• २०७४ फाल्गुन ३


    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिनै लाग्दा आफूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले झुक्याएको भन्दै असन्तुष्टि पोखेका छन्।

    राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीबार बिहान टेलिफोन गर्दै देउवाले आफूलाई झुक्याएर नयाँ प्रधानमन्त्री नियुक्त गर्न खोजेको भन्दै असन्तुष्टि जनाएका हुन्।

    ‘बिहीबार दिउँसो कुनै बेला राजीनामा बुझाए हुन्छ भनेर प्रधानमन्त्रीलाई सुझाव दिने राष्ट्रपतिले एकाबिहानै केपी शर्मा ओलीसहित माओवादीका शीर्ष नेतालाई बोलाउनुभएछ’, देउवा मन्त्रिपरिषद्का सदस्य मीन विश्वकर्माले थाहाखबरसँग भने, ‘सेना दिवस २०७४’ को अवसरमा बुधबार राष्ट्रपतिकै सुझावमा प्रधानमन्त्री देउवा बिहीबार दिउँसो राजीनामा दिने योजनामा हुनुहुन्थ्यो।

    ’  प्रधानमन्त्री देउवाले पदबाट राजीनामा दिनुअघि नै राष्ट्रपति भण्डारीले एमाले अध्‍यक्ष ओलीलाई संघीय संसदमा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त गर्न खोजेको आरोप देउवाले लगाएका छन्।

    स्रोतका अनुसार एमाले अध्यक्ष ओलीलाई संसदको तेस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समर्थनमा प्रधानमन्त्री नियुक्त गर्ने योजनाअनुसार बिहीबार बिहान साढे ९ बजे शीतल निवासमा बोलाइएको थियो।

    ओली र दाहाललाई शीतल निवासमा राष्ट्रपतिले बोलाएको कुरा थाहा पाएपछि प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलाई फोन गरेका थिए। देउवाले आफूले राजीनामा नदिई प्रधानमन्त्री हुन चाहने व्यक्तिलाई तपाईंले किन भेट्न खोज्नुभएको भनी जिज्ञासा राखेका थिए।

    देउवा टेलिफोनमा झोक्किएपछि राष्ट्रपति भण्डारीले ‘तपाईंले राजीनामा लिएर नआउन्जेलसम्म उहाँहरूलाई कुराइरहन्छु’ भनेकी थिइन्।

    के सल्लाह थियो राष्ट्रपति भण्डारी र देउवाबीच? प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसको सभापतिको हैसियतले प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूचीमा रहेको नाम सच्याएर बुधबार निर्वाचन आयोगमा पठाउँदा दिउँसो २ बजेको थियो।

    पूर्व निर्धारित समयअनुसार मन्त्रिपरिषद् बैठक ३ बजेलाई बोलाइयो।

    निर्वाचन आयोगमा सबै दलले प्रतिनिधिसभाको समानुपातिकतर्फको सबै उम्मेदवारको बन्दसूची सच्याएर पठाउनासाथ निर्वाचन आयोगले संघीय संसदको निर्वाचनका सबै परिणाम राष्ट्रपति भण्डारीलाई बुझाउने देउवालाई थाहा थियो।

    आफ्नो नेतृत्वको सरकारको अन्तिम मन्त्रिपरिषद् बैठक गर्ने योजना बनाएका देउवालाई नेपाली सेनाले जंगी अड्डामा आयोजना गर्ने विशेष कार्यक्रममा तुरुन्त आउनु भन्ने सूचना दिएपछि बैठक स्थगित गरेका थिए। प्रधानमन्त्रीको आगमनलाई प्रतीक्षा गरिरहेका देउवा मन्त्रिपरिषद्का सदस्यहरू राती ८ बजेसम्म बालुवाटारमा बसेका थिए।

    सेनाको कार्यक्रम लम्बिएपछि देउवाले सबै मन्त्रीहरूलाई घर जानु भन्ने सुझाव दिएको मन्त्री विश्वकर्मा बताउँछन्।

    सेनाको कार्यक्रममा सँगै रहेकी राष्ट्रपति भण्डारीसँग देउवाले सल्लाह मागे ‘मन्त्रिपरिषद् बैठक आजै बोलाउनु छ, भोलि राजीनामा दिने योजना बनाएको छु, राष्ट्रपतिज्यू।

    ’ देउवाको प्रस्तावलाई स्वीकार्दै भण्डारीले भनिन्, ‘मैले पनि निर्वाचन आयोगले तयार पारेको प्रतिनिधिसभाको परिणामसहितको प्रतिवेदन बुझ्नु छ, भोलि मन्त्रिपरिषद्को बैठक गर्नुस् अनि राजीनामाको घोषणा गरेर दिउँसो राजीनामा दिनु होला, राजीनामा दिनचाहिँ  आफैँ आउनुहोला है!

