• केराबारी ।  मोरङको केराबारीस्थित एउटा बिहे घरमा शनिबार बिहान मच्चाइएको आक्रमण र लुटपाटको घटनामा बेहुलीका बुवासहित चार जना घाइते भएका छन् । 


    केराबारी गाउँपालिका–७ नर्कटेमा गुण्डागर्दी गर्ने समूहले मदिरा सेवन गरेर साङ्घातिक हमला गरेको हो । स्थानीय भगीमान लिम्बूको घरमा आक्रमण गर्दै १०÷१५ जनाको समूह बिहे घरबाट पैसा र सुनचाँदीका गरगहना लुटेर फरार भएको छ । भगीमानकी छोरी २३ वर्षीया सम्झना लिम्बू र नुवाकोट घर भएका सुदीप राईबीच बिहेको कार्यक्रम समापन भइसकेर सबै जना सुतिसकेपछि आएको समूहले एक्कासि आक्रमण गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । उनका अनुसार आक्रमणबाट बेहुलीका बुवा ५९ वर्षीय भागीमान, दिदी ३० वर्षीया सविना लिम्बू ९राई०, कान्छा मामा केराबारी–९ का ४५ वर्षीय भगत याक्खा र बिहेमा बेहुलातर्फबाट जन्ती आएका भोजपुरको भोजपुर नगरपालिका–७ का ३३ वर्षीय रमेश राई घाइते भएका छन् ।


    सबैको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये बेहुलीका बुवा भागीमान र मामा भगतको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको टाउको, खुट्टा, हात, अनुहार लगायत शरीरका विभिन्न भागमा गहिरो चोट रहेको एसपी खड्काले बताए । खुकरी प्रहार गरिएका भागीमानको टाउकोमा १३ टाँका लगाइएको छ । दायाँतर्फको करङबाट भालाले रोपिएका भगतको फोक्सोमा पनि चोट लागेको उपचारमा संलग्नले चिकित्सकले बताएको प्रहरीको भनाइ छ । बेहुली, बेहुला लगायत बिहे घरमा रहेका अरु भने भागेर आक्रमणबाट बचेका छन् ।


