• काठमाडौं । कांग्रेसले प्रदेशमा संसदीय दलको नेता छान्न चासो देखाएको छैन । सातवटै प्रदेशमा पार्टीको सरकार नबन्ने भएपछि कांग्रेस उदासीन देखिएको हो । सातमध्ये ६ वटा प्रदेशमा वाम गठबन्धन र एउटामा मधेसकेन्द्रित दलको नेतृत्वमा सरकार बन्ने निश्चितजस्तै छ । प्रत्यक्ष र समानुपातिक गरी कांग्रेसबाट सातवटै प्रदेशमा ११३ सांसद निर्वाचित भएका छन् ।

    कुनै पनि प्रदेशमा सरकार निर्माण हुने अवस्था नरहेकाले दलको नेता चयनमा पार्टीले रुचि नदेखाएको कांग्रेस नेताहरू बताउँछन् । सशक्त प्रतिपक्ष बन्न बलियो र योग्य नेता बिस्तारै चयन गर्ने सभापति शेरबहादुर देउवाको चाहना रहेको बालुवाटार स्रोत बताउँछ ।

    निर्वाचन आयोगले प्रदेश सांसदको पूर्ण सूची सार्वजनिक गरेको २० दिनमा पहिलो अधिवेशन बोलाउने र ३० दिनभित्र मुख्यमन्त्री नियुक्त गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । आयोगले ३ माघमा समानुपातिक र प्रत्यक्षतर्फ निर्वाचित भएका सांसदहरूको पूर्ण सूची सार्वजनिक गरेकाले २३ माघभित्र पहिलो अधिवेशन र ३ फागुनभित्र मुख्यमन्त्री चयन गरिसक्नुपर्छ ।

    तत्काल बैठक नबोलाउने 
    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश संसद्को पहिलो अधिवेशन र राष्ट्रिय सभा निर्वाचनमा मत खसाल्न जिल्ला–जिल्लाबाट अस्थायी मुकाममा सांसदहरू भेला भएका वेला पहिलो बैठक बसाल्ने तयारी रहेको जानकारी दिए ।

    ‘तत्काल बैठक बोलाएर संसदहरूलाई अस्थायी मुकाममा आउन र फेरि जिल्ला जान गाह्रो हुन्छ,’ शर्माले नयाँ पत्रिकासँग भने, ‘तसर्थ राष्ट्रिय सभा निर्वाचन र प्रदेश संसद्को पहिलो अधिवेशनमा सबै सांसद अस्थायी मुकाम आएका वेला दलको बैठक बस्ने र नेता चुन्ने कार्य गरिन्छ ।’

    प्रदेश सदस्य राष्ट्रिय सभा निर्वाचनमा मतदाता हुन्छन् । राष्ट्रिय सभाको निर्वाचन २४ माघमा तय भएको छ । प्रदेश २ मा २१ माघ, ३ मा १८ गते, ४ र ५ मा २२ गते, ६ र ७ मा २१ गते प्रदेश संसद्को पहिलो अधिवेशन आह्वान भएको छ । प्रदेश १ मा अधिवेशनको मिति टुंगो लाग्न बाँकी छ ।

    प्रदेशमा दलको नेता बन्न सांसदहरू लबिङमा
    प्रदेश १
    ९३ सांसद रहेको प्रदेश १ मा कांग्रेसबाट प्रत्यक्षमा आठ र समानुपातिकमा १३ गरी २१ सांसद छन् । यहाँ एमाले एक्लैको बहुमत रहेकाले कांग्रेसले सरकार बनाउन प्रयास गर्ने सम्भावनै छैन । कांग्रेसबाट दलको नेता बन्न चारजना लबिङमा लागेका छन् । सुनसरी २ (ख) बाट निर्वाचित राजीव कोइराला, मोरङ ६ (ख) बाट निर्वाचित केदार कार्की, मोरङ २ (क) बाट निर्वाचित शिवनारायण गन्गाई र समानुपातिकतर्फका लोकप्रसाद संग्रौलाले दलको नेता बन्ने लबिङ सुरु गरेका हुन् । सुनसरी कांग्रेसका सभापतिसमेत रहेका उनी पौडेल पक्षका हुन् । कार्की कोइराला परिवार तथा संग्रौला नेता कृष्णप्रसाद सिटौलानिकट हुन् । गन्गाई भने कुनै पक्षमा खुलेर लागेका छैनन् ।

    प्रदेश २
    १०७ सांसद रहेको प्रदेश २ मा कांग्रेसबाट प्रत्यक्षमा आठ र समानुपातिकमा ११ गरी १९ सांसद छन् । यहाँ कुनै पनि दलको बहुमत नभएकाले कांग्रेसले अन्य दलसँग सहकार्य गर्ने सम्भावना छ । तर, मधेसकेन्द्रित दलहरू राजपा र संघीय समाजवादी फोरमले तालमेल गरेर निर्वाचन लडेको र दुई दल मिल्दा बहुमत पुग्ने भएकाले कांग्रेस सरकारमा सहभागी हुन्छ–हुँदैन, प्रस्ट भइसकेको छैन ।

