• -दिलिप पोखरेल,उर्लावारी
    'कर्म गर तर फलको आश नगर' यो उक्ति विद्यालय तहको नैतिक शिक्षामा पढ्न पाइन्छ । मोरङको उर्लावारी-२ का वडाध्यक्ष राजन कँडेलको हकमा यहि लागू हुन्छ । कँडेलका सबल र दुर्बल पक्ष दुवै होलान् तर उनी उर्लावारीका लागि मात्रै नभएर धेरै स्थानीय तहहरुका लागि एक उदाहरणीय वडाध्यक्ष हुन सक्छन् ।
    हरेक जनप्रतिनिधिहरुको काम जनताको सेवा गर्नु नै हो । जनताको काम मै खटिनु हो । कँडेल अन्यभन्दा केही पृथक छन् । २४ सै घन्टा उनी जनताको काममा खटिन्छन् अरु जनप्रतिनिधिहरु पनि खटिन्छन् तर कँडेल चाँही किन पृथक ?
    स्थानीय तहको चुनावमा पनि उनलाई शारीरिक अशक्ताको कुरा उठान गर्दै काम गर्न सक्दैन,खट्न सक्दैन भन्थे । जनप्रतिनिधि भएपछि सबैको मुखमा उनले बुझो लगाइदिए, काम गरेर देखाइदिए । सधैं खटिन्छन् !
    सवारी दुर्घटनामा परेर कँडेलले एउटा खुट्टा गुमाउनुपरो । तर उनको काममा सहयोग गर्ने सयौं काँध र खुट्टाहरु उनले कमाएका छन् । सपाङ्ग वडाध्यक्षहरुभन्दा पनि उनी नियमित रुपमा काम गर्ने,बोलाएको ठाउँमा जुनसुकै क्षेत्रमा पुग्ने गरेका छन् ।
    उर्लावारीको वडा नम्बर २ पीच नभएको उर्लावारीको एक मात्र वडा हो । यहाँका कुनै पनि सडकले पीच(कालोपत्रे) देख्‍न पाएका छैनन् । तर,अबको योजनाबाट यो वडामा कालोपत्रे हुनेमा उनी विश्वस्त छन् । अब सुनपकुवा स्कुलेदेखि बेतिनी सीमसार जाने बाटोमा अबको एक वर्षभित्रमा पीच गर्ने योजना उनको योजना छ ।
    सीमसारको सहर भनेर उर्लावारीलाई चिनाउने वडा पनि उनकै हो । यहाँ उर्लावारीका बेतिनि,लामपाते,बुढा ठाकूर,भुसीझोडा,बाँसे चौरी सीमसारह तथा पर्यटकीय क्षेत्रहरु यही वडामा छन् । सामुदायिक वन पनि यही छन् । कृषि हुने क्षेत्र पनि यही छ ।
    प्राकृतिले पत्याएको र विकासले ठगेको वडाका वडाध्यक्ष भएपनि कँडेलले वडामा विकासका धेरै योजनाहरु ल्याएका छन् । धेरै योजनाहरु निर्माण हुने चरणमा छन् । वडा कार्यालय र स्वास्थ्य चौकीका लागि भवन निर्माणका लागि उनले दाताबाट निःशुल्क रुपमा ५ कठ्ठा जग्गा वडाको नाममा ल्याएका छन् ।
    वडामा सीमसार तथा पर्यटन प्रवर्द्धनका लागि उनले धेरै कामहरु गरिरहेका छन् । हालसम्म नगरपालिकाको मात्रै बजेट नभएर प्रदेश र केन्द्र सरकारबाट पनि बजेट ल्याएर काम गरेका छन् । प्रदेश सरकारले चालू आर्थिक वर्षमा एक करोडभन्दा बढी बजेट सडक निर्माण सम्पन्न भइसकेको छ । जनता आवास कार्यक्रम मार्फत वडामा ३ लाखको दरले १० वटा घर निर्माण भएका छन् ।
    बेतिनी सीमसारमा उर्लावारी नगरपालिकाको ४८ लाख र प्रदेश सरकारको ४० लाखको बजेटमा काम भइरहेको कँडेलले बताए । लापातेमा १० लाखभन्दा बढी र बाँसेचौरी सीमसार १० लाखभन्दा बढी बजेट लगानी भएको उनले सुनाए । सबै समुदायका धार्मिक स्थल तथा मठमन्दिरमा पनि उनले वडाको तर्फबाट लगानी जुटाइदिएको बताए ।