    बिहे सकिएकाले बेहुलीका घरका सबै जना र जन्ती आएकाहरु साउण्ड सिस्टम बन्द गरेर सुतिसकेका थिए । मादक पदार्थ सेवन गरेर शुक्रबार राति १० बजेतिर आएको एउटा समूहले सुरुमा विवाद गरेको थियो । बिहेमा साउण्ड सिस्टम बजाएर नाचगान गर्न पाउनुपर्ने माग राख्दै विवाद हुन थालेपछि उनीहरुलाई सम्झाईबुझाई गरेर घरतिर पठाइएको थियो । फेरि एक घण्टापछि त्यही समूह आएर होल्ला गर्न थाल्यो । वडा अध्यक्ष नारायणप्रसाद चेम्जोङ लिम्बूका अनुसार बिहे घरमा झैझगडा हुन लागेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय केराबारीको टोली पनि घटनास्थलमा आइपुग्यो । त्यसपछि होहल्ला गर्नेहरु फरार बने । निक्कै बेर खोजी गर्दा पनि त्यो समूहलाई फेला पार्न नसकेपछि र बिहे घर शान्त बनेपछि प्रहरी टोली फर्किएको वडा अध्यक्ष लिम्बूको भनाइ   छ ।
    तर त्यसको केही बेरमै शनिबार बिहान ३ बजेतिर आएर बिहे घरमा आक्रमण गर्दै त्यही समूहले आतंक मच्चाँएको उनको भनाइ छ । घटनाको प्रकृति हेर्दा कुनै पुरानो रिसईबी भएर आक्रमण गरेजस्तो देखिने प्रहरीको भनाइ छ । तर बेहुलीका आफन्तले भने उनीहरुसँग कुनै रिसईबी नभएको बताएका छन् । सुरुमा ढुंगामुडा गर्दै पुगेको समूहले घरेलु हतियार खुकुरी, भाला, रड, दाउरा लगायतले आक्रमण गर्न थालेको एसपी खड्काले बताए । उनीहरु पुग्दा बिहेको कार्यक्रम समापन भएर बिहे घरमा बेहुला–बेहुलीसहित सबै जना सुतिसकेका थिए । पछाडिबाट घरको बरण्डामा चढेका उनीहरुले खुकुरीले हानेर घरको झ्याल र ढोका काट्दै सुतिसकेकालाई उठाएर आक्रमण सुरु गरेको पाइएको खड्काको भनाइ  छ ।
    उनीहरुले सुतिरहेकाहरुलाई उठाउँदै खुकुरी प्रहार गरेर भालाले शरीरका विभिन्न भागमा रोप्न थालेको एसपी खड्काको भनाइ छ । आक्रमणपछि बिहे घरमा भागदौड मच्चिएको थियो । घरमा बसेकाहरु ज्यान बचाउनलाई चिच्याउँदै र आत्तिदै अँध्यारोमा भागेका थिए ।भागीमानका ज्वाई कमल राईले भागेर ज्यान नबचाएको भए घटनामा अझै ठूलो क्षति बेहोर्नुपर्ने अवस्था आउने बताए । ‘होहल्ला गर्दै ढुंगामुडा हुन थालेपछि सुरुमा रोक्ने प्रयास गरियो । तर आक्रमणकारीले खुकुरी र भाला लगायतका हतियार प्रहार गर्न थाले,’ उनले भने, ‘डरले घरभित्र सुतिरहेका महिला र बालबालिका चिच्याउन र कराउन थाले । ज्यान बचाउँदै अली पर पुगेर प्रहरीलाई फोन गर्न भ्याएका कारण आक्रमणकारीले अरु थप क्षति गर्न पाएनन् ।’ राईले ज्यानै लिने हिसाबमा अन्धाधुन्ध र अकल्पनीय हिसाबले साङ्घातिक हमला गरिएको बताए ।
    घटनाका बारेमा थाहा पाएर प्रहरी टोली आएको सुनेपछि आक्रमणकारी बिहे घरबाट फरार बनेका कारण पनि थप क्षति हुन नपाएको बताइको छ । बिहेमा बेहुलीको नाममा जम्मा भएको दुई लाख ३५ हजार पाँच सय ४० रुपैयाँ नगद र बेहुलीले लगाएका सुनचाँदीका गरगहना लुटपाट गरेर त्यो समूह भागेको प्रहरीले जनाएको छ । बिहे सकिएपछि बेहुलीले राखेको ठाउँबाट पाँच तोलाजति सुन र चाँदीका विभिन्न गहना तथा नगद लुटेर आक्रमणकारी फरार बनेको एसपी खड्काले बताए । उनका अनुसार छ लाखभन्दा बढीको लुटपाट भएको छ ।
    आक्रमणमा केराबारी–७ का २८ वर्षीय मुस्कान चेम्जोङ लिम्बू, २५ वर्षीय निशान चेम्जोङ लिम्बू, ३० वर्षीय विश्वास लिम्बू, केराबारी–८ का २२ वर्षीय भाइराजा लिम्बू लगायतको संलग्नता रहेको जानकारी प्रहरीले दिएको छ । मुस्कान र निशान एउटै परिवारका दाजु–भाइ हुन् । उक्त समूहले लागुऔषध पनि सेवन गरेको हुनसक्ने प्रहरीको आशंका छ । आक्रमणकारी गाउँघरमा दादागिरी र गुण्डागर्दीमार्फत सर्वसाधारणमा आतंक खडा गर्ने समूह रहेको पाइएको एसपी खड्काले बताए । घटनापछि आक्रमणमा संलग्न फरार रहेका कारण खोजी तीव्र पारिएको जानकारी उनले दिए ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…