगै ग्राहकका लागि बनाइएको गोलाकार कटेरोबाट उँधो हेर्दा दम्स्याईलो केराबारी बजारले हामीतिरै हेरेर शुभयात्रा भनिरहेझैं लाग्थ्यो। मोरङका पुराना बजारहरु मध्ये एक हो केराबारी। यसलाई पृष्टभूमी पारेर फोटा खिचियो। खोलापारी, डाँडाको काछैकाछ लमतन्न पश्चिम फैलिएको जमीनमा खेतिपाती र गाउँहरु देखिए। "म हुर्केबढेको ऊ... त्यही ठाउँ हो" भन्दै विपिनले पारी डाँगी गाउँतिर औंल्याए। खोलापारिबाट पश्चिम तन्किएको त्यो आवादी र उर्वर जमीनयुक्त पाटो पानबारी हुँदै धरान पुग्छ।
विपिन यो रूटको पटके यात्री हो। केराबारी भन्दा उकालो हामी चैं नयाँ।
केराबारी भ्यू होटलको त्यो कटेरोबाट, अघि भर्खर छिचोलेर आएको जङ्गल, खोर्साने, विराटचौक, बेलबारीका समतल फाँट र बजारका दृष्य हेरिसकेर हामी उँभो पहाडतिर उक्लन थाल्नेबेला दिनभर दन्किएर थाकेको घाम बास बस्ने तर्खरमा थियो।
त्यहाँबाट अगाडि ट्र्याक मात्र खोलिएको मोटरबाटोको यात्रा सुबिस्ताले हिँड्न सकिन्न। साँगुरो ट्र्याक। गल्ठ्याङगुल्ठुङ ढुङ्ग्यान बाटो। त्यहिँमाथी ट्याक्टरको पाङ्ग्राले उधिनेको कुलेसो। किनाराहुँदी छरपस्ट गेगर।
डाँडैडाँडा खनिएको त्यो बाटो हामी उकालो लाग्यौं। निकैवटा प्याङ्खर कुईनेटो घुमेर अलिमाथी उक्लेपछी बडाबडा सखुवाका बाक्लै रुखहरु भएको ठाउँमा पुगियो। त्यहाँ थोरै तेर्सिएको बाटो भेटियो। बायाँपट्टि बारिजस्तो गरा-गरा परेको बाँझो पाखो छ। सखुवाका ठूलासाना अनगिन्ती रुखबिरुवा छन्। धेरथोर अम्लिसोका झाङ पनि। "यो जग्गा हाम्रै गाउँका दाईले अस्ति पास गरे। भविष्यमा दा..मी हुन्छ" दोश्रो बिसौनीमा स्वच्छ हावा खाने क्रममा विपिनले हामीलाई सूचित गरे।
खण्डित जङ्गल र भिरालो पाखाहरु बाटोभरी। घरहरु कहिँकहिँ मात्र। ठाउँठाउँमा मुल पलाएको कुलकुले पानीले गर्दा दाँदे लगाएको खेत जस्तै हिलाम्मे छ बाटो। धर्मराउँदै, टेढोमेढो हुँदै गुड्छ बाईक। जोकोहिले बाईक कुदाउन के आँट गरून्।
भीर, खोल्साखाल्सी, हिलो, गेगरान, भौडी आदिमाथि ज्यादतीपूर्ण ढंगले गुड्किंदै आरुबारी निस्कियौं। करिब एक घण्टाको संघर्षमय यात्रापछी हल्का नागी परेको आरुबारी खण्ड केही टारिलो छ। भर्खर भर्खरै डोजरले खनेर घडेरी सम्याएजस्तो फराकिलो गराको माझमा बाईक उभ्याउँदै विपिन बोल्यो- "यो नयाँ प्लटिङ हो।" एउटा कुनामा टिनको छानो भएको भुईंतले घर चिटिक्क छ। त्यहाँ पुग्ने बेलामा त्यस्तै केही घर र मलिलो लाग्ने सुर्का बारी थिए। सम्याईएको पाटोको छेउतिर मुठीएक कदका गोडाचारेक चल्लाहरु चिँपचिँप गर्दै चरिरहेका छन्। डिलमा उभिएर तल छोडी आएको समथर फाँटमा आफ्नो थलो ठम्याउने कोसिस गरियो। बितेका जोर दशकमा तराईतिर बसाँई झर्नेको चापले खचाखच बनेको तराई र एक्लो बनेको पहाडी क्षेत्र। अनि पछिल्लो समय पुन: पाहाडतिरै तानिँदो मान्छेका मन। यस्तै गफसफ गर्दै प्लटिङको कान्ला चोख्याईवरी उकालो चढ्ने क्रम रिज्युम भयो।
