•  

    साउन १५, काठमाडौं | अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भइरहेको वृद्धि तथा सोही कारण नेपाली बजारमा मागसमेत खस्किएकाले बैंकहरूले आयात गरेको ३ सय २१ केजी सुन बिक्री हुन सकेको छैन । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार गत ९ साउनसम्म उक्त परिमाणको सुन बैंकमा स्टक रहेको छ । अहिलेको बजार मूल्यअनुसार बैंकहरूमा २ अर्ब ७१ करोड रुपैयाँबराबरको सुन स्टक रहेको हो ।

    ‘बुधबार ४ बजेको अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार प्रतिदश ग्राम सुनको मूल्य ८४ हजार ६ सय ४७ रुपैयाँ हुन्छ,’ एक बैंकका वित्त विभाग प्रमुखले भने, ‘यस आधारमा बैंकहरूसँग अहिले भएको सुनको मूल्य करिब २ अर्ब ७१ करोडबराबर हो ।’ २१ वाणिज्य बैंकले गत आर्थिक वर्ष ०७६/७७ का लागि कुल २ हजार ४ सय सुन ल्याउने अनुमति पाएका थिए । राष्ट्र बैंकको तथ्यांकअनुसार गत फागुनसम्ममा भने कुल १३ अर्ब ६३ करोड रुपैयाँको सुन आयात भएको थियो । यो गत वर्षको तुलनामा करिब ५७ प्रतिशतले कमी हो ।

    न घाटा, न नाफा
    बैंकहरूमा सुन नबिकेर थुप्रिए पनि यसले खासै घाटा वा नाफा हुने अवस्था भने छैन । बैंकहरूले स्ट्यान्ड बाई ग्यारेन्टीअन्तर्गत सुन आयात गरेका हुन्छन् । अर्थात्, बैंकहरूले सुन खरिद गरेरभन्दा पनि स्टकका रूपमा ल्याएका हुन्छन् । यस्तो स्टक जुन मितिमा बिक्री हुन्छ, त्यही समयको मूल्यका आधारमा सुन उत्पादकलाई बैंकहरूले भुक्तानी गर्नुपर्छ । यस्तो ग्यारेन्टीका रूपमा नेपाली बैंकको पक्षबाट अन्तर्राष्ट्रिय बैंकले जमानी बसिदिएको हुन्छ । सामान्यतया यसरी स्टक ल्याएको सुनको करार अवधि १ वर्ष हुन्छ । तर, यदि बिक्री भएन भने बैंकहरूले करार नवीकरण गर्नुपर्छ । करार नवीकरण गर्दा प्रतिकेजी सुनको मूल्यको १ प्रतिशत रकम वार्षिक शुल्कका रूपमा तिर्नुपर्ने हुन्छ ।

    ‘मूल्य घटबढको जोखिम भनेकै सुन उत्पादकको हुन्छ,’ ती बैंकरले भने, ‘हामीले एक हदमा भन्दा उधारोमा ल्याएर बेच्ने हो ।’ एक वर्षसम्म बिक्री नभएमा पनि बैंकहरूले थप शुल्क भने तिनुपर्ने हुन्छ । बैंकले त्यसमा आयात ढुवानी (प्रतिऔँस लागत २ देखि ३ डलर), ग्यारेन्टी र बिमा लागतसमेत जोड्न पाउँछन् । त्यसबाहेक बैंकहरूले भने त्यसमा ०.५ प्रतिशत मार्जिन राख्छन् । बैंकबाट सुन खरिद गरेर बिक्री गर्ने व्यापारीले पनि ०.५ प्रतिशत थप शुल्क जोड्दै आएका छन् ।
    बैंकहरूले चार महिनायता सुन आयात नै गरेका छैनन् । चैतअघिसम्म दैनिक २० केजी सुन आयात गर्न पाइने व्यवस्थालाई नियन्त्रण गर्दै राष्ट्र बैंकले १९ चैतबाट यो कोटा घटाएर १० केजीमा सीमित पारेको थियो । कोटा घटेयता नै सुनको आयात रोकिएको छ । तर, बैंकहरू भने कोटा घटेको कारण नभई कोभिडका कारण भएको बन्दाबन्दी, बजारमा माग शून्य अवस्था र ल्याएको सुन नै बिक्री नभएका कारण आयात रोकिएको बताउँछन् । गत आर्थिक वर्षभरि जस्तै सुनको मूल्य उकालो लाग्यो ।

    सुनको मूल्यमा दिनैपिच्छे रेकर्ड
    सुनको मूल्यमा हरेक दिनजसो रेकर्ड बनिरहेको छ । बुधबार घरेलु बजारमा सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । गत आर्थिक वर्षको सुरुमा प्रतितोला ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको सुन चालू आवको दोस्रो साता आइपुग्दा ५२ प्रतिशत (३४ हजार रुपैयाँ)ले बढेको हो ।

    हुन त अन्तर्राष्ट्रिय बजारमा भएको सन्ध्याकालीन कारोबारमा बुधबार सुनको मूल्यमा सामान्य सुधार भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस १ हजार ९ सय ५६ डलरमा कारोबार भइरहेको छ । पछिल्लो ३० दिनको औसत कारोबार मूल्यका आधारमा मूल्यमा ७ प्रतिशतको वृद्धि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । प्रतिऔँस सुनको मूल्य २ हजार डलरसम्म पुग्ने अनुमान गरिएको छ ।

    कोभिडको विश्वव्याधि, अमेरिका र चीनबीचको तनाव, अमेरिकाले खर्च वृद्धिका लागि थप मुद्रा छाप्ने कदम चलिरहँदा यसले डलरको मूल्यमा भएको अवमूल्यनलगायतले सुनको मूल्य वृद्धि भइरहेको हो । हालै नेपालमा सुन आयातमा लाग्दै आएको भन्सारसमेत बढाइएकाले केही महँगिएको छ । चालू आवबाट प्रतिदश ग्राम सुनमा भन्सार शुल्क २ हजार रुपैयाँ बढाएर ८ हजार ५ सय पुर्‍याइएको छ । यो समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ |

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …