• समाचार विश्लेषण


    कम्युनिष्ट पार्टीहरुको एकीकरण आवश्यक हो कि मोर्चाबन्दी वा कार्यगत एकता ? यतिखेरको बहसको केन्द्रबन्दु बन्नु पर्छ । साझा न्युनतम कार्यक्रमको आधारमा मोर्चाबन्दी, गठबन्धन वा कार्यगत एकता गर्नु सामान्य विषय हुन । तर संगसंगै पार्टीहरुबीचकै एकीकरणको सवाल आउँछ त्यसपछि भने मगज मन्थन गर्नु जरुरी हुन्छ । कुनै ठूलो क्रान्ति वा आमूल परिवर्तनका निम्ति सिद्धान्तनिष्ठ कम्युनिष्ट घटकहरु एक ठाउँमा आउन जरुरी हुन्छ । यस्तोमा एकीकरण फाइदाजनक हुन्छ । तर खुल्ला परिवेसमा एकीकरण भन्दा मोर्चाबन्दी अभ्यासमा खरो उत्रिएको छ ।


    नेपालमै पनि त्यस एकीकरणको अभ्यास हुँदै आएको छ । को–अर्डीनेशन कमिटि (झापा विद्रोह) देखि नेकपा माले पार्टी बन्दासम्मको एकीकरणको सवाल वा माओवादी विद्रोह ताकाको एकीकरणको सवाल बुझिने भाष्यमा छ । अहिले बहुचर्चित नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रको एकताको भाष्य सोझो भाषामा आमसमुदायमा नपुगुन्जेल यसमा प्रश्नहरु बग्रेल्ती उठ्ने छन् । एकताको सवाल हाजिरी जवाफको तहमा जबाफतलब हुनुपर्नेछ तब मात्र यसले राजनीतिमा सार्थक बहस निर्माण हुन्छ ।
    दूनियाँको कुरा नेपालको सन्दर्भमा नमिल्न पनि सक्छ । तर भारत चिन वा कतैपनि एकीकरण भन्दा पनि मोर्चा बन्दीलाइ किन महत्व दिए ? भारतमा माओइस्ट कम्युनिष्ट सेन्टर र पिपुल्स वार ग्रुपको एकता बाहेक अरु घटकले मोर्चावन्दी मै विश्राम लिएका छन् । हतियारबन्द विद्रोह गरिरहेकाबीच एकीकरण हुनु प्राविधिक कारणले पनि आवश्यक होला । तर यस किसिमको आन्दोलन भन्दा बाहिर वा शान्तिपूर्ण कार्यक्रमको तहमा रहेको भारत चीन वा दूनियाका कम्युनिष्ट पार्टीहरुको एकीकरणको सवाल नउठी रहेको बेला नेपालमा एकीकरणको मुद्धा व्यापक रुपमा संगठनात्मक तहमा उठेको छ । एकीकरणको सवालको सकारात्मक परिणामको आंकलन पहिले नै गर्नु जरुरी हुन्छ ।

    नेकपा माले र नेकपा माक्र्सवादीको एकीकरण पछि बनेको नेकपा एमाले ०५४ सालमा विभाजित भयो । यो विभाजनले नेपालको प्रजातन्त्रमाथि नै दाग लगायो । एक दशक नवित्तै एमालेमा आएको विभाजनको रुपरेखा यतिखेर चर्चामै छैन् । तर, यो विभाजनबाट पनि शिक्षा लिनु त जरुरी होला एकता अघि । विसं ०१९ सालदेखि नै एकीकरणको क्रमभंग भएको कम्युनिष्ट पार्टीको अप्रत्यासित एकीकरणको माहोल अहिले कसरी बन्न पुग्यो ? यसको गुढ रहस्य उत्तरापेक्षी छ । ०४६ सालमा बाम मोर्चा र संयुक्त राष्ट्रिय जनान्दोलन संयोजन समिति जस्ता मोर्चा बाहेक यसअघि जनमत संग्रहमा पनि कुनै मोर्चा कम्युनिष्टको बन्न सकेको थिएन् ।

