शिवप्रसाद सिग्देल -
जनयुद्धका नायक प्रचण्ड अव एमालेको रङमा रंगिने स्थितिमा पुगेका छन् । जनयुद्धका नायकलाई कुन खालको दण्ड दिइनुपथ्र्यो, तर देश र जनताले यिनलाई पटक पटक पुरस्कार दिएको छ, मौकाका रुपमा । तर पनि यिनले आफूलाई देश र जनताको सम्पत्तिका रुपमा उभ्याउन सकेनन्, स्वार्थको घेराबाट निस्किने साहस जुटाएनन् ।
माओवादी केन्द्र र एमालेवीच पार्टी एकीकरण गर्ने प्रसङ्ग तातो बहस हो । शान्ति र स्थिरता हुन्छ, सुशासन र समृद्धिको थालनी हुन्छ भने राम्रो कुरा भनेर जनताले जनबल जनादेश दिएका पनि छन् । तर एकीकृत रुपमा जाँदा प्रचण्डले अध्यक्ष पाउने कि नपाउने ? यो प्रश्न अहं बनेको छ र यही प्रश्नका कारण प्रचण्ड आत्मकेन्द्रित निर्णय गर्न बाध्य हुँदैछन् । उनलाई ईश्वर पोखरेलको मुनी राख्ने अध्यक्ष केपी ओलीको रणनीतिले औढाह छुटाइदिएको हुनुपर्छ ।
त्यसैले त प्रचण्डका मूलथाम नेताहरु अध्यक्ष पाइन्न भने एकीकरण पनि हुन्न भन्दै सत्ता र शक्तिको ४० प्रतिशत भाग खोजिरहेका छन्, रोजिरहेका छन् । वाममोर्चा बनाएर चुनाव जिते ओली र प्रचण्डले । अव एकीकरण गर्दा कसले जित्ने, कसले हार्ने प्रतिस्पर्धा गरिरहेका छन् ।
एमाले र माओवादी केन्द्रवीच कोल्ड वार नै चलेको छ । जनताको भरोस, जनताको अपेक्षालाई प्रचण्डले पूरा गरेर आफ्नो विश्वसनीयता बढाउने एउटा अर्को मौका गुम्दैछ । यसमा एमाले कारण होस्, नहोस्, प्रचण्डका लागि यो क्षण हुटहुटीको क्षण बनेको छ ।
अव के गर्छन् प्रचण्ड ? उनको निर्णय पार्टी एकीकरण हुन्छ कि ओलीका सामु समर्पण गर्छन् ? कि आफ्नो अस्तित्वका लागि अग्लो नेता बन्ने हिम्मत गरेर देश र जनताका लागि केही गर्ने अठोटका साथ प्रस्तुत हुन्छन् ?
प्रचण्डलाई खाने, लाउने, घुम्ने, सत्ता, सडक, पार्टी सबैतिरको प्यास मेटिसकेको छ । अव उनको इच्छाशक्ति भनेको कसरी अमर हुनसकिन्छ, कसरी नेपालमा खाँचो भएको राजनेताको परिपूर्ति गर्न सकिन्छ भन्नेतिर लाग्नुपर्ने हो ।
सधैं शक्ति र सत्ता दिनका लागि समयले पर्खदैन । समयले नेटो काट्न लागिसक्यो । यही समय हो उनले देशका लागि महान बन्ने अवसर । प्रचण्डले भाग खोज्ने कि देशको समुन्नति ? जनताको अपेक्षा पूरा गर्ने कि कार्यकर्ताको ? राजनेता बन्ने कि गुट चलाएर गल्लीको सान्चा पहलमानी देखाइरहने ?
एमालेले प्रचण्डको साइज देखाइसक्यो ।
प्रचण्डले आफ्नो साइज देखाउनका लागि एउटा गतिलो काम गर्ने हिम्मत गर्नुपर्छ । प्रचण्डका लागि अव के जित्नु छ र ? उनको एक निर्णयले उनको हारमात्र देखिनेछ ।
प्रचण्डले हार्नु भनेको उनको राजनीतिक जीवनको शून्यतामात्र हुनेछ, मलामी र आस्था बढाउने कि घटेको र घृणाको दोबाटोमा रहेको अस्तुलाई उग्रताको अवसर दिने ? अव फैसला प्रचण्ड स्वयम्को हातमा छ, प्रचण्ड प्रचण्ड हुने हो भने देशतिर हेर्नुपर्यो ।
माओले सांस्कृतिक क्रान्तिपछि घुँडा टेकेर जनतासँग माफी माँगेका थिए, माओ सानो भएनन्, उनको विचार अमर छ । प्रचण्डले आफूलाई पनि राष्ट्रिय नेता बनाउने हो भने सबैसँग माफी माँगेर जीवन राष्ट्रका नाममा गर्दा हुन्न ? लेखक सिग्देल बरिष्ठ अधिबक्ता हुनुहुन्छ ।