• २०७४ फाल्गुन ६

    धनगढी–प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट पद बहाली गरेको केही मिनेटमै सेती अञ्चल अस्पतालको आइसियुमा पुगे ।

    प्रहरी टुकडीको सलामी खाएर पदबहाली गर्दै गर्दा स्वस्थ र फुर्तिलो देखिएका मुख्यमन्त्री अचानक सेती अञ्चल अस्पतालतिर लागेको खबर फैलियो । मन्त्रीसँगै प्रदेश सचिव लक्ष्मीराम पौडेल पनि अस्पतालतिर दगुरे ।

    पदभार ग्रहण गरेको १० मिनेटभित्रमै कुनै गम्भीर रोगको उपचारका लागि मुख्यमन्त्री भट्ट अस्पतालको आकस्मिक कक्ष आइसियुमा पुगेका भने थिएनन् ।

    उनी त स्वास्थ्य जस्तो संबेदनशील विषयलाई सुधारको पहल थाल्ने भन्दै मन्त्रालयबाट १५ मिनेटको दुरीमा रहेको अञ्चल अस्पतालमा छड्के निरीक्षणका लागि पुगेका थिए ।

    अस्पताल निरीक्षणका क्रममा सुत्केरी बस्ने वार्डमा पुगेका मुख्यमन्त्री भट्टले उक्त वार्ड बिरामीमैत्री नभएको भन्दै मर्मत गर्न सुझाब दिए ।

    मन्त्रीसँगै हिडिरहेका सेती अञ्चल अस्पताल प्रमुख डा.सजन केसीलाई उनले सुत्केरी बस्ने वार्डको एकापट्टीको भाग खुला रहेको भन्दै उक्त भागलाई छेक्न निर्देशन दिए ।

    अस्पताल निरीक्षणका क्रममा दुबै मृगौला फेल भएर सिट नपाएका बिरामी तिलक भट्टका आफन्त गोपाल दत्त बढुले उनलाई उपचारको व्यवस्था मिलाइदिन आग्रह गरे । मुख्यमन्त्री भट्टले उनको कुरा सुन्दै आवश्यक पहल गर्न अस्पतालका प्रमुख डा.केसीलाई निर्देशन दिए ।

    सुत्केरी कक्षमा आफ्नी सुत्केरी देउरानीको हेरबिचार गर्न आएकी डिला पाण्डेले सुत्केरी कक्ष ब्यवस्थित नभएको गुनासो गरिन ।

    उनले सुत्केरी वार्ड खुल्ला भएकोले छेक्नुपर्ने भन्दै मुख्यमन्त्रीलाई राम्रो काम गर्न आग्रह गरिन् ।

    निरीक्षणको क्रममा अस्पतालको आइसियुमा पुगेका मुख्यमन्त्रीमा त्यहाँ अत्यावश्यक उपकरण भए नभएको बारेमा जानकारी लिए ।

    उनले आवश्यक पर्ने उपकरण खरिद गर्न र सरकारले बिरामीका लागि उपलब्ध गराएको निःशुल्क सबै औषधी बिरामीलाई वितरण गर्न पनि निर्देशन दिए ।

    आइसियु कक्षबाट अस्पताल प्रशासन पुगेर त्यहाँका चिकित्सकहरुसँग परिचय गर्दै मुख्यमन्त्री भट्टले राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र काममा लापरवाही गर्नेलाई दण्डित गर्ने स्पष्ट पारे ।

    अस्पतालका प्रमुख डा.सजन केसीले अस्पताल अस्पतालको क्षमता १ सय २५ सिट क्षमता भएपनि ३ सय सिट बनाएको र बिरामीको चाप बढेका बेला सेवा दिन अप्ठेरो रहेको बताए ।

    उनले अस्पतालमा भौतिक संरचना, उपकरण र जनशक्तिको अभाव रहेको बताँउदै हरेक बर्ष बिरामीको चाप दोब्बरले बढ्ने गरेको मुख्यमन्त्री भट्टलाई जानकारी गराए ।

     

    उनले जनशक्ति अभावमा ल्याबबाट रिपोर्टहरु ढिलो प्राप्त हुने भएकोले बिरामीले हैरानी पाउने गरेको बताए ।

    अस्पतालमा मुटुरोगको डाक्टरको दरबन्दी ३ बर्षअघि भएपनि अहिलेसम्म नभएको र मानसिक रोगको डाक्टर रिटायर्ड भएकोले सेवा दिन कठिन भएको पनि जानकारी दिए ।

    अस्पतालको नयाँ भवन बनाँउनका लागि टेन्डर प्रक्रिया अघि बढाएपनि काम शुरु हुन नसकेको पनि उनले मुख्यमन्त्री भट्टलाई जानकारी दिए ।

    मुख्यमन्त्री भट्टले कर्मचारीलाई पार्किङ व्यवस्थित गर्न, अस्पताल हातामा सरसफाई गर्न, सरकारले दिएका औषधी दिन कुनै कञ्जुस्याई नगर्न र सुत्केरीको वार्डलाई ब्यवस्थित बनाउन निर्देशन दिए । राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र दोषीलाई दण्डित गर्ने बताउँदै उनी अस्पताल हाताबाट बाहिरिए ।

    उनले यसरी नै हरेक निकायहरुमा नियमित ढंगले अनुगमनको कामलाई अगाडि बढाउने बताए ।

सम्वन्धित समाचार

मोरङ । निर्माणाधिन एसियाली हाइवे मोरङको पथरीशनिश्चरे स्थित पथरी बजारमा साँगुरिने शंका भएपछि स्थानीय चना…

मोरङ । पहिचान पक्षधरहरुको एकीकृत शक्ति र भविश्यमा पार्टी निर्माण गर्ने उदेश्यले छलफल सुरु हुनुको साथै संयो…

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरी शनिश्चरे १ को वडा कार्यालयले नजिकिँदै गरेका दशैं सहितका विभ…

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरीमा बुधबार जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पथरीको संयुक्…