• २०६९ सालबाट माओवादी शक्तिको विभाजन सुरु भयो । विभाजनसँगै माओवादी नेताहरुको राजनीतिक ‘लाइन’मा पनि निरन्तर परिवर्तन आउन थाल्यो । पार्टी ‘लाइन’ नेताहरुको राजनीतिक जीवनमा पनि महत्वपूर्ण र निर्णायक हुने गर्छ । माओवादी नेता इन्द्रबहादुर आङ्बो ‘मौसम’को हकमा पनि लाइनले ठूलो बद्लाव ल्याइदियो ।

    मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीबाट अलग भई नेत्रविक्रम चन्द ‘विप्लब’को नेतृत्वमा २०७१ सालमा नयाँ पार्टी गठन हुनै लाग्दा आङ्बो विप्लबका प्रिय पात्र थिए । तर, प¥याप्त छलफल नगरी बिप्लबले पार्टी विभाजन गरेको भन्दै आङ्बो वैद्य नेतृत्वकै पार्टीमा रहे । विप्लबको विभाजनपछि पाँचथरमा आयोजित कार्यकर्ता प्रशिक्षणमा नेता सीपी गजुरेल र हितमान शाक्यकै अघि उनले विप्लबको लाइन ठीक भएपनि पद्धति ठीक नभएको टिप्पणी गरेका थिए ।

    सोही समयबाट उनले वैद्य नेतृत्वको माओवादीमा रहेका युवाहरुलाई सङ्गठित गरेर माओवादी शक्तिहरुको एकताको बहस प्रारम्भ गरे । यसको अगुवाई उनै शाक्यले गरे । नभन्दै पछि १० माओवादी घटकहरुको एकता सम्भव भयो । एकताको वहसले नै उनी नेता रामबहादुर थापा ‘बादल’को नजिक बन्न पुगे ।

    ‘फौजी राजनीतिक कार्यदिशा’को पक्षमा रहेका आङ्वो २०७१ सालपछि ‘शान्तिपूर्ण राजनीति’को कार्यदिशामा फर्किए । शान्तिपूर्ण राजनीतिबाटै क्रान्ति सम्भव छ भन्ने उनी लगायतको निश्कर्ष थियो । त्यसपछि आङ्बोले पार्टी हैसियत र राजनीतिमा यति ठूलो फड्को मारे की नयाँ लाइनमा सक्रिय भएको ३ वर्षमा उनी प्रदेश सरकारको महत्वपूर्ण मन्त्रि बन्न सफल भए, जनताबाट निर्वाचित हुने अवसर पाए ।

    माओवादी राजनीतिमा निक्कै परिपक्व पात्र मानिने आङ्बोले राजनीतिक यात्रामा यत्ति ठूलो छलाङ मार्छन् भन्ने धेरैको अनुमान समेत थिएन् । तर, उनी असम्भव जस्तै लाग्ने छलाङ मार्न सफल देखिएका छन् ।

    आङ्बो हालैमात्र प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्रि बन्न सफल भए, त्यो पनि पार्टीको तर्फबाट सरकारमा नेतृत्व गर्दै । आम नागरिकको अभिलाषा तिब्र आर्थिक विकास होस् भन्ने छ । आङ्बो प्रदेश १ मा अर्थ मन्त्रि बनेर समृद्धिको यात्रामा योगदान दिने वताउँछन् । मुलुक जुन कोर्षमा अघि बढ्ने चर्चा छ, उनले त्यसै अभियानको अगुवा बन्ने अवसर पाएका छन् ।

    २०५६ सालमा विद्यार्थी राजनीतिमा सङ्गठित उनी २०५७ मा अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष भए । २०५९ मा पार्टीकै जिल्ला सचिव भए । केही समय पार्टीमा काम गरेपछि उनी सेनामा पुगे । ३ वर्षे विद्रोही सैनिक जीवनमा उनी विग्रेड कमिसार भए । पूर्व जनमुक्ति सेनाहरु भन्छन् “उनी जनमुक्ति सेनामै रहेका भए डिभिजन कमाण्डर बन्न सक्थे ।”

    २०६२ पछि उनी पुनः पार्टी राजनीतिमा फर्किए । सुरुमा उनी अञ्चल व्यूरो, वाइसिएलको संस्थापक केन्द्रीय सचिवालय सदस्य हुँदै पूर्वी पहाडका ५ जिल्ला (ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम र धनकुटा)लाई जोड्ने लिम्बुवान राज्य समितिको सहसचिव बने ।

