• विराटनगर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी केन्द्रमा माथिबाटै घटुवाको प्रारम्भ गरेको बताएका छन् । १ नम्वर प्रदेशको पार्टी प्रशिक्षणमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी संगठन भद्रगोल हुँदा क्षति पुगेकाले चुस्त संगठन निर्माणतर्फ आफू केन्द्रित भएको बताए ।

    ‘हामीले विचार, राजनीति र नेतृत्वमा त जित्यौं । तर, संगठन र चुनावी परिणाममा जित्न सकेनौं’, प्रचण्डले भने, ‘त्यसको मुख्य कारण भद्रगोल संगठन हो । अब हामीले माथिबाटै घटुवाको प्रारम्भ गरेका छौं । हिजो मात्रै केन्द्रीय कार्यालयलाई भङ्ग गरेर सचिवालयलाई कार्यकारी बनाएका छौं, अब चुस्त संगठन बनाएर अघि बढ्छौं ।’

    प्रचण्डले पार्टीबाट अलग भएका मोहन वैद्य किरण, बाबुराम भट्टराई, विप्लवलगायत समूहलाई जनताले अस्वीकृत गरेको भन्दै पार्टीमा नफर्किए भविष्य समाप्त हुने ठोकुवा गरे । ‘माओवादी केन्द्रबाट अलग हुने शक्तिहरुलाई जनताले रुचाएनन् । वैद्यजी, विप्लवजी, बाबुरामजी पनि चुनावमा जानुभयो, जनताले माओवादी केन्द्रमै जाउ भन्ने जनमत दिए’, प्रचण्डले भने, ‘हामीलाई पनि तिमीहरुले अहङ्कार नगर, सबैलाई मिलाऊ भन्ने जनमत दिए । धेरै साथीहरु आई पनि सक्नुभएको छ, अब नेताहरु पनि आउनुपर्छ, नत्र उहाँहरुको पनि भविष्य छैन ।’

    माओवादीका कारण देशको एकता र समृद्धि सम्भव भएको भन्दै प्रचण्डले अगाडि थपे – एकभरि मान्छेहरु माओवादीले बिगार्न र भत्काउन मात्र सिपालु छ भन्ने ठान्थे । तर, हामीले १० महिनामा त्यो भ्रमलाई पुरै गलत साबित गर्यौं । हामीले देशलाई एकतावद्ध गर्यौं, हिमाल, पहाड र मधेशलाई मिलायौं । छिमेकीसँग सन्तुलित सम्बन्ध बनायौं, संविधान कार्यान्वयन गर्यौं, स्थानीय तह बनायौं, चुनाव गर्यौं । आर्थिक समृद्धि गुणात्मक स्थानमा पुग्यो, मूल्यवृद्धि रोकियो, लोडसेडिङ हट्यो, विकास आयोजनाहरुले गति लिए, यो सामान्य कुरा हुँदै होइन ।’

    प्रचण्डले मधेसमा माओवादीको लहर आएको समेत दावी गरे । ‘११ वर्षपछि मधेशमा जागरण आएको छ । गौर हत्याकाण्ड घटाएर मधेशमा माओवादीलाई संघीयता विरोधी भ्रामक प्रचार गरे । अहिले परिस्थिति बदलिएको छ, मधेशको मित्र, देशलाई एकतावद्ध गर्ने पार्टी माओवादी नै हो भन्ने स्थापित हुँदैछ, यो हाम्रा लागि खुसीको कुरा हो । जति सुकै षडयन्त्र गरे पनि एकदिन सत्य स्थापित हुने रहेछ, त्यो प्रमाणित हुँदैछ’, प्रचण्डले भने ।

    नारायणकाजीको प्रण – क्रान्तिका उपलब्धि उल्टाउन दिँदैनौं


    प्रशिक्षणमा नेता नारायणकाजी श्रेष्ठले क्रान्तिका उपलब्धि कुनै हालतमा उल्टाउन नदिने बताए । ‘संविधान जारी भए पनि प्रतिगमनले टाउको उठाउने खतरा थियो, हाम्रो अध्यक्षको नेतृत्वमा बनेको सरकारले संविधान कार्यान्वयनलाई गुणात्मक गति दियो, स्थानीय तह बनेर स्थानीय चुनाव भयो । अब सजिलै परिवर्तन उल्टाउन सक्ने अवस्था छैन, हामी कुनै पनि हालतमा

    क्रान्तिका उपलब्धि उल्टाउन दिँदैनौं’ नेता श्रेष्ठले भने ।

    अर्का नेता रामबहादुर थापा बादलले आफूहरुले साम्यवादी ध्येय नभुलेको बताए । उनले प्रगतिशील संविधान बनेको भन्दै गणतन्त्र, संघीयताजस्ता उपलब्धिहरुलाई संस्थागत गरेर विकास र समृद्धिलाई सुदृढ पार्न लाग्नुपर्ने बताए । माओवादी नेता एवं प्रदेश नं. १ का इन्चार्ज गोपाल किराँतीले बिना अक्सिजन सगरमाथा चढ्ने आँट गर्न कार्यकर्तालाई अपील गरे । किराँतीले भने, ‘हामीले स्थानीय तहमा सोचे अनुसार जित्न सकेनौं । स्थानीय तहमा अपेक्षित स्थानमा जितेको भए प्रदेश र संघीय निर्वाचनमा अघि बढ्न सजिलो हुन्थ्यो, सकिएन । तर, हामीले हिम्मत नहारौं, जमेर लाग्यौं भने प्रदेश र केन्द्रको निर्वाचनमा राम्रो नतिजा आउँछ ।’

सम्वन्धित समाचार

मोरङ । निर्माणाधिन एसियाली हाइवे मोरङको पथरीशनिश्चरे स्थित पथरी बजारमा साँगुरिने शंका भएपछि स्थानीय चना…

मोरङ । पहिचान पक्षधरहरुको एकीकृत शक्ति र भविश्यमा पार्टी निर्माण गर्ने उदेश्यले छलफल सुरु हुनुको साथै संयो…

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरी शनिश्चरे १ को वडा कार्यालयले नजिकिँदै गरेका दशैं सहितका विभ…

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरीमा बुधबार जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पथरीको संयुक्…