काठमाण्डौ। नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुश्मा स्वराजले आज माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
बिहीबार नेपाल आए लगत्तै एमाले अध्यक्ष केपी ओलीलगायत एमाले नेताहरु र मधेशवादी दलका नेताहरुसँग भेटवार्ता गरेकी स्वराजले शुक्रबार पहिलो भेट दाहालसँग गर्न लागेकी हुन्।
दाहालसँगको भेटपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम रहेको छ। भण्डारीलाई भेट्न स्वराज शितल निवास जानेछिन्।
भण्डारीसँगको भेटवार्ता सकेर उनी प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट्ने कार्यक्रम रहेको छ।
देउवासँगको भेटवार्तामा कांग्रेसका केही नेताहरु पनि सहभागि हुने बताइएको छ। देउवाले केही सीमित नेताहरुलाई स्वराजसँगको भेटमा सहभागि गराउन लागेका हुन्।
प्रधानमन्त्री निवास वालुवाटार पुगेर देउवालाई भेटेपछि स्वराज त्यहाँबाट सिधै विमानस्थल पुगेर भारत प्रस्थान गर्ने कार्यक्रम रहेकाे छ।