    भनिन्छः विचार र दृष्टिकोण राख्नसक्ने तथा आम कार्यकर्तालाई नेतृत्व गर्न सक्ने नेतालाई पद सानो/ठूलो हुनुले ठूलो अन्तर राख्दैन् । आङ्बोको हकमा पनि यही कुरा लागू भइदियो । २०६९ सालमा मोहन वैद्यको नेतृत्वमा नयाँ पार्टी बन्दा आङ्बो एक जनामात्रै व्यक्ति नयाँ केन्द्रीय सदस्य थपिए । अरु सबै एकीकृत माओवादीकै केन्द्रीय सदस्य थिए ।

    उक्त पार्टीले पनि १४ प्रदेशको खाका अनुसार संगठन बनाएको थियो । अन्य प्रदेशमा पोलिटव्युरो सदस्यले प्रदेशको नेतृत्व गर्दा ‘लिम्बुवान’मा आङ्बो केन्द्रीय सदस्य भएपनि इन्चार्ज थिए । पछि उक्त पार्टीमा केन्द्रीय सदस्यहरु थपिए । केन्द्रीय समिति विस्तारपछि आङ्बो पोलिटव्युरोमा पुगे । त्यहाँ पु¥याउनुपर्ने बाध्यता नेतृत्वसामू थियो ।

    १० माओवादी घटकको एकतापछि उनी माओवादी केन्द्रको संस्थापक केन्द्रीय सचिवालय सदस्य बने । सुरुमा ६६ सदस्यीय उक्त समिति अहिले ९९ सदस्यीय छ । प्रष्टसँग आफ्नो कुरा राख्नसक्ने, पृथक दृष्टिकोण र विचार राख्ने र शीर्ष नेताहरुलाई नै प्रभावित पार्ने क्षमता आङ्बोमा छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा माओवादीबाट आङ्बो मुख्यमन्त्रीको दाबेदारका रुपमा चुनाव लड्दैछन् भन्दा धेरैले विश्वास गरेनन् ।

    उनी समयलाई पछ्याउन सक्छन् । बाम गठबन्धन निर्माणअघि नै उनले प्रत्यक्ष चुनाव लड्ने घोषणा गरेका थिए । यसले प्रदेशका अरु नेतालाई उनकै नेतृत्वमा सरकारमा पनि जानुपर्छ भन्न बाध्य पा¥यो । प्रदेश इन्चार्ज गोपाल किराँती र संयोजक सावित्रीकुमार काफ्ले ‘समर’ चुनाव लडेनन् ।

    आङ्बोभन्दा सिनियर मानिएका सुरेशकुमार राई प्रतिनिधि सभाको उम्मेद्वार भएभने गठबन्धन निर्माणअघि नेता टंक आङ्बोहाङले समानुपातिकमा बस्ने चाहना राखे । आङ्बोले यहीबेला वुद्धि पु¥याए । गठबन्धन निर्माणपछि पनि उनले टिकट पाए, कठीन मानिएको क्षेत्रमा ४७९१ मतान्तरले विजयी भए । र, माओवादीबाट नेतृत्व गर्दै प्रदेश सरकारमा पुगे ।

    २०३९ सालमा पाँचथरको नांगीनमा जन्मेका आङ्बो राजनीतिमा अक्सर नेताहरु भन्दा सफल देखिन्छन् । उनी जहाँ–जहाँ पुगे, त्यहाँ सफल भएरै छाडे । जसरी विद्रोही सेनामा रहँदा ठूल्ठुला आक्रमणको अगुवाई गर्न सके त्यसरी नै उनी शान्तिपूर्ण राजनीतिको मार्गमा जनताबाट अनुमोदित हुन सफल भए ।

    पाँचथर क्षेत्र नं. ख बाट प्रदेश सभा सदस्य चुनिएका आङ्बोले प्रदेश सरकारको मन्त्रि भएपछि पहिलो निर्णयमै आफू निर्वाचित क्षेत्रमा पर्ने साविक आङसराङ गाविसको मेहेलबोटेमा नमूना बस्ती निर्माण गर्ने निर्णय गराए । मेहेलबोट त्यही स्थान हो जहाँ आङ्बो नै कमाण्डर भएको इलाम आक्रमणबाट फर्केर उपचार गराइरहेका माओवादीका ११ नेता कार्यकर्तालाई तत्कालीन शाही सेनाले गोली हानी हत्या गरेको थियो ।

    यतिबेला भने लाइन र गुट परिर्वतनका कारण आङ्बोको आलोचना समेत सुरु भएको छ । विशेषतः एमालेसँग पार्टी एकताको विपक्षमा रहेका प्रदेश इन्चार्ज गोपाल किराँतीको पक्षमा लागेको भन्दै उनी निकट पूर्वका नेताहरु समेत रुष्ट देखिएका छन् ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…