• काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट (पार्टी) नेकपाको विवादको समाधान केन्द्रीय समितिबाट खोज्नुपर्ने भन्दै १५२ नेताले हस्ताक्षरसहितको माग गरेपनि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाउन सम्भव नभएको बताएका छन् । ओलीको यस्तो घोषणासँगै बैठकको माग गर्ने नेकपाका नेताहरु आक्रोशित बनेका छन् । नेताहरुले ओलीको उक्त अभिव्यक्तिले पार्टी निर्माण नभई विघटनतर्फ लगेको पनि बताएका छन् ।

    ‘उहाँका यस्ता अभिव्यक्ति धेरै छन् । मंगलबार पनि कोरोनासँग जोडेर जे कुरा अध्यक्षले बोल्नुभयो त्यो एकदमै बेठिक छ । त्यसले पार्टी निर्माण गर्दैन’, केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले रातोपाटीसँग भने, ‘यस्ता अभिव्यक्तिहरुले आन्दोलनलाई क्षति पुर्याउँछ ।
    न्यौपानेले यदि बोल्नै थियो भने बैठकको माग गरेपनि संक्रमण बढेका बेला बस्न उचित छैन भनेर बोलिदिएको भए सकारात्मक सन्देश जाने बताए ।
    कोरोना भाइरसको नियन्त्रण तथा रोकथाका लागि विज्ञहरुसँग मंगलबार बालुवाटारमा छलफलका क्रममा अध्यक्ष ओलीले संकटको बेलामा केन्द्रीय कमिटी, स्थायी कमिटी र महाधिवेशन कुनैपनि सम्भव नहुने बताएका थिए ।

    यसअघि देखिनै बैठक राख्न अरुचि देखाउँदै आएका ओलीले पार्टी बैठक भन्दा अहिलेको ठुलो आवश्यकता कोरोना नियन्त्रण गर्नु रहेकाले यसबेला पार्टी बैठक असम्भव रहेको घोषणा गरेका हुन् । उनले आफ्नै पार्टीबाट रोग नियन्त्रणका लागि असहयोग भएको गुनासो समेत गरेका छन् ।
    केही मानिस, केही सञ्चारमाध्यम र केही संस्थाहरुमा अत्यन्तै गैरजिम्मेवारीपन देखिन्छ,’ ओलीले भने,‘यथार्थमा भन्दा अन्त बुझ्न गइरहन पर्दैन मेरै पार्टीमा देखिन्छ । सरकारले २५ जनाभन्दा बढी भेला नहुन भनेको छ । तर मेरै पार्टीमा ४५० को केन््रीय कमिटी तुरुन्त चाहियो भनेर कहाँ बस्ने ? के गर्ने हो ? त्यस्तो सोच केही पनि छैन ।’

    ओलीले आफ्नै पार्टीका नेताहरु मुलुकको संकटप्रति लापरवाही, जनताप्रति उदाशीन र स्वार्थका पछाडि कुदेको आरोपसमेत लगाए । सरकारले कोरोनाको नियन्त्रणका लागि २५ जनाभन्दा बढी नहुन भने पनि पार्टीभित्रैबाट केन्द्रीय समिति बैठकको माग गरिएकोप्रति ओलीको असन्तुष्टि थियो ।

    बैठकको माग गर्ने अर्का नेता तथा केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले अध्यक्ष ओलीको उक्त अभिव्यक्ति सुन्दा आफूलाई विषयको गाम्भीर्यतालाई बुझ्न नसकेको अनुभव भएको बताए ।
    ‘कमिटीप्रति जिम्मेवार प्रवृत्ति र स्वभाव नदेखाएको, केन्द्रीय कमिटीका सदस्यहरुलाई अवमूल्यन गरेको र पार्टी विधि पद्धतिको बर्खिलापमा यस्तो बोल्नु ठीक होइन’, केन्द्रीय सदस्य खतिवडाले रातोपाटीसँग भने, ‘त्यसकारण यो कुरा हामीलाई स्वीकार्य छैन । यदि उहाँले यस्तो बोल्नु भएको हो भने केन्द्रीय कमिटी माग गर्ने १५२ जनाको तर्फबाट उहाँको तर्कलाई खारेज गर्दछौँ र तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दछौँ ।’
    नेकपाभित्र देखिएको समस्या समाधान केन्द्रीय कमिटीबाट हुुनुपर्ने माग गर्दै साउन १४ गते १५२ जना केन्द्रीय सदस्यले बैठकको माग गरेका थिए।
    पार्टीको विधान अनुसार २५ प्रतिशत सदस्यले बैठक बोलाउन माग गर्दै हस्ताक्षर बुझाए एक महिनाभित्र बुझाउनु पर्ने व्यवस्था छ।

    तर, ओलीले बैठकको माग गर्ने नेताहरुप्रति लक्षित गर्दै यस्तो माग देश र जनताप्रतिको गम्भीर उदासिनता, लापरवाही, वेवास्ता गर्ने प्रवृति र आफ्ना स्वार्थका पछाडि कुद्ने प्रवृतिको संज्ञा दिए ।
    गत वैशाख ८ मा सरकारले दुई अध्यादेश ल्याएपछि बढेको विवादपछि नेताहरुले ओलीको राजीनामा माग्दै आएका छन् । त्यसअघि स्थायी समिति बैठक माग गरेर बसेको स्थायी समितिमा समेत विवाद मिल्ने संकेत नदेखेपछि सो बैठक नै स्थगित छ ।

    विवादकै कारण असार १८ पछि स्थायी समिति बैठक अवरुद्ध हुँदै आएको छ । सोही विवादले साउन १३ गतेको बैठक समेत ओलीले एकतर्फी स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षका केही सदस्यहरुको बैठक बसेर ओलीको बैठक स्थगित गर्ने निर्णय अनुचित भएको निष्कर्ष निकालेको थियो । तर ओलीको तर्क भने फरक रहँदै आएको छ । अर्थात् उनी पटक पटक कोरोनालाई कारण देखाएर बैठक टार्ने प्रयास गरिरहेका छन् ।
    ‘देश यस्तो संकटमा भएका बेला यसलाई एउटा सरकारको विरोध गर्ने माध्यमले जता पल्टाए पनि विरोध, उता पल्टाएपनि विरोध गर्ने, कहिले क्वारेन्टाइनमा राख्यो भन्ने किन राख्यो भन्ने,राखेन भने किन राखेन भन्ने ? लकडाउन गरेन भने किन गरेन भन्ने, लकडाउन ग¥यो भने किन ग¥यो भन्ने, अनि उचाल्ने मान्छे भड्काउन?’, आफ्नै पार्टी नेताप्रति ओलीको असन्तुष्टि छ ।

    पार्टीमा विवाद जारी रहेका बेला केही दिनयता लगातार ओली प्रचण्डसहित अर्का वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङबीच वार्ता भइरहेको छ । तर उक्त वार्तामा समेत सहमतिको बिन्दु पहिचान हुन सकेको छैन । वार्ताका क्रममा प्रचण्डले पार्टी बैठक बोलाउनुपर्ने अडान राख्ने र ओली सचिवालय बाहेक अन्य कमिटिका बैठक नै नबोलाउने पक्षमा उभिएका छन् ।

    यसैक्रममा गत साता उपाध्यक्ष बामदेव गौतमले राखेको ६ बुँदे प्रस्तावले पनि नेकपामा तरंग ल्याएको छ । गौतमको ६ बुँदेपछि ओली र प्रचण्ड दुवैले गौतमको साथ खोजेका छन् । त्यसका लागि ओली र प्रचण्ड गौतमको निवास भैंसेपाटी पुगेर गौतमलाई आफ्नो पक्षमा ल्याउन प्रयास जारी राखेका छन् । सोही प्रयासअनुरुप प्रचण्डले मंगलबार बिहान गौतम निवास पुगेर करिव ४० मिनेट उनीसँग भलाकुसारी गरेका थिए ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…