    ’ राष्ट्रपति भण्डारीको सुझावबमोजिम नै मन्त्रीहरूलाई भोलिपल्ट बिहीबार बिहान ९ बजे मन्त्रिपरिषद् बैठकमा आउन भनेका देउवा बिहीबार बिहान साढे ९ बजे नै राष्ट्रपति भण्डारीले नयाँ सरकार निर्माण गर्ने सम्बन्धमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भेट्दै छन् भन्ने थाहा पाएपछि देउवा भण्डारीसँग आक्रोशित भएकी हुन्।

    यस्तो भयो बिहीबार बिहान  राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच बिहान करिब साढे ८ बजे टेलिफोन वार्ता भयो।

    वार्ता सकिनासाथ प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठक निर्धारित समय ९ बजे नै राखे। बैठक हतारहतार सकेर ११ बजे देशवासीको नाममा वक्तव्यमार्फत राजीनामाको घोषणा गरेका थिए।

    सवा ११ बजे राजीनामा घोषणा गरेर सीधै राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए। देउवा शीतलनिवास पुग्नुअघि नै राष्ट्रपति भण्डारीलाई भेट्न ओली र दाहाल छलफलमा थिए।

    दुवै नेता ठीक १० बजे नै त्यहाँ पुगेका थिए। देउवाले राजीनामा पत्र बुझाउन शीतलनिवास पुग्नासाथ भण्डारीले ओली र दाहाललाई बेग्लै कोठामा छोडेर देउवालाई बेग्लै कक्षमा भेटेकी थिइन्।

    माओवादी अध्यक्ष दाहालको समर्थन आफूलाई भएकोले प्रधानमन्त्रीमा आफूलाई नियुक्त गरेको घोषणा गर्न ओलीले राष्ट्रपति भण्डारीलाई सुझाए। तर, भण्डारीले राष्ट्रपति सचिवालयका कर्मचारीसँग सल्लाह गरेर निर्णय दिने बताइन्।

    कर्मचारीहरुले पहिलो चरणमा प्रधानमन्त्रीको दाबी गरेको सूचना सार्वजनिक गरेर मात्र प्रधानमन्त्रीमा नियुक्त गर्ने प्रक्रिया अघि बढाउन भनेका थिए। ओली र दाहालसँगको सल्लाहमा व्यस्त भण्डारीले देउवाको राजीनामा बुझेपछि कदम चाल्ने बताएकी थिइन्।

    राजीनामा पत्र बुझेर जब देउवा बालुवाटार लागे तब भण्डारीले ओलीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा दाबी गरेको सूचना सार्बजनिक गरेकी थिइन्।

    के चाहन्थे देउवा? देउवा आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिनुअघि मन्त्रिपरिषद् बैठक गर्ने र राष्ट्रको नाममा सम्बोधन गर्ने योजनामा थिए।

    बुधबार दिउँसोसम्ममा राष्ट्रिय सभाको लागि आफूले सिफारिस गरेका ३ जनालाई राष्ट्रपतिबाट सदस्यमा नियुक्त गरेको खबर देउवा सुन्न चाहन्थे तर आफूलाई मन्त्रिपरिषद्को बैठक नै गर्न नदिई ओलीलाई प्रधानमन्त्रीको घोषणा गर्न लागेको आशंका गर्दै देउवा हतारहतार राजीनामा बोकेर हिँडेका थिए।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे—१० स्थित डाँस मोरङ्गी सामदायिक वन उपभोक्ता समिति लागि तीन जना अध्यक्ष र …

मोरङ । मोरङको पथरीशनिश्चरे—१० स्थित डाँस मोरङ्गी सामदायिक वन उपभोक्ता समितिको अध्यक्षमा हरि निरौला …

मोरङ । निर्माणाधिन एसियाली हाइवे मोरङको पथरीशनिश्चरे स्थित पथरी बजारमा साँगुरिने शंका भएपछि स्थानीय चना…

मोरङ । पहिचान पक्षधरहरुको एकीकृत शक्ति र भविश्यमा पार्टी निर्माण गर्ने उदेश्यले छलफल सुरु हुनुको साथै संयो…