• २ ५, माघ, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका-२, गड्यौलीका सरोज चेपाङ हिजोआज मिनी एयर क्राफ्ट (सानो जहाज) बनाउनमा ब्यस्त छन् ।उनको दिन यही सानो जहाजको पार्टपूर्जा जोडजाममै बित्छ । दुई जना चढ्न मिल्ने एयर क्राफ्ट बनाउने उनको प्रयास छ । उनले बनाउँदै गरेको प्लेन हेर्न दिनमा २०० जना आउँछन् ।

    आल्मुनियम, स्टिल, स्कुटरको टायर, मोटरसाइकलको ब्रेक र क्लजलगायत सामान प्रयोग गरेर सरोजले जहाज बनाएका छन् । जहाज निर्माणको काम ८० प्रतिशत सकिदा उनको ५ लाख रुपैयाँ खर्च भइसकेको छ ।अब बाँकी २० प्रतिशत काम सिध्याउन पैसा खोज्दैछन् उनी । कतारमा गाडी चलाउने बाबु मनु चेपाङले पठाएको पैसाबाट उनले जहाज बनाउन आवश्यक सामान किन्ने गरेका छन् ।

    काम पहिल्यै सक्ने तयारी थियो, तर पैसाको तयारी पर्याप्त नहुँदा ढिला भयो । ६ महिनाअघि प्लेन निर्माणको काम सुरु गरे पनि आर्थिक अभावकै कारण उनको लक्ष्य पूरा हुन सकेको छैन ।जहाजमा ६.५ हर्सपावरको तीन वटा इञ्जिन राखिएको छ । तर त्यसले नधान्ने भएकाले ठूलो इञ्जिनको आवश्यकता छ सरोजका लागि । ‘निर्माण कार्य सकिदा करिब डेढ क्वीन्टलको प्लेन बन्छ’, सरोजले भने, ‘अहिले भएको इञ्जिनले धान्ने अवस्था छैन, ठूलो इञ्जिन किन्न अहिले पैसा छैन ।’

    ठूलो इञ्जिन किन्न सकिएमा अबको २० दिनभित्र प्लेन उडाएर देखाउने सरोजको दावी छ । ठूलो इञ्जिनका लागि करिब ७० हजार रुपैयाँ लाग्ने उनले बताए । सुरक्षित इञ्जिन भएमा प्लेन जहाँ पनि लैजान सकिने सरोजको भनाइ छ ।ठूलो इञ्जिन नभए प्लेनभन्दा पहिले प्याराग्लाइडिङ उडाउने उनको तयारी छ । सामान्य परिवारमा जन्मिएका सरोजले पढ्ने रहर भए पनि आर्थिक समस्याकै कारण माध्यमिक तहको शिक्षा पूरा गर्न सकेनन् ।

    उनलाई पनि पढ्न भनेपछि त्यति जाँगर चल्दैनथ्यो । बरु प्राविधिक काममा उनी रुची राख्थेँ । ‘आर्थिक अभावका कारण पढाइलाई निरन्तरता दिन सकिनँ’, सरोज पहिलेका कुरा सम्झदै भन्छन् ‘सानैदेखि केही न केही निर्माण गर्थे, त्यसकै प्रभावका कारण अहिले प्लेन बनाउँदैछु ।’घरको आर्थिक अवस्था पनि कमजोर भएकै कारण जीविकोपार्जनका लागि उनले ग्यारेजमा काम गर्न थाले । त्यहाँ गाडी बनाउने काम गरे । त्यहीबाट उनले केही सिके । सानो प्लेन र हेलिकोप्टर बनाएर व्याट्रीमार्फत उडाउन थाले ।

    अति सीमान्तकृत चेपाङ समुदायका युवा सरोजको आर्थिक रुपमा साथ दिने परिवार बाहेक अरु छैन । ‘उसको बुबाले कतारबाट पठाएको पैसाबाट घर बनाउने तयारीमा थियौं’ सरोजकी आमा लीलाले भनिन्, ‘छोराको आग्रहमा विदेशबाट पठाएको पैसा प्लेन निर्माणमा सहयोग गरेका छौं ।’

    पैसा खर्च भए पनि छोराको इच्छा पूरा गर्ने लीला बताउँछिन् । लीलाले भनिन्, ‘छोराले केही गर्छु भनेपछि उसको इच्छाविपरीत जान भएन, तर रकमले मात्रै उसको धोको पूरा होला जस्तो छैन ।’

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …