काठमाडौं। एमाले एक्लैले बहुमत प्राप्त गरेको तीन नम्बर प्रदेशमा संसदीय दलको नेता चयन गर्न शुक्रबार निर्वाचन हुँदैछ। काठमाडौंको च्यासलमा हुने निर्वाचनमा एमाले उपाध्यक्ष एवं प्रदेश नम्बर तीनकी सांसद अष्टलक्ष्मी शाक्य र डोरमणि पौडेलबीच प्रतिश्पर्धा हुने भएको छ।
यसअघि राजेन्द्र पाण्डेले पनि मुख्यमन्त्रीमा आफ्नो दाबी गरेका थिए। तर अन्तिम अवस्थामा उनी पछि हटेका छन्। शाक्य र पौडेलले आफ्नो उम्मेवारी दिएका छन् भने पाण्डेले उम्मेद्वारी दिएनन्।
संसदीय दलको नेता चयन हुने व्यक्ति नै तीन नम्बर प्रदेशको मुख्यमन्त्री हुनेछन्। उपाध्यक्ष शाक्यको प्रस्तावकमा पशुपति चौलागाईँ र समर्थकमा राजेन्द्रमान श्रेष्ठ छन्। उता पौडेलको प्रस्तावकमा केशव स्थापित र समर्थकमा कैलाश ढुंगेल छन्।
एमालेभित्रको पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल समुहबाट १र१ जना चुनाव लड्ने एक नेताले बताए। शाक्य नेपाल समुहका हुन् भने पौडेल ओली समुहका हुन्।