    दश बर्षसम्म सशस्त्र जनयुद्ध गरेर विश्व हल्लाएको माओवादी पार्टी खुल्ला परिवेशमा विभाजित बन्यो । पछिल्ला वर्षमा प्रचण्डको नेतृत्वमा केहि पार्टी एकीकृत भएपनि मोहन वैद्य, नेत्रबिक्रम चन्द विप्लव र बाबुराम भट्टराईले अलग अलग पार्टीको नेतृत्व गरिरहेका छन् । प्रचण्ड, वैद्य,बाबुराम र विप्लव जो जनयुद्धको मुख्य नेता थिए । तर, आज उनीहरु पार्टीगत रुपमा मात्र होइन, विचार, सिद्धान्त र दृष्टिकोणका हिसावले पनि फरक फरक कित्तामा छन् । विचार, सिद्धान्त र कार्यशैलीमा एकरुपता नभइ हुने पार्टी एकताले पुनः विभाजन निम्त्याउन सक्तछ । यस्तो जोखिम मोलेर नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउनु भन्दा मोर्चा बनाएर अघि बढ्नु उचित हुन्छ । बाम मोर्चा वा मोर्चा बन्दी अभ्यासको पाठ्यक्रम पुरा नहुँदै एकीकरणको अभ्यास कति सार्थक होला ? सोचनीय बनेको छ ।


    कतिपय दक्षीणपन्थी पार्टीहरु पनि एकीकृत हुन्नन भरसक । दूनियामा यस्तो भैरहेको छ । लोकतन्त्रमा बैकल्पिक शक्तिको खाँचो परेजस्तो साम्यवादी आन्दोलनमा पनि विपक्षविहीन बनाउनु कति जायज हुन्छ ? यसैत साम्यवादी आन्दोलनका विभिन्न धार हुन्छन् । मध्य, वाम वा दक्षीण । यस कुरालाइ मान्ने हो भने एउटा देशमा एउटामात्रै कम्युनिष्ट पार्टी रहन्छ भन्ने मुढ तर्कलाइ नै मलजल हुन्छ । आखिर बोल्सेविक र मेन्सेविक धारलाइ पनि कम्युनिष्ट आन्दोलनले १९ औं शताब्दीमा नै मानेको थियो । २१ औं शताब्दिमा आएर एउटै कम्युनिष्ट केन्द्र बनाउने क्रमले भविष्यमा के परिणाम दिन्छ ? यसको पनि त हेक्का हुनु पर्ला ?

    भारत लगायत विश्वका अनेकौं देशहरुमा पुँजीवादी पार्टी हुन या समाजवादी तिनले गठबन्धनलाइ प्राथमिकता दिएका छन् । यो विषय हेक्का राख्नु पर्ने सूत्र पनि हुन सक्छ । नेपालमा दूइ ठूला नेकपा एमाले र माओवादी केन्द्र पार्टीबीच हुन लागेको एकीकरणको सवाल पनि पेचिलो छ, हुन्छ । दूइ पार्टीको गठबन्धन पछि निर्वाचनमा आएको परिणामको अर्थ पार्टी एकीकरणसम्मको हो भन्ने सोह्रै आना हिसाव लगाउनु हुन्न । कांग्रेसको कुशासन र विचलन अनि विकल्पमा मत दिने अवस्था नहुँदा आएको यो मतादेश सम्ममात्र हुनसक्छ । अर्को विगतको पार्टी एकीकरणसंगसंगै पहिलो संविधानसभापछि माओवादी पार्टीको विभाजन, ०५४ सालमा भएको एमालेको विभाजनसहित ०१९ सालदेखि कम्युनिष्ट पार्टीको विभाजनको बजार नहेरी एकता मात्रको सुगा रटाइको अर्थ अप्ठेरोमा पर्नसक्छ ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…