काठमाडौं, ८ फागुन । फागुन ७ गते राष्ट्रपति, प्रधानमन्त्रीले शुभकामना सन्देश दिए, सैनिक मञ्च पुगे, सिपाही र स्कूले बालबालिकाको परेट, खेल हेरेर प्रजातन्त्र दिवस मनाइयो ।
सेना र प्रहरीका कारणले प्रजातन्त्र दिवसमा अलिकति मान्छेको सहभागिता देखिए पनि आमनागरिकले प्रजातन्त्र दिवसप्रति कुनै सरोकार नै राखेनन् ।
सत्ताधारीहरु सैनिक मञ्चमा पुगेर परेवा उडाएर प्रजातन्त्रको झल्को दिन खोजे पनि भूकम्प, बाढीपहिरो पीडितले राहत नपाएकाले प्रजातन्त्र दिवस देखावटीमा सिमित भयो ।
हुन त २०६३ सालको जनआन्दोलनपछि प्रजातन्त्र दिवस होस कि लोकतन्त्रको नाम उच्चारण गरियोस्, वा संविधान दिवस, टुँडिखेलमा स्कूल बालबालिका, सेना, प्रहरीको मार्च र पैसा दिएर ल्याएका सांस्कृतिक झाँकी सत्ताधारीले हेरेर मनाउने गरिएको छ । यसवर्ष पनि प्रजातन्त्र कर्मकाण्डीभन्दा भिन्न हुनसकेन ।