घरी डाँडाको दाहिनेपट्टी घरी बायाँपट्टी पर्दै अघि बढ्दै जाँदा छेउभित्तो काउली परेको र माझतिर लतत हिलो भएको तेर्सो बाटोमा डबल जान सकिएन। म ओर्लिएँ। घुँडामाथिसम्म पाईन्ट दोबारेर झिंझिं पार्दै बाईक अघि बढाए विपिनले। पुछर छड्केमड्के पार्दै हिले बाटो छिचोल्यो बाईकले। अलिक माथी ढुंगेभीर फोरेर बाटो बनाईएको ठाउँमा पुगियो। आरुबोटेबाट अघि लागेका सुरज र अर्जुन त्यहाँ अड्केछन् । बाटो धेरै अप्ठ्यारो र'छ, तपाईंहरुलाई पर्खेको- सुरज बोले। चुच्चा ढुंगाको उबडखाबड परेको त्यस ठाउँमा विपिन अघि बढे। सुरजले पछ्याए। थतर्किंदै, दाहिने-बायाँ ढुंगा उछिट्याउँदै उकालोको थाप्लोमा पुगे जोर बाईक। अर्जुन र म पैदल उक्लियौं। तलतिर तारेभीर। भित्तापट्टि ठूल्ठूला जरुवा दर्सिनढुंगाको पहरो। तिनलाई ठुङ्गेर मुस्किलले निकालेको साँगुरो ट्र्याकबाट सासनाले पार भइयो। लगत्तै ग्यारग्यारे ढुङ्गासरिको ठाडो ओरालो छ। ब्रेक लाउँदापनी घस्रेर झरिजाने। जसोतसो डाँडाको घाँटीमा पुगियो। १०/१५ मिटर चौंडा जग्गा छ। घोडाको टाँप आकारको चुरेघाँटी। दुईतिर जुरो परेका डाँडा। सायद हरेक आउनेजानेहरुको बिसौनी हो त्यो। त्यही घाँटिलाई रेट्दै हुर्हुरे बतासका ठण्डा झोक्काहरु पिउरी पर्दै ओहोरदोहोर गर्छन्। नाक ठिहिर्याएको छ। हातका औंलाहरु कक्रेका छन्। छालामा जिरिरि काँडा उम्रीए। हामीले जिरिङ्ग गर्दै दाँत कट्कटायौं। बायाँपट्टी सिंहदेवीको भिरालो भू-खण्डमा फाट्टफुट्ट पातलो बस्ति। हरियो पृष्ठभूमिमा कतै फुसको त कतै टिनले छाएका मसिना घरहरु देखिन्छन्। दहिनेपट्टि हेर्दा झापा-मोरङका सम्म्म भू-बनौट। त्योभन्दा माथी सानाठूला हरिया पहाडका थुम्काथुम्की। ती थुम्काहरुमाथी ठाउँठाउँमा बादलका सुकिला गुच्छाहरु। हामी त्योभन्दा निक्कै माथी उभिएर रहरलाग्दो दृश्य हेरिरहेका छौं। मनोरम दृश्यले मन आनन्दित भएको छ। त्यसरी हेरिरहँदा डोमेस्टिक फ्लाईटमा उड्दा देखिने दृश्यांशहरु आए आँखामा। र तुलना भए एकैछिन्। पहरोमाथिको ढुंगामा उभिंदै फोटो खिचियो। निभिसकेको घामको उज्यालो क्रमश: कमजोर हुँदै गैइरहेको छ।
बाईकको हुलिया बदलिएको छ। गेरु माटोले पोतिएको छ शिर-पुछार। भनौं फेसियल गराईरहेकी सुन्दरीको अनुहार जस्तै लिपिएको छ। सिटको बसेजती भाग मात्र सफा छ। फेसियल गर्दा काँक्रोको टुक्राले छोपेको आँखाको भाग जस्तै।
