• काठमाडौं। २०७३ साउन ९ गते प्रधानमन्त्री पदबाट राजीनामा दिँदै गर्दा संसदमा उभिएर केपी शर्मा ओलीले भनेका थिए ‘मैले अधिनायकवाद ल्याउन खोजें भनेर आरोप लगाइयो । म अधिनायकवादविरुद्ध १४ वर्ष जेल बसेको मान्छेले अधिनायकवाद कसरी ल्याउन सक्छु ?’ आज उनै ओली दोस्रोपटक प्रधानमन्त्री बनेका छन् । ओलीले प्रधानमन्त्री पदको सपथ लिने तयारी भइरहँदा उनको जेलजीवनका विषयमा पनि जानकारी राख्नु उपयुक्त हुने अपेक्षासहित यो सामग्री तयार गरिएको छ ।

    केपी ओली नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएर औपचारिक रुपमा राजनीतिमा आएको एक वर्षमै गिरफ्तार भएका हुन् । २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका ओली पहिलो पटक २०२७ फागुन १६ गते आइतबार पक्राउ परेका थिए । झापाबाट गिरफ्तार गरिएका उनलाई सुरुमा झापा पुलिस थानामा राखिउको थियो । त्यसपछि २०२७ देखि २०३० को बीचमा उनी पटक पटक गरी १० पटक भन्दा बढी गिरफ्तारीमा परे ।

    २०३० सम्म पक्राउ गरी प्रहरी चौकीबाटै छोडिएका उनलाई औपचारिक रुपमा जेलमा भने २०३० सालदेखि मात्र पठाइएको थियो । २०३० असोज २३ गतेबाट उनको औपचारिक जेल जीवन प्रारम्भ भएको हो । पहिलोपटक उनलाई २ दिन रौतहटको गौर जेलमा राखिएको थियो । त्यसपछि उनलाई वीरगञ्ज थाना अन्तर्गत वीरगञ्ज जेलमा चलान गरियो । ओलीलाई २०३० मंसीर ८ गते भद्रगोल जेल काठमाडौंमा चलान गरिएको थियो ।

    त्यसको ३ दिनपछि मंसीर ११ गते उनलाई सेन्ट्रल जेल गोलघर चलान गरियो । उनी २०३० मंसीर ११ देखि २०३२ वैशाख १६ सम्म सेन्ट्रल जेल गोलघरमा र त्यसपछि गोलघर बाहिर बन्दी बनेर रहे । २०३३ साउनमा ओलीलाई नख्खु जेल चलान गरियो । २०३३ मंसीरमा केन्द्रीय कारागार गोलघरमै फिर्ता ल्याइयो । त्यसपछि उनलाई २०३६ जेठमा गोलघर बाहिर राखियो ।

    २०३७ चैतमा ओलीलाई पुनः नख्खु जेल चलान गरियो । २०३९ सम्म नख्खु जेलमा राखिएका ओलीलाई २०३९ माघ ३ मा पोखरा जेल चलान गरियो । २०४२ कात्तिकमा पोखरा जेलबाट स्याङ्जा जेल चलान गरियो । त्यसपछि २०४३ मंसीर ८ मा हनुमान ढोका जेल चलान गरियो । ०४३ सालकै माघ १२ मा पुनः भद्रगोल जेल चलान गरिएका ओलीलाई २०४४ असार ११ मा भद्रगोल जेलबाट रिहा गरिएको थियो । २०४६ मा प्रजातन्त्र पुनर्बहालीपछि पनि तत्कालीन राजा ज्ञानेन्द्रले चालेको ०५८ माघ १९ को ‘कू’ सँगै ओलीलाई नजरबन्दमा राखिएको थियो ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…