काठमाडौं, १ फागुन । प्रचण्डले परिआए फड्को मार्छु भनेपछि एमालेभित्र हल्लाखल्ला भएको छ भने माओवादी केन्द्रभित्र बालको खाल उतार्ने काम भइरहेको छ ।
एमालेले निकालेको अर्थ हो– धम्की, मोलतोल अथवा वाममोर्चा परित्याग र कोर्स चेन्ज । त्यसपछि प्रचण्ड मौन छन् र प्रचण्डका निकट नारायण दाहालले मुख खोलेका छन्– उनका अनुसार देशको राजनीति हाँक्न प्रचण्ड बिना सम्भव नै छैन ।
एमालेले यो कुरा बुझेर पार्टी एकीकरण गर्ने र प्रचण्डलाई अध्यक्ष बनाउनै पर्ने । जुन कुरा एमालेलाई मान्य छैन । यतिमात्र होइन कि पार्टी एकीकरण गर्दा नेताहरुको हैसियतमा आनका तान फरक पर्ने भएकाले एमालेभित्र बिद्रोह नै हुनसक्ने खतरा बढी देखिन्छ ।
प्रचण्डले झलनाथ खनाललाई हात लिएर एकीकरणको आवाज उठाइरहेका छन्, यसको भित्री कुरो झलनाथ ओलीले विद्या विद्या भनेकाले प्रचण्डको सहाराले राष्ट्रपति बन्न चाहन्छन्, माधव नेपाल मरीच चाउरिएजस्तो चाउरिएका छन्, कारण ओलीले ईश्वर पोखरेललाई भावी अध्यक्षका रुपमा ग्रुम गर्न थालिसकेको स्थिति छ । पार्टीमा ओलीको बर्चस्व झन मजबुत भएको स्थितिले पनि माधव, झलनाथ अथवा वामदेवहरुको केही चल्ने स्थिति न्यूनीकरण हुँदैछ ।
नारायण दाहालका अनुसार समय अड्किदैन, देशका लागि फड्को मार्नुप¥यो, सबैको अस्तित्व स्वीकार गर्नुप¥यो । संकेत उही हो, ओली प्रम, प्रचण्ड अध्यक्ष ।
यतिसम्म कि नारायण दाहाल त एकीकृत पार्टीको अध्यक्ष नै प्रचण्ड हुनेहुन् भनेर ठोकुवासमेत गर्छन् । केपी ओली प्रधानमन्त्री र प्रचण्ड अध्यक्ष बन्ने कुरा दुनियाँले जानेको कुरा हो । अब फेरि पाउने कि नपाउने ? नपाए के गर्ने ? एमालेले नछाडे माओवादीले के गर्ने ? भन्ने प्रश्नै गलत छ । संगठन र कार्यदिशाको बारेमा छलफल टुंगोमा पुग्न बाँकी छ ।
प्रदेशसभा, राष्ट्रियसभा, समानुपातिकका नामावली हेर्दा ठूला पार्टीका नेतालाई प्रेमिका, श्रीमती, सम्धि, गुट र गुठियारको चिन्ता प्रष्टै देखिन्छ । यसको अर्थ चुनावमा जुन जनता र देशप्रतिको चिन्ता थियो, त्यो समाप्त भइसक्यो । अव सत्ता र शक्तिको चिन्ताले गाँजेको छ यिनलाई ।
यो परिदृश्य हेर्दा पनि सत्ताका लागि नेताहरुले जेजस्तो निर्णय पनि गर्न सक्छन् र प्रचण्डको फड्को पनि यही अन्तर्गत आउने देखिन्छ ।
माओवादी केन्द्र भनेको प्रचण्ड हुन्, उनले जे बोल्छन् त्यो ब्रम्हवाक्य हो आजका दिनसम्म पनि । उनलाई खबरदार भन्ने कुनै माइकालाल उभिएका देखिदैनन् । यता एमालेमा ओली आशीर्वाद वा सराप दिन सक्ने परशुराम नभए पनि उनी प्रभावशाली छन् र उनको निर्णयमा पार्टी पंक्ति उभिएकै देखिन्छ ।
यसकारण ओलीले पार्टीलाई विश्वास दिलाएर एकीकरण गर्लान कि नगर्लान्, प्रश्न प्रचण्डका सामु उभिएको छ, उनले फड्को हान्छु त भने, कतातिर हान्छन् फड्को ? कतै कांग्रेसले मधेसी पार्टीको समर्थनसहित पाँच वर्ष मजाले सरकार चलाउनोस् भन्नेतिर फड्को हान्ने त होइन उनले ? अनेक प्रश्न छन्, यही र वाम मोर्चा एकीकृत हुन नसक्ने भयो भन्ने प्रश्नमा राजनीति केन्द्रित भइरहेको छ ।
प्रचण्डको मुख्य दायित्व भनेको आफ्नो वर्चस्व कायम गर्ने, जनयुद्धकालीन फौजदारी मुद्दाहरुलाई मेलमिलापबाट आममाफी दिलाउने र राजनीतिको किङपिनका रुपमा स्थापित भइरहने । यसमा रोडा छ त एमालेको ढिलासुस्ती मात्रै हो ।
प्रचण्डले जसरी सहजै भनेका छन्– देशका लागि अर्को फड्को मार्न पनि सक्छु, हुन पनि जनयुद्ध र जनआन्दोलनको सफलतापछिको उनको क्रियाकलाप नै साक्षी छ कि प्रचण्ड जस्तोसुकै फड्को मार्न सक्ने खालका नेता हुन् । यति हिम्मतिलो र बेला बेलामा ओल्टो कोल्टो फेर्न सक्ने खालको नेता नेपाली राजनीतिमा अर्को छैन ।
विश्लेषकहरुका अनुसार कूबेलामा भारतीय विदेशमन्त्री सुषमा स्वराजको नेपाल भ्रमण र स्वराज प्रचण्डको भेटवार्तापछि आएको यो फड्को तहल्काले धेरै कुरा संकेत गरेको छ । यहीकारण राजनीति बुझ्ने र बुझ्न चाहनेहरु प्रचण्डको छलाङ्पछिको क्रान्तिकारी फड्कोको प्रतिक्षा गरिरहेछन् ।