• २०७४ फाल्गुन ४


    काठमाडौं  प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कालो धनको पक्षमा नरहेको बताएका छन् ।

    प्रधानमन्त्री बनेपछि प्रधानमन्त्रीले केही समयदेखि आफूमाथि हुँदै आएको आलोचनाको खण्डन गरेका हुन् ।

    प्रधानमन्त्री ओलीले सामाजिक सद्भाव खल्बल्याउने, राष्ट्रिय हित विपरीत काम गर्ने कोही कसैलाई पनि छुट नदिइने र त्यस्तो प्रवृत्तिलाई कानुनअनुसार नियन्त्रण गरिने स्पष्ट पारे ।

    प्रधानमन्त्रीले स्वदेशभित्रैको सानो पूँजी परिचालन गरेर जलविद्युत् क्षेत्रको विकास र आर्थिक समृद्धिको मार्गमा मुलुकलाई अगाडि बढाउन सकिने छ भन्दै सरकार सो दिशामा समेत क्रियाशील रहने स्पष्ट पारे।

    कुनै पनि गलत मनशायका साथ जम्मा गरिएको कालो धनका पक्षमा आफू र आफ्नो सरकार नरहने स्पष्ट गर्दै उनले आफूले विगतमा फरक प्रसंगमा बोलेको विषयलाई गलत तवरले प्रचार गरिएकामा दुखेसो गरे।

    उनले जनतालाई परिवर्तनको महसुस हुने गरी काम गर्ने विश्वास व्यक्त गर्दै स्वदेशमा नै रोजगारीको वातावरण बनाउने र विदेशमा रोजगारीको खोजीमा गएका युवालाई स्वदेशमा फर्काउने प्रयास गरिने बताए।

    उनले कानुनको राज, पारदर्शिता र स्वच्छतामा कुनै पनि सम्झौता नहुने बताउँदै गलत मनशायका साथ हुने कुनै पनि कामकारवाहीमा सरकार चुप लागेर नबस्ने दृढता व्यक्त गरे ।

    त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार साँझ पदबहाली गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई प्राविधिक रुपमा दक्ष बनाउन र रोजगारीको अवसरसमेत सिर्जना गर्ने लक्ष्यका साथ सबै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने निर्णय गरेका छन् ।

    आफू पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि देशभरकै तुइन हटाउने निर्णय गरेको र सो कार्यक्रम हाल कार्यान्यवनमा रहेको जानकारी दिँदै उहाँले यस पटक पनि ‘केही नयाँ गरौँ’ भन्ने लक्ष्यका साथ उक्त निर्णय गरिएको बताए ।

    प्रधानमन्त्रीले संघीय संसद् भवन निर्माणको प्रक्रिया आजैदेखि शुरु भएको जानकारी पनि दिए । “सरकारले आगामी दुई वर्षभित्र संघीय व्यवस्थापिका–संसद्को भवन निर्माण गर्ने गरी आजैको मितिदेखि काम शुरु गरेको छ”, प्रधानमन्त्रीले भने ।

    अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई तत्कालका लागि प्रयोग गरिए पनि त्यसलाई तिरिएको भाडाबाट अरु भवन बनिसक्ने अवस्था छ भन्दै प्रधानमन्त्रीले संसद् भवन निर्माणलाई विशेष प्राथमिकता दिइने र दुई वर्षभित्र कुनै पनि शर्तमा निर्माण सम्पन्न गरेरै छाडिने दृढता व्यक्त गरे।

    समृद्ध र सुखी नेपाल निर्माण गर्नु सरकारको पहिलो कर्तव्य र दायित्व रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपाली जनताको चाहनाबमोजिम आर्थिक समृद्धिको अभियान नै सञ्चालन गरिने बताए ।

    उनले सबल, जनमुखी र जनपक्षीय केन्द्रीय, प्रदेश र स्थानीय सरकार सञ्चालन गर्ने कानुनी शासनको प्रबन्ध तथा परिचालन, क्षमताको विकास कृषिको आधुनिकीकरण, यातायात, सञ्चार पूर्वाधार क्षेत्रको विकास गर्न दृढ संकल्पित भएर लाग्ने बताए।

    शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता विकासका कामको प्रत्याभूति नेपाली जनतालाई हुने गरी काम गरिने जानकारी दिँदै प्रधानमन्त्री ओलीले पर्यटन तथा सेवा क्षेत्रको विकास, आन्तरिक तथा बाह्य लगानी वृद्र्धि, उद्योग व्यवसायलाई बढावा दिने लगानीमैत्री वातावरण सिर्जना, अर्थतन्त्रको सबै क्षेत्रलाई गतिशील बनाएर रोजगारीको अवसर सिर्जना र आर्थिक समृद्धि गर्ने लक्ष्यका साथ सरकारका अगाडि बढ्ने स्पष्ट पारे।

सम्वन्धित समाचार

काठमाडौं । नेपाल मगर संघ पथरीशनिश्चरे नगर समितिको आयोजनामा हुर्रा नाच प्रस्तुती, विभिन्न व्यक्तिलाई सम्मान …

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सोखुलुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले सेवाग्रहीलाई…

मोरङ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको शनिबार पथरीशनिश्चरे नगरमा भएको छैटौं जिल्ला …

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं। स्थित सुनाखरी माविले विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गर्दै बि…