• ढोरपाटन, २ चैत  
     कच्ची पहाडी बाटोको लामो सकसपूर्ण यात्रा, त्यो पनि खोला र जङ्गल छिचोल्दै पुग्नुपर्ने गन्तव्य । जहाँ नपुग्दासम्म मन आत्तिने तर पुगिसकेपछि सोही स्थानमा रमाइरहन मन लाग्छ । ढोरपाटन त्यही आकर्षक गन्तव्य हो । यहाँ आन्तरिक र बाह्य पर्यटक मात्र होइन, विश्वका सौखिन सिकारी पनि नाउर र झारलको सिकार खेल्न आइपुग्छन् । पश्चिम नेपालमा धौलागिरि हिमशृङ्लाभित्र पर्ने ढोरपाटन समुन्द्री सतहबाट दुई हजार आठ सय ५० मिटरदेखि पाँच हजार ५०० मिटर उचाइमा अवस्थित छ । 

        सिकार आरक्षको केन्द्र रहेको ढोरपाटन बागलुङको मुख्य पर्यटकीय गन्तव्य हो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण ढोरपाटन पूर्वाधारका हिसाबले पछाडि छ । ढोरपाटन सिकार आरक्षको स्थापना विसं २०४० मा भए पनि विसं २०४४ मात्र सरकारी मान्यता प्राप्त गरेको थियो । त्यसयता विदेशीको आकर्षणको केन्द्र बनेको ढोरपाटन अहिलेसम्म पनि पूर्वाधारमा फड्को मार्न सकेको छैन । आठ किलोमिटर क्षेत्रमा फैलिएको हरियाली उपत्यका । बुकी क्षेत्रमा फुलेका सुन्दर फूलहरु । ढोरबराहको मुटुभित्रबाट निस्किएको कञ्चन झैँ बग्ने उत्तरगङ्गा नदी । 

        श्रीस्वस्थानी व्रत कथामा भने झैँ ढोरपाटनको सौन्दर्यताको बखान नगर्ने सायदै हुन्छन् । पर्यटन, सिकार र कृषिले परिचित नेपालको एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत ढोरपाटन क्षेत्र विश्वमा परिचित गन्तव्य हो । केही पर्यटकीय गन्तव्य पूर्वाधारका कारण चर्चित छन् भने केही गन्तव्य सौन्दर्यताका लागि चर्चित छन् । तर बागलुङको ढोरपाटन साहसी पर्यटक र सौन्दर्यता अवलोकनका हिसाबले पनि चर्चित छ । ढोरपाटन सिकार पर्यटकका लागि चाखलाग्दो गन्तव्य हो । 
    भौगोलिक विकटता, सडक सकस र पर्यटकीय पूर्वाधारका कारण ढोरपाटन नेपालका अन्य गन्तव्यमा जस्तो यो क्षेत्र पर्यटकको व्यापक आकर्षक भने छैन । सिकार पर्यटनमा विदेशी पर्यटकहरुले मात्रै पहुँच पु¥याउने गरेका छन् भने आन्तरिक पर्यटक सुन्दर ढोरपाटन अवलोकनमा सीमितमात्रामा आउने गरेका छन् । 

        पछिल्लो समय पर्यटकको सङ्ख्यामा क्रमशः वृद्धि भएको छ । ढोरपाटनको सौन्दर्यता र अपार सम्भावनालाई बाहिर ल्याउन आवश्यक रहेको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले बताउनुभयो । “यहाँको सम्भावनाको उजागर गर्नसके ढोरपाटन पर्यटनबाटै समृद्ध बन्न सक्दछ” उहाँले भन्नुभयो, “ढोरपाटन ठूलो परियोजना भएकाले नगर एक्लैले धेरै काम गर्न सक्दैन, सङ्घीय सरकारले सय गन्तव्यमा सूचीकृत भइसकेको क्षेत्रलाई प्राथमिकतामा राखिरहेको छैन, नगरपालिकाबाट मोटरबाटो स्तरोन्नति, घरबास प्रवद्र्धन अभियान तथा तथ्याङ्क सङ्कलनको काम भइरहेको छ ।” 

        नगर प्रमुख नेपालीले चालू आर्थिक वर्षमा मात्रै ढोरपाटन क्षेत्रको विकासका लागि रु एक करोड बजेट कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । नगरपालिकाले ढोरपाटन उपत्यकामा रहेको नौवटै वडाको समन्वयमा कृषि पर्यटनसँग जोडेर विकास गर्नका लागि डिपिआर बनाउने कार्यमा लागेको बताउनुभयो । ढोरपाटन सिकार आरक्ष नेपालको एकमात्र यस सिकार आरक्ष पश्चिम नेपालमा धौलागिरि हिमशृङ्खलाभित्र रुकुम, म्याग्दी र बागलुङ गरी तीन जिल्लामा फैलिएको छ । 

        बागलुङ बजारबाट एक दिनको यात्रामा पुग्न सकिने ढोरपाटन क्षेत्रमा बुर्तिवाङसम्म मध्यपहाडी लोकमार्ग र बुर्तिवाङबाट ढोरपाटन सालझण्डी सडक भएर ढोरपाटन पुग्न सकिन्छ । सिकारका लागि प्रख्यात यस आरक्षमा पेशेवर शिकारीको अनुमतिपत्र प्राप्त सिकारीले नौ नाउर र ११ झारलको सिकार गर्न पाउने प्रवधान रहेको छ । आरक्षमा रहेका हिउँचितुवा, घोरल, हिमाली कालो भालु, मृग र लङ्गुरे बाँदरलगायत लोपोन्मुख वन्यजन्तुको सिकार गर्न निषेध गरिएको छ ।

