काठमाडौं। सात प्रदेशमध्ये चार वटा प्रदेशमा एमालेले मुख्यमन्त्री पाएको छ। दुई नम्बर प्रदेशमा फोरम–राजपाको सरकार बन्ने निश्चित छ भने प्रदेश नम्बर ६ र ७ मा माओवादीले मुख्यमन्त्री पाएको छ। एक नम्बर प्रदेश, तीन, चार र पाँच नम्बर प्रदेशमा भने एमाले नेतृत्वमा सरकार गठन हुने भएको छ। शुक्रबार प्रदेश नम्बर एक र तीनमा एमालेले मुख्यमन्त्री चयनकालागि संसदीय दलको निर्वाचन गरेको थियो।
यी दुवै प्रदेशको संसदीय दलको नेतामा अध्यक्ष केपी ओली निकट मानिने नेताहरु विजयी भएका छन्। यसअघि प्रदेश नम्बर पाँचमा ओली निटक शंकर पोखरेललाई सर्वसम्मत रुपमा दलको नेता चयन गरिसकिएको छ। चार नम्बर प्रदेशमा पनि मुख्यमन्त्रीका दुई जना आकांक्षी ओली निटक नै रहेका छन्। किरण गुरुङ र पृथ्वीसुब्बा गुरुङ जो संसदीय दलको नेता भएपनि ओेली पक्षीय नै हुनेछन्।
शुक्रबार एक र तीन नम्बर प्रदेशकालागि एमालेले संसदीय दलको नेताको निर्वाचन गरेको थियो। जसमा एकमा ओली पक्षीय नेता शेरधन राई एक नम्बर प्रदेशमा र डोरमणि पौडेल तीन नम्बर प्रदेशमा निर्वाचित भएका छन्।
प्रदेश नम्बर तीनमा मुख्यमन्त्रीकी दावेदार पार्टी उपाध्यक्ष एवं प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य डोरमणि पौडेलसँग दश मतले पराजित भइन्। शाक्यलाई चुनाव अघिदेखि नै मुख्यमन्त्रीका रुपमा प्रस्तुत गरिएको थियो। उनी चुनाव जित्नेमा ढुक्क थिइन्। तर, उनी दश मतले पराजित बन्न पुगिन्। शाक्यलाई वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालको साथ थियो।
यसैगरी प्रदेश नम्बर एकमा वरिष्ठ नेता खनाल र नेपालको साथ पाएका पार्टी सचिव भीम आचार्य ओली पक्षीय नेता राईसँग दुई मतले पराजित भए। योसँग एमालेका भागमा परेका चारवटै प्रदेशमा ओली पक्षीय नेता नै मुख्यमन्त्री बन्ने पक्का भएको छ।
पार्टीलाई १५ वर्षसम्म निरन्तर नेतृत्व गरेका नेता माधव नेपाल र अध्यक्ष भइसकेका नेता झलनाथ खनाल एक ठाउँमा हुँदासमेत एमालेमा ओली पक्ष हावी देखिएको छ। जसले ओलीको मनोवल झन बढाएको छ।