• विराटनगर ।  विराटनगरको नोबेल मेडिकल टिचिङ हस्पिटलमा चिकित्सकको लापरवाहीका कारण शिशुको मृत्यु भएको भन्दै आफन्त प्रदर्शनमा उत्रिएका छन् । 

    बिहीबार मध्याह्न डेलिभरीपछि आइसियुमा राखेर उपचार भइरहेको अवस्थामा शिशुको मृत्यु भएपछि आफन्तले हिजोदेखि नै नाराबारी जारी राखेका छन् । आज अस्पतालको ओपिडी सेवा बन्द गर्ने चेतावनीसहित आफन्त प्रदर्शनमा उत्रिएका हुन् । नोबेलकै प्रसूति विभागका चिकित्सकहरूले सुनसरीको इटहरी–१ आँपगाछीकी २६ वर्षीया सरीता श्रेष्ठको चैत २२ गतेको डेलिभरी डेट तय गरेका थिए ।

    फोनमार्फत परामर्श लिँदा नोबेलका डाक्टरहरूले २४ गते भर्ना हुन भनेका थिए । डाक्टरकै सुझावअनुसार उनका पति मनिष प्रधान र आफन्तले सरीतालाई सामान्य रूपमा नै २४ गते नै नोबेल भर्ना गरेका थिए । अस्पताल भर्ना भएको भोलिपल्ट साँझ साढे पाँच बजेबाट डाक्टर सीता घिमिरेको टिमले भ्याकुमको सहायतामा सरीताको डेलिभरी गर्ने प्रक्रिया सुरु गरेको थियो ।

    तर लगातार प्रयास जारी राख्दा पनि बच्चा जन्मिन सकेन । त्यसपछि आफन्तले यो विधिबाट नभए शल्यक्रिया नै गरौँ भन्ने निधो गरेर डाक्टरसँग सल्लाह लियो । ‘हामीले डाक्टरलाई भ्याकुमले भएन अब नर्मल हुन नसकेपछि शल्यक्रिया गरौँ भनेर सल्लाह लिएका थियौँ’, मनिषका बुबा टीकारामले भने, ‘तर उहाँहरूले भ्याकुमले नै नर्मल हुन्छ भन्दै प्रयास गर्नुभयो । पाँच पटकको प्रयासमा बच्चा त जन्मियो । तर टाउकोमा प्वाल परेछ ।’

    २६ गते बिहान साढे ११ बजेतिर बच्चा जन्मिएको थियो । आमा लगायत आफन्तको इच्छाविपरीता भ्याकुमले तान्दा शिशुको टाउकोमा प्वाल परेको थियो । र, सबै रगत सोहोरिएका कारण बच्चालाई आइसियुमा राख्न लगियो । तर आधा घण्टापछि डाक्टरले बच्चाको मृत्यु भइसकेको जनाएपछि आफन्त उपचारमा संलग्न चिकित्सक र अस्पताल प्रशासनविरुद्ध नाराबाजीमा उत्रिएको हो । बच्चा निकाल्दा टाउकोमा र छातीमा बाहिरै देखिनेगरी गरिको गहिरो चोट देखिएपछि आफन्तले उपचारमा संलग्न चिकित्सक टोलिमाथि प्रश्न उठाएका थिए ।

    बिहीबार मध्याह्नदेखि नै प्रदर्शनमा उत्रिएको बताउँदै टीकारामले आज ओपिडी सेवा नै बन्द गर्नेगरी प्रदर्शन गर्न लागेको बताए । सरीताका ससूरा टीकाराम भन्छन्, ‘पहिलेको सबै रिपोर्ट नर्मल थियो । डाक्टरले नर्मल नै हुन्छ भनेका कारण ढुक्क थियौँ । तर सिकारुको फेला परेका कारण शिशुको मृत्यु भएको हो । हिजोदेखि नाराबाजी गरिरहेका छौँ । आज पनि गाउँका केही मानिस भेला गरेर प्रदर्शन गर्छौँ ।’

    यता, नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले आफू कार्यालयबाहिर रहेका यसबारेमा जानकारी नपाएको बताए । कार्यालय पुगेपछि यसबारे जानकारी लिने उनको भनाइ छ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…