• काठमाडौं । हिजोआज हरेक मान्छेको दैनिकी व्यस्त छ तनाव पनि उतिकै । जसले गर्दा मानिसहरुमा अनिन्द्राको समस्या देखा पर्दै गइरहेको छ । जो कोहीलाई भोलिको चिन्ता छ यहाँ । जसले गर्दा हामीलाई दैनिक रुपमा अल्छी, अनिद्रा र थकानले सताइरहेको हुन्छ ।

    दिनभरी चलायमान भएको शरीर रातमा आराम गरेर भोलिपल्ट फेरि सक्रिय हुन्छ, यसको लागि मानिस निदाउन जरुरी छ । एक स्वस्थ मानिस हुनलाई कम्तीमा ६ देखि ८ घण्टा निदाउनु पर्छ। शरीरलाई ताजा, फुर्तिलो, तन्दुरुस्त र स्वस्थ्य राख्न निन्द्रा अपरिहार्य छ । निद्राले हाम्रो शरीर र मस्तिष्कलाई विश्राम दिन्छ ।

    तर कतिपय मानिसलाई निन्द्रा नलाग्ने समस्या हुन्छ। सुत्ने समयमा निन्द्रा नपर्नु, निन्द्रा परेपनि राति बिउँझनु र फेरि सुत्न नसक्नु, बिहान अति चाँडै आँखा खुल्नु अनिन्द्राको लक्षण हुन्। हुन त उमेरले ३० नाघेपछि अनिन्द्राको समस्या हुन्छ भन्ने डाक्टरहरु बताउँछन्। अनिन्द्रा भयानक समस्या हो जो अनेक रोगको कारण बन्छ । खासगरी अनिन्द्राको कारण मधुमेह, उच्च रक्तचापदेखि तौल बढ्नेसम्मको खतरा हुनेछ ।

    अनिद्राका कारण शरीरमा कर्टिसोल हर्मोनको उत्पादनमा वृद्धि हुन्छ । जसले शरीरमा चिनीको मात्रा बढाउने काम गर्छ । त्यसैले राम्रोसँग निद्रा नपर्ने व्यक्ति मधुमेहको जोखिममा हुन्छन् ।

    अनिद्राका कारण उच्च रक्तचापको समस्या पनि हुन सक्छ । अनिद्राको समस्या निरन्तर रहिरहे मुटुसम्बन्धि रोगको खतरा पनि बढेर जान्छ ।

    अनिद्राका कारण सम्झने शक्तिमा कमी आउनुका साथै मानसिक अस्थिरतासमेत निम्त्याउँछ ।

    अनिद्राले गर्दा बिहान उठ्दा स्फूर्तिको अनुभूति नहुने, दिनमा निद्रा लाग्ने, काममा मन नजानेलगायत समस्या हुन्छ ।

    अनिद्रा र यसबाट उत्पन्न हुन सक्ने सबै प्रकारका शारीरिक तथा मानसिक समस्याबाट बच्नका लागि व्यवस्थित जीवनशैली अवलम्बन गर्नुपर्छ ।

    कसरी पाउने गहिरो निन्द्रा ?

    – गहिरो निन्द्राका लागि शारीरिक गतिविधिलाई बढाउनुहोस् । घरको काम गर्ने, हिँड्ने, खेल्ने, व्यायाम गर्ने जस्ता कामहरु गर्नुहोस् ।

    – सुत्ने समय निश्चित गर्नुहोस् । सुत्नुअघि हल्का व्यायाम गर्नुहोस् ।

    – बिहान चाँडै उठ्ने र मर्निङवाकमा निस्कने गर्नुहोस् ।

    – गहिरो निद्राका लागि ओछ्यान आरामदायक हुनुपर्छ । मध्यम श्रेणीको मुलायम बिछ्यौनामा सुत्नुपर्छ । धेरै मुलायम बिछ्यौनामा कम्मर एवम् ढाड दुख्ने समस्या हुनसक्छ । धेरै मुलायम र धेरै कडा बिछ्यौना मेरुदण्डका लागि पनि उपयोगी हुँदैन ।

    – सिरानी धेरै अग्लो वा होंचो हुनु हुँदैन । केवल चौडा सिरानी प्रयोग गर्नुपर्छ ।

    – सम्भव भएसम्म खुट्टाको भागलाई थोरै उँचो बनाउनुहोस् ।

    – सुत्नासाथ निद्रा लाग्दैन भने केही पढ्ने अभ्यास गर्नुहोस्, मधुर संगीत सुन्नुहोस् ।

    – मन र मस्तिष्कलाई शान्त र एकाग्र बनाउने अभ्यास गर्नुहोस् । गहिरो सास लिने र छाड्ने प्रक्रिया दोहोर्‍याउनुहोस् ।

    सुत्ने कोठामा टेलिभिजन, कम्प्युटर, मोबाइल आदि नराख्नुहोस् ।

    – सुत्नुअघि धेरै पानी पिउनु हुन्न । पटक–पटक पिसाब लाग्ने भएकाले निद्रा बिथोलिन्छ ।

    – सुत्ने समयमा चिया, कफी, मादक पदार्थ सेवन नगरौं ।

    – धेरै शारीरिक मिहिनेत र कम तनाव नै गहिरो निद्राको अचुक प्राकृतिक तरिका हो ।

    (एजेन्सी)

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…