दाजु! अप्ठेरो बाटो काटियो नि लगभग, विपिनले म तिर हेर्दै भने- अब एकदुई ठाम् अलिक अप्ठेरो छ, पुगिन्छ अब।
हामी चारजनामा विपिन सबैभन्दा कलिलो। म सबैभन्दा छिप्पट। विपिनबाट अनुभव मिश्रित जानकारी पाएपछि सुरज लिम्बू पितिक्क बोले- हौ! बाटो त...।
यो ठाडो उकालो चैं सिंगल जानुपर्छ होला। अनि अलि माथिबाट चढ्नु तपाईंहरु। विपिनको आग्रह।
गोडा तिनेक सूर्य बालिसकेर लागियो बाटो। तोडले उकालो हुँईंकिएको बाईक अलिक माथी पुग्दा ढुंगामा अड्कियो। जति बटारेपनी चढ्न सकेन। पाङ्राले रोडा खोस्रीएर खोपिल्टो पार्यो मात्र। जुध्न आँटेको गोरुले भुईं खोस्रीए झैं।
पछाडिबाट घरिघरी उचाल्दै ठेल्दै पार लगाईयो। विपिन भन्दैछन्- "स्कुटी त ल्याउँछन् अरे मान्छेहरु यो बाटो।" केही अगाडि पुग्दा चुचेढुङ्गामा बाईकको ह्याकुलो ठोक्कियो। ठ्याङ्ग आवाज आयो। उसको हेल्मेटमा मेरो चिउँडो बज्रीयो। पछाडिको बाईकबाट अर्जुनको आवाज आयो- "बिस्तारो चलाउ न।" चिउँडो ठोक्कियो मेरो। दुखेछ उसलाई। बाईकको मालिक जो थियो ऊ। "स्टेण्ड ठोक्किएको होउ" विपिनले ज्वाप दिए। सुरज छोटो हाँसे। म अललीदै थिएँ अझै।
लेकाली पाराको वन। रुखहरुले ओताएको मट्याईलो बाटो आयो। झमक्क साँझ झरिसकेको छ धरतिमा। तिँ माथी हुसुसु हुस्सुले छोप्दैछ। हुस्सुको स्पर्शले परेलामा शीत परेको छ। बाईकको लाईटलाई हुस्सुको पर्दा छिचोल्न हम्मे परेको छ। चिप्लेर लड्ने जोखिम छ। अलिक पर बाँसघारी मुनि खोल्सामा खम्लङ्गै भासियो बाईक। अगाडि जानुको साटो हिलोमा फनक्कै घुम्न खोज्यो। पछाडी बस्ने हामी ओर्लिएर धकेल्यौं। खोल्सो तरेपछी पनि हिलो बाटो तुरिएन। हिलोको आहालमा हेलिँदै गईयो। अब फोस्रे ढुंगावाल जमिन खनेर बनेको बाटो आयो। बाइक सजिलै हुईकिए। २/४ घुम्ती घुमिसकेपछी हामी शाखा बाटो बायाँ मोडियौं। वरिपरि सानाठूला तीनवटा घर र पक्की पाईखानाको चौघेरामा छ फराकिलो आँगन। एउटा घरको दलान तिर पार्किङ गर्दै विपिनले भने- हामी यहिँ बस्ने हो।
पानीसरिको छुस्छुस् हुस्सुले आँगन गिलित्तै भिजेको छ। आँगनको अधिकांश भागमा झार उम्रेको छ। हामी जाडोले काँप्दैछौं। एकजना अधबैंसे दाइ बाँसको ढुंग्रीले अगेनामा आगो फुक्दैछन्। सायद भात पाक्दै थियो। घरमूली दम्पत्ती केही कामले लेटाङ झरेका। आईपुगेका छैनन्। विपिनको चिनजान छ। फोन गरे। बाटोमा आउँदै गरेको जानकारी आयो। आगो फुक्दै गरेका दाईले पल्लो घरमा बस्दैगर्न भने। एउटा टि-टेबल छ। ४/५ थान कुर्सी छन्। एकै छिनमा शहरमा बियर खाने साईजका काँचका कपमा सादा चिया टक्राए। पदेलो हुँदैगरेको पानीमा चियाका तीनपाते कपना बिस्तारै ढाडिदैछन्। यो घरमै बनाको अर्गानिक चिया हो। चार हजार रुपियाँ किलो पर्छ। विपिनले सुनाए। "लु यो खाँदै गर्नुस् है" दाईले एकथाल पोलेको आलु र पुदिनाको अचार टेबलमा राखिदिए। साह्रै मीठो लेकाली आलु। मन पराएर खाँदै हामीले दुईचार प्रसंग राजनीति बातमार्यौं। घरमूली दम्पति आईसक्नुभा'को छ।
