• काठमाडौँ — लकडाउन खुलेसँगै मुलुकमा कोरोना भाइरसको संक्रमण बढेकाले यस्तै अवस्था रहे नयाँ निर्णय लिनुपर्ने अनुमान गरेर कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समितिले छलफल थालेको छ । समितिले बिहीबार परीक्षणलाई अझ बढाएर परिस्थिति मूल्यांकन गर्ने विषयमा छलफल गरेको हो ।साउन ६ गते लकडाउन सकिएको घोषणा गर्दा मुलुकमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० थियो । तर पछिल्ला ९ दिनमा १५ जनाको मृत्यु भइसकेको छ । यस्तै, साउन ६ गते संक्रमित संख्या १७ हजार ९ सय ९४ थियो भने साउन १५ गतेसम्ममा उक्त संख्या बढेर १९ हजार ५ सय ४७ भएको छ ।

    उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकमा सीसीएमसी सचिवालयले संक्रमणको स्थिति प्रस्तुत गरेको थियो । तथ्यांकको विश्लेषण गर्दै समितिका सदस्यहरूले एक–दुई दिन परीक्षणको दायरा बढाएर हेर्ने र त्यसपछि पनि संक्रमण बढेको पाइए नयाँ निर्णय लिनुपर्ने निचोड निकालेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए । उनका अनुसार सरकारले सीमा क्षेत्रमा अझै कडाइ गर्नुपर्ने देखिएको छ । ‘बाहिरबाट मान्छे नआऊन् भन्ने विषयमा पनि छलफल भएको थियो,’ उनले भने ।

    बैठकमा भदौ १ गतेपछि लामो दूरीका यातायात सेवा सञ्चालन र घरेलु र अन्तर्राष्ट्रिय विमान सञ्चालनका सम्बन्धमा सम्बन्धित मन्त्रालयले तयार पारेको मापदण्डमाथि पनि छलफल भएको उनले जानकारी दिए ।सरकारले साउन ७ गतेबाट यातायात सेवामा जोर–बिजोर नम्बर प्रणाली हटाएको छ भने दुई सिफ्ट सञ्चालन हुँदै आएका सरकारी कार्यालय एकै सिफ्टमा कायम गरिएको छ । यस्तै, बिहीबारबाट ट्रेकिङ, ट्राभल्स, पर्वतारोहण, पर्यटन व्यवसाय, होटल र रेस्टुरेन्ट (सामूहिक भोज, भेलाबाहेक) सञ्चालन गर्न पाउने निर्णय गरेको थियो ।

    सरकारले भदौ १ गतेबाट लामो दूरीका सवारीसाधन, विद्यार्थी भर्ना, परीक्षा सञ्चालन, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अन्तर्राष्ट्रिय खेलकुद प्रशिक्षण, प्रारम्भिक चरणका खेललाई पनि सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।सरकारले अझै विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र सञ्चालन तथा तोकिएबाहेकका अन्तर्राष्ट्रिय नाकाबाट प्रवेशमा रोक लगाएको छ । कान्तिपुर

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे सडक खण्डमा १५ दिन भित्र चारवटा सवारी दुघट्ना हुँदा ६ जनाको मृत्यु भएको छ ।&nb…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन “प्याब्सन” पथरी शनिश्चरे नगर कार्यसमितिको शनिबार …

मोरङ । मोरङको पथरी शनिश्चरे वडा नम्बर ६ को मुसहरघट्टालाई पथरी जेसीजले जेसीज गाउँ घोषणा गरेको छ । …

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समिति मोरङले दुई पत्रकार लग…