    कँडेलको दैनिकी बिहान साढे ४ बजेदेखि सुरु हुन्छ । बिहान उठ्ने बित्तिकै ध्यान(योगा) गर्ने उनले सुनाए । त्यसपछि उनी चिया खाएर गाउँ निस्कन्छन् । नजिक छ भने हिँडेरै जान्छन् । टाढा भने स्कुटर लिएर जाने उनले बताए । कार्यालय समयमा सहयोगी लिएर हिँड्ने गरेको उनले सुनाए ।
    उनी बिहान कर्मचारी आउनुभन्दा अघि कार्यालय पुग्छन् । कार्यालयको काम सकेर सामाजिक काममा उनी सक्रिय हुन्छन् । सामाज र गाउँलेको स्थानियको समस्या सुन्दै समाधान गर्दै उनी बेलुका ८ बजेतिर घर पुग्छन् । हिजो आज सुनझोडा,डुम्रे,सोल्टी खोलाले कटान गरेका क्षेत्रहरुमा तार जाली लगाउने काम तथा विपद्को पूर्वतयारी सम्बन्धीका काम गरिरहेको उनले सुनाए ।
    पछिल्लो समय बाँस चौर र लामपाते सीमसारमा प्रयटन प्रवर्द्धन गर्न भनेर झोलुंगे पुल निर्माणका लागि योजना पठाएको उनले बताए ।
    उनले आफू अपागं भएपनि सापंगको जसरी काम गर्दा पनि हौसलाहरु भने नपाएको दुखेसो पोखे । भने,' अपांग भएका मानिसहरुले सपांगभन्दा राम्रो काम गर्न सक्छन् भन्ने उदाहरण मैले दिन चाहेको हुँ । कुद्‍न बाहेक म सबै कुरामा सपांग वडाध्यक्षहरुसँग प्रतिस्पर्धा गर्न तयार छु । '
    जनताको कामका लागि भनेर बिहानैदेखि खटिएपनि खुट्टा तान्ने प्रवृत्तिहरु भने यथावत् नै रहेको कँडेलको अनुभव छ । आफुलाई कतिपयले आक्षेप लगाउने गरेको पनि उनले सुनाए । उनले भने,' मैले कहिले पनि कसैको अहित चिताउने गरी काम गरेको भए म कारबाही भोग्न तयार छु । '
    पछिल्लो समय उनी वडामा पर्यटन प्रवर्द्धन र पर्यटक भित्र्याउनका लागि काम गर्ने योजना भएपनि पर्याप्त लगानी जुटाउन नसकिएको बताए ।
    ३६ वर्ष पुगेका वडाध्यक्ष कँडेलको २०६६ सालमा दुर्घटनामा भएको थियो । त्यसबेला धरानबाट एक बिरामीलाई हेरेर घर फर्केन क्रममा कानेपोखरीमा शाखा बाटोबाट आएको ट्याक्टर र नाइट बसको ठक्करमा परी दुर्घटनामा परेका थिए । उनी उक्त बाइको पछाडि सवार थिए । दुर्घटनामा उनी सवार बाइक ट्याक्टर र बसको बीचमा चेपिएको अवस्थामा थियो । उक्त दुर्घटनामा परी उनको ज्यान बचेपनि एउटा खुट्टा गुमाउनुपरेको थियो ।
    नेपाली कांग्रेसको तरुण दल महाधिवेशन प्रतिनिधि रहेका वडाध्यक्ष कँडेल कांग्रेसको वडा सभापति पनि हुन् ।
    गत स्थानीय तहको चुनावमा उनले वडा नम्बर २ मा ११ सय ९९ मत ल्याएर जितेका थिए । उनका प्रतिद्वन्द्वी एमालेक हेमचन्द्र थापाले ८ सय ५३ मत ल्याएका थिए । उनी स्थानीय स्तरमा विद्यालय सञ्चालन गरेर शिक्षाको क्षेत्रमा पनि लागेका छन् ।
    उनी भन्छन्,'अपांगता भएका व्यक्तिहरुले त राम्रो काम गर्छ भने सपांगता भएकाहरुले अझ राम्रो काम गर्नुपरो । तर यहाँ गर्न सकेका छैन् । ' अवसर पाएको खण्ड सापंगभन्दा र अपांगता भएकाहरुले अझ बढी राम्रो काम गर्न सक्ने उनले बताए ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…