लु अब एता बसुम्। अर्को घरमा हाम्रालागी खाने-बस्ने ठाउँ तयार भएछ। टिनको छानो। टिनकै बेरा। फलेकले पार्टिसन गरेको आधा भागमा गोदाम जस्तो लाग्छ। एउटा काठे टेबुल ढोकाको छेउमा। भित्रपट्टि तीन थान खाटमा ओछ्यान तयार छ।
भाले खाने कि गुन्द्रुक खाने कि, सिस्नु खाने कि, ढिंडो खाने कि, मकैको भात खाने कि? लु भन्नुहोस् त। हामीले नौसिंङ्गे खाने निधो गर्यौं। भात चैं चामलकै। पल्लोबारीको गोठमा छ खोर। लौ आउनुस्। आफैं रोजेर समाएर ल्याउनुस्। विपिनले मोवाईलको फ्ल्यास लाईट बाल्दै दाईलाई पछ्याए। "अलिक जख्खु चैं हेरेर ल्याउ है" सुरज अलिक उच्च स्वरमा बोले।
"अनि जुस चहिँ कुन खाने हो भाईहरु? भोगटेको, कोदोको, नासपतिको अनि ग्राउण्ड एप्पलको छ" हामी गफिंदै गर्दा भाउजूले सोध्नुभो। हामी अलमलिएको देखेर आईटम चाख्न दिईयो। भोगटेको हल्का अमिलो राग। नास्पतिको अलिक मलुवा। ग्राउण्ड एप्पलको वाइन नौलो स्वाद। यहाँ चलानी आईटम नपाईंदो रहेछ।
केहिबेरमै तीते आईगयो। तीते तुर्दानतुर्दै एकथाल भुटुवा पनि। तल शहरमा ब्रोइलरको कफल्लो सितनमा बानी परेका दाँतले ब्यायाम गर्ने मौका पाए। साकाहारी विपिनलाई हर्ष न विस्मात। भोलि बिहान चिं फलारको भात र सिस्नु खानुपर्छ होउ। धेरै नबोल्ने, घरिघरी बिस्तारै बोल्ने अर्जुनले कथुरे-कथुरे भएपछी मन खोले। घरिघरी झ्यालबाट छिरेको हुस्सुको लुम्सोले हामीलाई लपेट्दै दैलोबाट बाहिर उड्दैछ। तर जाडोले हाम्रासामु घुँडा टेकिसक्यो अघि नै। दैलोबाट यसो ढल्केर हेर्दा भान्साघरको अगेना देखिन्छ। भात पाकिसकेको संकेत आयो उताबाट।
बिहान सिमसिम पानी पर्दैछ। कपासको सिरक प्यारो छ। कुहिरो रसाएको मात्र हो। झरी होईन। एकैछिनमा छ्याङ्ग उघ्रीन्छ। एकैछिनमा कुहिरोले छोप्छ। यहाँको बिशेषता नै यहि हो। यसैको मोहले आउने हुन् मान्छेहरु यहाँ। हामी पनि आङ चहर्याउने घामबाट आजित भएर शित्तल खोज्दै आएका न हौं।
कुहिरो हटेर आँगनभरी कलिलो घाम ओर्लियो। पाईखानाको यात्रा सकिवरि मन्जन गरिसक्दा हात गङ्ग्रीए फेरि। ओहो! कस्तो ठिहिर्याउने पानी।
कोठामा आउँदा दुईभाई मोवाईल घोच्दैछन्। सिंगल सुतेका सुरज भयंकर घुर्दैछन्। खाटभरिको दोहोरो ज्यान चित परेर पल्टेको छ। मोवाईलमा चर्को घुराईको भिडियो रेकर्ड भयो। उपद्रो त आईहाल्ने। सिरक फालेर सबलाई उठाईयो।
