१५ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद योगेन्द्र तामाङ घिसिङले पदबाट आज राजीनामा दिएका छन् । उनी ललितपुर जिल्लाबाट समानुपातिक सांसद् बनेका थिए ।
उनले आज आफू कुनै पार्टीमा आबद्ध नरहेको उल्लेख गर्दै सभामुख अाेनसरी घर्तीसमक्ष राजीना पत्र दिएका हुन् । उनले साे पत्र माओवादी केन्द्र संसदीय दलको कार्यालयमा पनि दिएका छन् ।
घिसिङले स्थानीय तह निर्वाचनमा पार्टीलाई अन्तरघात गरेकाे भन्दै ललितपुर जिल्ला पार्टिले निश्कासन गरेकाे थियाे । घिसिङ माओवादीको ललितपुर जिल्ला समिति सदस्यसमेत हुन् ।
घिसिङले संसदमा पनि पटक पटक ह्विप उलङ्घन गरेका थिए । सत्तारुढ माओवादी केन्द्रका कृष्ण धिताल, रवीन्द्रप्रताप शाहसँगै योगेन्द्र घिसिङले पनि संविधान संशोधनका लागि भएको मतदानमा भाग लिएका थिएनन् ।
घिसिङलाई सांसद पदबाट पनि हटाउने तयारी भइरहेका बेला राजीनामा आएकाे माओवादी केन्द्रकी प्रमुख सचेतक रेखा शर्माले बताइन् ।