• विराटनगर ।  मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा जोडिएका सबै प्रतिवादीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
    घटनामा प्रतिवादी बनाउँदै छ जनाविरुद्ध जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो । घटनाका मुख्य अभियुक्त झापाको दमक नगरपालिका–१० का ३३ वर्षीय राजेश रणपहेली पछिल्लो पटक पक्राउ परेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । खड्काका अनुसार फरार रहेका उनलाई बुटवलबाट पक्राउ गरेर शनिबार मोरङ ल्याइएको हो ।
    रणपहेलीलाई आइतबार जिल्ला सरकारी वकिल कार्यालय मोरङमार्फत अदालतमा पेस गरिने उनले बताए । घटनाका अर्का अभियुक्त झापा बैगुनधुराका ३१ वर्षीय दिपेश पौडेल यसअघि नै पक्राउ परिसकेको पाइएको छ । बास्तोलाको मृत्यु प्रकरण पेचिलो बनिरहेका बेला उनलाई भने मोटरसाइकल चोरी गरेको घटनामा झापा प्रहरीले पक्राउ गरेर कारबाही अघि बढाउन अनुसन्धान गरिरहेको पुष्टि भएको छ ।
    दुई साताअघि नै पक्राउ गरेर पौडेलविरुद्ध चोरी मुद्दामा अनुसन्धान भइरहेको जानकारी झापा प्रहरीले दिएको छ । चोरी मुद्दामा अनुसन्धान सकिएपछि बास्तोला मृत्यु प्रकरणमा कारबाही अघि बढाउन उनलाई मोरङ प्रहरीको जिम्मा लगाइने भएको छ । फरार रहेको भन्दै रणपहेली र पौडेलको खोजी यसअघि मोरङ प्रहरीले गरिरहेको थियो ।
    घटनाका आरोपीमध्ये कानेपोखरी गाउँपालिका–७ रमाइलो घर भई उर्लाबारीमा बस्दै आएका १९ वर्षीय सुदीप परियार, मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जी, उर्लाबारी–९ का ३४ वर्षीय कुमार राई र उर्लाबारी–६ का ६० वर्षीय रमेश गिरी यसअघि नै पक्राउ परिसकेका छन् ।
    उनीहरुमध्ये राई र गिरी अदालतले मागेको धरौटी रकम बुझाएर छुटिसकेका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले राईसँग तीन लाख र गिरीसँग एक लाख रुपैयाँ धरौटी माग गरेको थियो । न्यायाधीश लामिछानेकै इजलासले परियार र दर्जीलाई भने पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । आदेश अनुसार दुवै जना यसअघि नै कारागार चलान भइसकेको अदालतका स्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए ।
    उर्लाबारी–६ स्थित गिरीको घरमा डेरा बस्ने साथीहरुको कोठामा अघिल्लो रात सुत्न गएका बास्तोलाको गत पुस ५ गते शंकास्पद मृत्यु भएको थियो । परिवारका सदस्यले उनको शव उर्लाबारीस्थित गोदावरी अस्पतालमा पाएका थिए । सुतेकै ठाउँमा बेहोस अवस्थामा भेटिएकाले उपचारका लागि पु¥याएपछि बास्तोलाको मृत्यु भएको दाबी गरिएको थियो । परिवारका सदस्यले भने हत्या भएको भन्दै छ जनाविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले घटनालाई कर्तव्य ज्यान मुद्दाका रुपमा अनुसन्धान अघि बढायो ।
    रणपहेली प्रतिवादीमध्ये परियारका आफ्नै ठूलो ममिका छोरा ९दाजु० हुन् । प्रहरीका अनुसार दर्जी, परियार र पौडेल गिरीको घरमा डेरा बस्थे । आफूसँगै पढेका र अत्यन्तै मिल्ने साथी बास्तोलालाई लिएर रणपहेली पुस ४ मा त्यहाँ पाहुना गएको प्रहरीको भनाइ छ । कोठामा पुग्नुअघि खानपिन गर्ने क्रममा शौरभ होटलका सञ्चालक राईसँग विवाद भएको देखिएपछि मुद्दामा उनलाई पनि प्रतिवादी बनाइएको एसपी खड्काको भनाइ छ । होटलमा खानपिनपछि साथीको डेरामा पुगेर सबै एउटै कोठामा सुतेकामध्ये बास्तोलाको भने शंकास्पद मृत्यु भएको अवस्थामा शव भेटिएको हो ।
    उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको टोलीले कर्तव्य ज्यान मुद्दामा पहिलो पटक अनुसन्धान सक्दा पोस्टमार्टम रिपोर्टबाट मृत्युको कारण खुल्न सकेको थिएन । तर पनि प्रहरीले छ जनालाई अभियुक्त बनाउँदै मुद्दा दर्ताका लागि मिसिल ९अनुसन्धान प्रतिवेदन० सरकारी वकिल कार्यालयमा बुझायो ।
    तर वकिल कार्यालयले आवश्यक प्रमाण नपुगेको भन्दै गत माघ २ गते सबैलाई हाजिर जमानीमा छाडेर घटनाको थप अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दियो । त्यसपछि प्रहरी भिसेरा परीक्षण रिपोर्टको पर्खाइमा रहयो । रिपोर्ट प्राप्त हुनसाथ फागुन २ गते प्रहरीले बुझाए पनि वकिल कार्यालयले अझै थप प्रमाण जुटाउन निर्देशन दिएर दोस्रो पटकसमेत अदालतमा मुद्दा दर्ता गरेन ।
    मृतकका आफन्तले मुद्दा दर्ता नहुनुको कारण खोजी गरे । त्यस क्रममा प्रहरीमा रहेको कपि मिसिलमा अर्कै व्यक्तिको फोटो भेटिएको भन्दै मृतकका परिवारका सदस्य र आफन्त अघिल्लो दुई साताअघि आन्दोलित बने । यता वकिल कार्यालय र अदालतमा रहेको सक्कली मिसिलमा भने मृतककै फोटो रहेको पाइएको छ ।
    प्रहरीले भुलवश कपि मिसलमा अर्कैैको फोटो परे पनि गम्भीर ढङ्गले घटनाको अनुसन्धान गरिएका कारण कुनै लापरबाही नभएको प्रष्टिकरण पत्रकार सम्मेलन गरेरै दिनु प¥यो । त्यतिबेलासम्ममा घटनालाई कमजोर बनाएर दोषीलाई उन्मुक्ती दिन खोजिएको भन्दै सुरु भएको आन्दोलन निक्कै भाइरल बनिसकेको थियो । मृतक बास्तोलाकी बहिनी सदीक्षाले घटनालाई ढाकछोप गर्न लागि परेको भन्दै प्रहरीविरुद्ध गालीगलौज र चर्को विरोध गरेर सामाजिक सञ्जालमार्फत लाइभ नै गरिन् ।
    एसपी खड्काका अनुसार मृतकको भिसेरा परीक्षण रिपोर्टले ‘भ्वाइलेन्ट एपेक्सिया’ भनेका कारण श्वासप्रश्वास अवरुद्ध बनाएर प्रवीणको हत्या गरिएको निस्कर्ष निकालिएको छ । मुद्दामा आवश्यक पर्ने सबै प्रमाण संकलन गरेर मिहिन ढङ्गले अनुसन्धान गरिएका कारण यस घटनामा प्रहरीको कुनै कमजोरी एवं लापरबाही नरहेको जानकारी खड्काले दिए ।
    ‘मिसिल दुई पटकसम्म बुझाउँदा पनि मुद्दा दर्ता नहुनु प्रहरीको लापरबाही र कमजोरी हैन । प्रहरी अनुसन्धान गर्ने निकाय मात्रै भएकाले मुद्दा दर्ता वकिल कार्यालयले गर्ने हो,’ प्रहरी स्रोतले भन्यो, ‘अनुसन्धानलाई थप मजबुत बनाउन वकिल कार्यालयले निर्देशन दिनु पनि गलत हैन । तर दोषीलाई उन्मुक्ती दिन खोजिएको आरोप लगाएर आन्दोलन गर्ने नाममा घटनालाई अतिरञ्जीत गर्दै प्रहरीको अनुसन्धानलाई कमजोर पुष्टि गराउने प्रयत्न भयो ।’ स्रोतका अनुसार त्यतिबेलै मुद्दा दर्ता भइदिएको भए अदालतबाट एउटा निस्कर्ष आएर यत्रो ठूलो आन्दोलन बेहोर्नुपर्ने अवस्था आउँदैन थियो ।प्रहरीले घटनाका सबै प्रतिवादीलाई नियन्त्रणमा लिइसकिएको जनाएको छ ।
     

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…