पल्लो बारीतिर रमित हेर्न जाने कुरो भो। हिजो आएको बाटोमुनी मिश्रित बाली बगैँचा छ। माझको गरामा गाईगोठ। गोठसंगै कुखुरा-बाख्राका खोर। रैथाने लोकल गाई। छेउमा रहरलाग्दो बाछो। पर्तिर जखमले बोको र अरु बाख्राहरु धमाधम टाट्नुको डालेघाँस खाँदैछन्। वर्तिर-पर्तिर ठुलासाना कुखुराहरु चर्दैछन्।
बारिमा ग्राउण्ड एप्पल लहलह छ। तल्लो पाटोमा विभिन्न खाले बिरुवा हुर्काईरहेका जोडी टनेल छन्। गोठमाथी माचमा लटरम्म किवी लहरिएको छ। रुख ट्माटर र आरु पनि फलेका छन्। रायो साग र सिस्नु कलकलाउँदो देखिन्छ। ईस्कुसको झाङ थांक्राभरी मलखाडी घेरेर फैलिएको छ। आफू पनि यतै बसाईं सरिहालौं बनाउने दृष्य।
दुई गोलाई पर्तिर भन्ज्याङ परेको ठाउँ छ। १९ सय ८० मिटर उचाईमा रहेको जेफालेमा करिब एक दर्जन होम स्टे तयार छन् पाहुनाको स्वागतमा। हेर्दा एक टुक्रा बजार हो यो। उत्तरपट्टिको डाँडामाथी भ्यू टावर निर्माण गरिएको छ। बाह्र सय सिमेन्टेड खुड्किला उक्लेपछि पुगिने डाँडाको थाप्लोमा निर्मित उक्त टावरबाट उदाउँदो घामको किरण आँखामा ठोक्किनु अघि सगरमाथा, कन्चनजंघा, मकालु हिमशृङ्खला टल्किएको मनमोहक दृश्य देखिन्छ। सूर्योदयका अलावा त्यहाँबाट तराईको समतल फाँट र पूर्वका सोह्र जिल्लाको रमणिय दृश्यावलोकन गर्न सकिन्छ। मोरङ जिल्लाको उत्तरी सिमानामा अवस्थित साविक सिंहदेवी गाविस अहिले केराबारी गाउँपालिकाको वडा नम्बर-२ कायम भएको छ यो ठाउँ। २०६८ को जनगणना अनुसार तत्कालिन सिंहदेवी गाविस रहेका बखत ४ सय ७७ घरधुरी र २४ सय ७८ जनसङ्ख्या अद्यावधिक भएको देखिन्छ। २०७३ सालमा नेपालमा 6 सय ४४ स्थानीय तह लागुहुँदा सिंहदेवीलाई समेत गाभेर केराबारी गाउँपालिका बनाईएको हो। पूर्वपश्चिम लोकमार्ग अन्तर्गत मोरङ खण्डको खोर्साने चौकबाट केराबारी बजार हुँदै आउने नयाँ बाटो सबभन्दा छोटो रुट हो जेफाले पुग्न। यो रुट अफ रोड बाईकिङ्ग गर्न रुचाउनेका लागि सर्ट एण्ड स्वीट गन्तव्य हुनसक्छ। सुनसरीको धरान, धनकुटाको भेंडेटार, डाँडाबजार हुँदै केही लामो यात्रा तय गरेर पनि पर्यटकहरु यहाँ आउने गर्दछन्। पूर्वी तराईबाट छोटो दुरीमा अवस्थित अनि चिसो हावापानी र बजेट होम स्टेका कारण पछिल्लो समय "चील आउट"को लागि लोकप्रिय गन्तव्य बन्दै गईरहेको छ जेफाले हिल।
भुटिखाने मकै, रुख टमाटर, काँक्रा, मकै वा कोदोको पिठो, भोगटे, हाते चियापत्ती, ग्राउण्ड एप्पल, किवी, लोकल टमाटर, पहाडे आलु, टिम्मुर, इस्कुस, रायो साग, सिस्नु, घ्यू आदि जेफाले भ्रमण गरेर फर्कने पर्यटकले साथलाने कोशेली बन्न सक्छन्।