    यो प्रदेशमा दलको नेता बन्न तीनजना नेता लबिङमा लागेका छन् । धनुषा ३ ९क० बाट निर्वाचित रामसरोज यादव तथा समानुपातिकतर्फका ओमप्रकाश शर्मा र नरेशकुमार यादवले लबिङ थालेका छन् । कांग्रेस धनुषाका सभापतिसमेत रहेका रामसरोज नेता विमलेन्द्र निधि हुन् । शर्मा सभापति र यादव पौडेलनिकट हुन् ।

    प्रदेश ३
    प्रदेश ३ मा ११० सांसद छन् । यो प्रदेशमा कांग्रेसबाट प्रत्यक्षमा सात र समानुपातिकतर्फ १४ गरी २२ सांसद छन् । प्रदेश ३ मा एमालेको एक्लै बहुमत पुग्छ । यो प्रदेशमा दलको नेतामा चारजनाको नाम चर्चामा छ । मकवानपुर २ (ख) बाट निर्वाचित इन्द्र बानियाँ र समानुपातिकतर्फका मिलनबाबु श्रेष्ठ, डा। राजाराम कार्की र बलराम पौडेलले लबिङ सुरु गरेका छन् । पौडेल नेता रामचन्द्र पौडेलका सहोदर भाइ हुन् । बानियाँ नेता खुमबहादुर खड्का, कार्की सभापति देउवानिकट हुन् ।

    प्रदेश ४
    ५७ सांसद रहेको प्रदेश ४ मा कांग्रेसबाट प्रत्यक्ष ६ र समानुपातिकतर्फ नौ गरी १५ सांसद छन् । यो प्रदेशमा कुनै दलको पनि बहुमत छैन । तर, एमाले–माओवादीले प्रदेश सरकार बनाउन सहमति गरिसकेका छन् । प्रदेश ४ मा दलको नेता बन्न तीनजनाले लबिङ थालेका छन् । नवलपुर १ ९क० बाट निर्वाचित कृष्णचन्द्र नेपाली, नवलपुर २ ९क० बाट निर्वाचित विष्णुप्रसाद लामिछाने र समानुपातिकतर्फका मणिभद्र शर्मा कँडेलले इच्छा देखाएका हुन् ।

    नेपाली पूर्वकेन्द्रीय सदस्य, लामिछाने नवलपरासी पार्टी सभापति र कँडेल बाग्लुङका पूर्वपार्टी सभापति हुन । नेपाली पौडेल, लामिछाने महामन्त्री डा शशांक कोइराला र कँडेल सभापति देउवानिकट मानिन्छन् ।

    प्रदेश ५
    ९० सांसद प्रदेश ५ मा कांग्रेसबाट प्रत्यक्ष सात र समानुपातिकतर्फ १२ गरी १९ सांसद छन् । यो प्रदेशमा कसैको बहुमत नभए पनि वाम गठबन्धनले सरकार बनाउने तयारी गरेका छन् । त्यसैले कांग्रेस प्रतिपक्षमा रहने भएको छ ।

    प्रदेश ५ मा दलको नेतामा चारजनाको नाम चर्चामा छ । रुपन्देही ४ (क) का सदस्य अष्टभुजा पाठक, दाङ ३ (क) का डिल्ली चौधरी तथा समानुपातिकतर्फका वीरबहादुर राना र अर्जुन श्रेष्ठले लबिङ थालिसकेका छन् । चौधरी बहालवाला श्रमराज्यमन्त्री हुन् । राणा कांग्रेस पाल्पाका पूर्वसभापति हुन् । पाठक पौडेल, श्रेष्ठ खुमबहादुर खड्का तथा राना र चौधरी सभापतिनिकट मानिन्छन् ।

    प्रदेश ६
    प्रदेश ६ मा ४० सांसद छन् । कांग्रेसले प्रत्यक्षतर्फ एक सिट मात्र जितेको छ । समानुपातिकतर्फ पाँच गरी यो प्रदेशमा कांग्रेसका ६ सांसद छन् । प्रतिपक्षमा रहने निश्चित भए पनि दलको नेता बन्न दुई नेताले दाबेदारी प्रस्तुत गरेका छन् । हुम्ला (ख) बाट निर्वाचित जीवनबहादुर शाही र समानुपातिकतर्फका दीनबन्धु श्रेष्ठले दलको नेतामा दाबेदारी गरेका हुन् । शाही केन्द्रीय सदस्य र श्रेष्ठ पूर्वकेन्द्रीय सदस्य हुन् । शाही सभापति र श्रेष्ठ पौडेलनिकट मानिन्छन् ।

    प्रदेश ७
    ५३ सांसद रहेको प्रदेश ७ मा कांग्रेसबाट प्रत्यक्षमा चार र समानुपातिकतर्फ आठ गरी १२ सांसद छन् । यो प्रदेशमा दलको नेतामा तीनजनाको नाम चर्चामा छ । डोटी १ (क) बाट निर्वाचित भरतबहादुर खड्का, कैलाली १ (ख) का डा रणबहादुर रावल र डडेल्धुरा (ख)का कर्णबहादुर मल्लले दाबेदारी प्रस्तुत गर्दै लबिङ सुरु गरेका छन् । मल्ल डडेल्धुरा सभापति हुन् भने खड्का पूर्वमन्त्री हुन् । (नयाँ पत्रिका दैनिक)

सम्वन्धित समाचार

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…