• काठमाडौं। नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली आज नेपालको प्रधानमन्त्री नियुक्त भएका छन्। गणतन्त्र नेपालको संविधान पूर्ण कार्यान्वयन भइ संक्रमणकालीन अवस्था अन्त्य भएपछि ओली प्रधानमन्त्री बनेका हुन्। निर्वाचन अगावै बनेको बाम गठबन्धनका बहुमत सदस्यको समर्थनमा ओली प्रधानमन्त्री बनेका हुन्। प्रधानमन्त्रीको रुपमा ओलीको यो दोस्रो कार्यकाल हो।

    यसअघि ओली नेपालको संविधान २०७२ जारी भएपछि ९ महिनासम्म नेपालको प्रधानमन्त्री बनेका थिए। उनी नेपालका आठौं कम्युनिष्ट प्रधानमन्त्री बनेका छन्।

    विद्यार्थी जीवनमै मृदुभाषी र प्रस्टवक्ता ओली आफूलाई मन नपरेको कुराका कटु आलोचक पनि थिए। उनको बोली जति मिठो हुन्थ्यो उनको आलोचना उत्तिकै कटु हुन्थ्यो

    नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म २००८ सालमा तेह्रथुमको इवा गाविस २ तीनसल्लेमा भएको हो। उनको पिताको नाम मोहनप्रसाद ओली र आमाको नाम मधु हो। तेह्रथुम इवाकै प्रणामी उच्च माध्यमिक विद्यालय (तत्कालीन प्रणामी प्रावि) बाट पढाइ सुरु गरेका ओलीको परिवार २०२२ सालमा बसाइसराइ गरी झापा झरेको थियो।

    झापा सुरुङ्गाको कन्काइ नदी किनारमा बसोबास गर्ने उनको परिवार निकै विपन्न थियो।  केपी ओलीले डेढवर्षकै उमेरमा मातृवियोग सहनुपरेको थियो। त्यतिबेला ओलीको परिवार सुकुम्बासीसमेत भएको थियो। कन्काइमा आएको बाढीले घर जग्गा सबै बगाउँदा उनको परिवार सुकुम्बासी भएको थियो।

    सानैमा आमाको माया गुमाएका ओलीले बाल्यकाल निकै कष्ट सहेर बिताएका थिए। केपीलाई हजुरबा र हजुरआमाले हुर्काएका हुन्। अधययनकै क्रममा झापा आन्दोलनका सहिद रामनाथ दाहालसँग भेट भएपछि ओली राजनीतितर्फ तानिन थालेका थिए।

    ओली सानैदेखि तीक्षण बुद्धिका र चलाख थिए। ओलीको यही विशेषताबाट प्रभावित दाहालले ओलीलाई आफ्नै घरमा राखेर पढाए। ओली राजनैतिक रुपमा दीक्षित हुन यहीँबाट सुरु गरेका थिए। दाहालको प्रेरणाले ओलीमा सुरु भएको राजनैतिक झुकाव विस्तारै विकसित हुन्दै अहिलेको अवस्थासम्म आइपुगेको हो।
    ओलीले भारतीय नाकाबन्दीका सामु नझुकी राष्ट्रवादी अडान लिएपछि त्यतिबेला उनको देशभर प्रशंशासमेत भएको थियो

    विद्यार्थी जीवनमै मृदुभाषी र प्रस्टवक्ता ओली आफूलाई मन नपरेको कुराका कटु आलोचक पनि थिए। उनको बोली जति मिठो हुन्थ्यो उनको आलोचना उत्तिकै कटु हुन्थ्यो। एसएलसी सकेपछि ओलीले गाउँकै प्राथमिक विद्यालयमा पढाउन थाले। तर अध्यापनको कामले लामो समय निरन्तरता पाउन सकेन।

    राजनीतिमा सक्रिय हुन थालेपछि उनले अध्यापनलाई बीचैमा छाड्नुपर्यो। २०२३ सालदेखि राजनीतिमा सक्रिय ओलीले २०२७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएर त्यही वर्षदेखि भूमिगत भए। पञ्चायतविरोधी आन्दोलनमा सक्रिय ओली त्यही साल नै पक्राउ परे र १४ वर्षसम्म जेलमा रहे। ओली २०२९ सालमा झापा आन्दोलन कमिटीको प्रमुख थिए।

    २०४६ सालको आन्दोलनको बलमा पञ्चायती व्यवस्थाको अन्त्य भएपछि ओली २०४८ सालदेखि निरन्तर पार्टीमा स्थायी कमिटी सदस्यको रुपमा रहे। २०४८, २०५१ र २०५६ सालको आम निर्वाचनमा झापा ६ बाट निर्वाचित ओली २०६४ सालको संविधानसभा चुनावमा झापा ७ बाट पराजित भएका थिए। २०७० सालको दोस्रो संविधानसभा चुनावमा विजयी भएपछि ओली पार्टीको आन्तरिक पदमा हरेकपटक सफल रहे। पार्टीको संसदीय दलको नेता निर्वाचित भएसँगै ओली पार्टी अध्यक्ष पदमा पनि निर्वाचित भए। २०७२ असोजमा नेपालको संविधान जारी भएपछि ओली प्रधानमन्त्रीमा समेत निर्वाचित भएका थिए।

    संविधान जारी भएसँगै संविधानकै विषयलाई लिएर भारतले करिब ६ महिना नाकाबन्दी लगाउँदा ओली प्रधानमन्त्री थिए। ओलीले भारतीय नाकाबन्दीका सामु नझुकी राष्ट्रवादी अडान लिएपछि त्यतिबेला उनको देशभर प्रशंशासमेत भएको थियो। अहिले एमालेसहित बाम गठबन्धनले बहुमत ल्याउनुमा पनि ओलीको त्यही अडानको प्रभाव रहेको राजनैतिक विश्लेषकहरुले निष्कर्ष निकालेका छन्। भारतीय नाकाबन्दीको सामना गर्दै अर्को छिमेकी चीनसँग द्विपक्षीय पारवहन सन्धि गर्नु, नेपालको बजारमा भारतीय एकाधिकार अन्त्य गर्न पहल गर्नुलाई ओलीको सबैभन्दा उल्लेख्य उपलब्धी मानिएको छ।

    भारतीय नाकाबन्दी अन्त्य भएपछि अस्थिरता अन्त्य हुने अपेक्षा गरिएकोमा ओलीको सरकारले भने निरन्तरता पाउन सकेन। ९ महिना चलेको ओली सरकार सत्ता सहयात्री माओवादीको असहयोगका कारण २०७३ साउनको सुरुवातमै ढल्न पुग्यो। आफूविरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता गराइएपछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। प्रधानमन्त्री हुनुअघि ओली उपप्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्रमन्त्री भइसकेका छन्।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…