फर्किने क्रममा बाटो छेवैको घरमा रोकियौं। चिया पिउँ कि कफी? घरमूली काकाको प्रश्न। कफी पिउने मन गरियो। गाईको दूध हालेर बनाएको कफीका सेरामिक कपहरु काँसे थालमा राखेर दिईयो। सेवा शैली मौलिक लाग्यो।
हामीले कफी पिउँदै गर्दा एकजना ग्रामिण युवक त्यहाँ आईपुगे। र ती घरमूली काकालाई सोधे- तपाईको घरमा ईटहरीबाट आएका कोहि पाहुना हुनुहुन्छ? पाँच जना भाईहरु हुनुहुन्छ, किन? काकाको उत्तर। पर बाटोमा मैले एउटा समान भेट्टाएको थिएँ हिजो। वहाँहरुकै होला। बोलाएपछी कोठामा सुतिरहेका एक ब्यक्ति आए। तपाईँको नाम? तपाईंको केही हराएको छ? यकिन गरिसकेपछी एउटा पकेट वालेट दिए। र चेक गर्न आग्रह गर्दै ती युवक रवाना भए। जिउँदो ग्रामीण ईमान तत्क्षण देख्यौं हामीले।
त्यति घुमेर फर्किंदा टेबुल आँगनमा थियो। वरिपरिको कुर्सिमा हामी बसेपछी भुटेको मकै-भटमासको फराकिलो थाल आयो खाजा। पोलेको आलु र टिम्मुरको अचार अर्कोमा। उहि अर्गानिक चिया। टेबुलको एक छेउमा तोङ्वाका ढुङ्ग्रोहरु मगमगाईरहेका।
हुस्सु र घामको लुकामारी चलिनै रहेको छ। भान्छा घरको मूल खाँबोमा ठेकालाई ऐँचेर घ्वारघ्वार् मोहि पारिरहेका नारायण दाइ र अगेना छेउ मुडामा बसेर ईस्कुसको मुन्टा केलाईरहेकी बिना भाउजुलाई बाहिरबाटै देख्न सकिन्छ। हामीलाई लक्षित गर्दै भाउजुको आवाज आयो- "सिस्नु आफैं टिपेर पकाउनुहुन्छ भने डिलमुनी झाङ छ। यी यो डोको र चिम्टा लिएर जानुस् है भाईहरु।" होम स्टेको खाँटी सौन्दर्य उजिल्यो। तर भाउजुले दिएको अप्सनमा हाम्रो जाँगर परेन।
दाईभाउजुको चिया बगान र जंगल हेर्न जाउँ- विपिनले प्रसंग मोडे।
फर्केर आउँदा घरपछाडिको झाङबाट एक अंगालो ईस्कुसको मुन्टा टिपेर ल्याईयो मधेस लैजान। त्यहाँको लोभलाग्दो हावापानी र तराईबाट पर्ने छोटो दुरी आदिबारे गफिएर सुस्ताईरहँदा ढुङ्ग्रोको छोक्रा निस्तेज भयो।
पहेंली मकैको भात, लसुन झानेको सिस्नुको तिउन, लोकल गोलभेंडाको अचार, दारको ठेकामा पारेको बाक्लो मोही। जिब्रोमै झुण्डिने स्वाद। जिब्रोले स्वादको ईतिहास कबोल गर्यो। उन्नत ज्यानका सुरज लिम्बुले मोही साह्रै मन पराए। थपिथपी मोहि पिउँदै गर्दा भने- आजपनी यतै बसुम्। भोली फर्किउँ न। विपिन र अर्जुनले उनको प्रस्तावमा समर्थन जनाए। मेरै समय अभावले पूर्वतालिका नाघेर ओभर स्टे गर्न पाईएन। केहिबेर आराम गरेर हामी झर्यौं ओरालो। अंगालो भरिको काँक्रो, झर्झराउँदो सिस्नु, इस्कुसको मुन्टा, रुख टमाटर र होममेड चियाको पोको बाईकमा बाँधेर फर्किंदा जाँदा भन्दा चाँडो बाटो काटेको महसुस भयो।