काठमाडौँ, माघ २५ गते । एकसय चार वर्षे राणा शासनबाट नेपाली जनताले मुक्ति पाएको दिन फागुन ७ लाई राष्ट्रिय प्रजातन्त्र दिवसका रूपमा यो वर्ष भब्यताका साथ मनाउने सरकारले निर्णय गरेको छ । यो वर्ष ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस हो ।
प्रधानमन्त्री निवास बालुवाटरमा बुधबार बसेको राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन ६, ७ र ८ गते तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउने जानकारी दिनुभयो । प्रधानमन्त्री देउवाले हाल गृह मन्त्रालयको समेत कार्यभार सम्हालिरहनु भएको छ ।
सशस्त्र क्रान्तिकै फलस्वरुप विसं. २००७ साल फागुन ७ गते १०४ वर्षे लामो जहानियाँ शासनको अन्त्य गर्दै प्रजातन्त्रिक शासन सुरु भएकोे घोषणा गरिएको थियो । सोही दिनको स्मृतिमा हरेक वर्ष फागुन ७ गते विशेष समारोहको आयोजना गरेर प्रजातन्त्र दिवस मनाउने गरिदैँ आएको छ ।
मूल समारोह समितिको अध्यक्ष समेत रहनुभएका .प्रधानमन्त्री देउवाले प्रजातन्त्र दिवसलाई तीन दिनसम्म देशभर विभिन्न कार्यक्रम आयोजना गरेर भब्यताका साथ मनाउन विभिन्न उपसमिति गठन गरिएको जानकारी पनि दिनुभयो । उहाँले प्रजातन्त्र दिवसमा सम्पूर्ण नेपाली जनताले उत्साहका साथ सहभागिता जनाउने विश्वास ब्यक्त गर्नुभयो ।
प्रधानमन्त्रीले नयाँ संविधान अनुसार सबै तहको निर्वाचन सम्पन्न भएर देश नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,‘ देशमा राजनीतिक स्थिरता कायम भएको छ अब आर्थिक विकास र समृद्धितर्फ उन्मुख हुनेछ ।’
मूल समारोह समितिका अनुसार तीन दिनसम्म देशभर र विदेशस्थित नेपाली दूतावास, नियोग र वाणिज्य दूतावासहरुमा दीपावली गरिने, ६ गते उपत्यकाका महानगरपालिका, उपमहानगरपालिका र सबै नगरपालिकामा सरसफाई गरेर राष्ट्रिय झण्डा र ब्यानर राखेर सजावट गर्ने , सञ्चारमाध्ययमा प्रजातन्त्रका बारेमा परिसंवाद कार्यक्रम आयोजना गर्नेलगायतका कार्यक्रम तय गरिएको छ ।
त्यस्तै फागुन ७ गते सूर्यदयसँगै नेपाली सेनाले विगुल बजाउने, शहीदहरुको सम्मना गुठी संस्थानले पूजापाठ र प्रार्थनाको कार्यक्रम गर्ने, सैनिक मञ्चमा राष्ट्रपति उपराष्ट्रपति लगायतकोे उपस्थितिमा विशेष समारोह आयोजना गरिनेलगायतका कार्यक्रम तय भएको प्रधानमन्त्री देउवाले जानकारी दिनुभयो ।
काठमाडौंँ उपत्यका बाहिरका प्रदेशका केन्द्र जिल्लाहरु र स्थानीय तहमा पनि सरसफाइ, प्रभातफेरी खेलकुद, प्रवचन गोष्ठी, सांस्कृतिक कार्यक्रमलगायतका कार्यक्रम आयोजना गरिने निर्णय समितिले गरेको छ ।
राससका अनुसार त्यसअघि प्रधानमन्त्री अध्यक्ष तथा प्रधानन्यायाधीश, सभामुख, उपप्रधानमन्त्रीहरू, पूर्वप्रधानमन्त्रीहरू, पूर्वप्रधानन्यायाधीश, उपसभामुख, मन्त्रीहरू, पूर्वसभामुख, राज्यमन्त्री, व्यवस्थापिका–संसद्का सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत सदस्य रहेको तथा गृहसचिव सदस्यसचिव रहेको प्रजातन्त्र दिवश मूल आयोजक समिति गठन गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, काठमाडौँ महानगरपालिकाका प्रमुखको संयोजकत्वमा मञ्च सजावट तथा मञ्च व्यवस्था उपसमिति, काठमाडौँका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मैदान, कवाज, ब्यायाम व्यवस्थापन उपसमिति गठन गर्ने निर्णय गरेको छ ।
फागुन ६ गते काठमाडौँ उपत्यकाभित्रका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाले आफ्नो क्षेत्रका विभिन्न स्थानमा राष्ट्रिय झण्डा एवं ब्यानर सजाई नगरको सरसफाइ तथा सजावट गर्ने र प्रजातन्त्र दिवश भव्यरुपमा मनाउन सञ्चारमाध्यमबाट सार्वजनिक अपिल गर्ने तथा रेडियो नेपालबाट परिसंवाद चलाउने गृह मन्त्रालयको प्रस्तावलाई बैठकले अनुमोदन गरेको छ ।
फागुन ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा बिहान सैनिक मञ्च टुँडिखेलमा मूल समारोहको आयोजना हुनेछ । सोही दिन बिहान सेनाले बिगुल बजाउने, तोप र बन्दुकबाट बढाइँ गर्ने तथा शहीदको आत्माको चिरशान्तिको कामनाका साथ पूजापाठ र प्राथनाको कार्यक्रम गरिनेछ ।
टुँडिखेलमा आयोजना हुने ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवशमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, मूल समारोहमा समितिका अध्यक्ष एवं प्रधानमन्त्री देउवा, प्रधानन्यायाधीश, सभामुख, उपप्रधानमन्त्रीहरू, संवैधानिक आयोगका अध्यक्ष र सदस्य, मन्त्रीलगायतको उपस्थिति रहनेछ ।