        ढोरपाटन उपत्यकालाई पर्यटनप्रेमीले मिनी स्वीजरल्यान्डको उपनाम दिएका छन् । विशेषगरी हिमपात भएको समयमा स्वीजरल्यान्डको झल्को दिने गरेको पर्यटन व्यवसायीको भनाइ छ । स्वजरल्यान्डमा हिउँले भरिँदा देखिने दृश्य र ढोरपाटनमा हिमपात हुँदाको दृश्य एकै लाग्ने पर्यटन व्यवसायी महादेव शर्मा बताउनुहुन्छ । 

    थापिँदै होटल तथा होमस्टे

        ढोरपाटन उपत्यकामा पछिल्लो तथ्याङ्कअनुसार २१ वटा होटल तथा घरबास (होमस्टे)हरु छन् । ठूलो सङ्ख्यामा पाहुना पुग्दा अझै पुग्नेगरी होटल सुविधा नभएको पर्यटनकर्मीले बताउँछन् । यहाँ २१ होटल तथा होमस्टेमा दुई सय ८१ पर्यटकको मात्रै क्षमता भए पनि होटल व्यवस्थित छैनन् । 

        मौसमी पर्यटक मात्रै आउने भएकाले होटल व्यवसाय फस्टाउन नसकेको ढोरपाटन सामुदायिक होटलका सञ्चालक सुरज पौडेल बताउनुहुन्छ । पौडेल भन्नुहुन्छ, “पर्यटक पछिल्लो दिनमा थपिएका भए पनि समयमा भरिभराउ हुने र अन्य समयमा खाली हुँदा होटल व्यवसायी हतोत्साही हुने गरेको पाइन्छ ।” यहाँ विदेशी पर्यटक भने सोझै सिकार ब्लकमा पुग्ने गरेकाले आन्तरिक पर्यटक मात्रै होटलमा बस्न आउने गरेको पौडेलको भनाइ छ । 

        अप्ठ्यारो सडक त्यसमाथि विसं २०७७ भदौ १७ गते राति भूजीखोलामा आएको बाढीले सडकको विभिन्न ठाउँमा क्षत्विक्षत बनाएको थियो । बर्खामा ठाउँठाउँमा झरेको पहिराले ढोरपाटनका स्थानीय र आगन्तुक पर्यटक ठूलो मर्कामा पर्दै आएको स्थानीय कूलबहादुर सुनारले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “ढोरपाटनमा आलु स्याउ धेरै फल्छ, बाटो नहुँदा गाउँलेले सधैँ बोकेर तल झर्ने गर्थे, अन्न, लत्ताकपडा बोकेरै ढोरपाटन पु¥याउँथ्यौँ, अहिले केही सहज भएको छ ।”

        स्थानीय नरबहादुर घर्तीमगरले यहाँका अधिकांश स्थानीयको मुख्य पेशा पशुपालन र कृषि भएको भन्दै पछिल्लो समय उत्पादित वस्तुले बजार पाउन थालेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “अहिले बजारको समस्या छैन, उत्पादन जतिगरेपनि बिक्री गर्न सकिन्छ, पहिलेको जस्तो घोडा खच्चडमा बोकेर बजारमा लैजानुपर्ने अवस्था छैन, अहिले त व्यापारीहरु यहीँ किन्न आउँछन् ।”

    पत्तो छैन बुँकीको सौन्दर्यता

        ढोरपाटन उपत्यका आउने अधिकांश पर्यटकलाई बुकीको सौन्दर्यताको जानकारी नै छैन । बुँकी सौन्दर्यताका लागि निकै आकर्षक गन्तव्य भए पनि प्रचारप्रसारको अभाव छ । ढोरपाटन उपत्यका पुग्ने पर्यटकको १० प्रतिशत पर्यटकसमेत बुकी पुग्न सकेका छैनन् । सडक मार्गले नछोएको बुकी भेडीखर्क हो । बुँकीमा स्थानीयले भेडा बाख्रा चरनका लागि लैजाने गर्दछन् । बुकी हुँदै गुरिल्ला पदमार्ग रुकुम र रोल्पा गए पनि पदमार्गको प्रवद्र्धन हुन सकेको छैन । 

        ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष खिमबहादुर घर्तीमगरले ढोरपाटन उपत्यकालाई एग्रो टुरिज्मका रुपमा विकास गर्नका लागि नगरपालिका र सङ्घीय सरकारको सहकार्यमा गुरुयोजना बनाउन लागिएको जानकारी दिनुुभयो । “ढोरपाटनलाई पर्यटन र कृषिका रुपमा परिचित गराउँदै कृषि पर्यटनको क्षेत्रका रुपमा विकास गर्ने गरी गुरुयोजना बनाउन थालिएको छ”, मगरले भन्नुभयो, “बस्ती विकास, खेतीयोग्य जमिन र सम्भावित बालीनालीको अवस्था चित्रण हुनेछ, उत्तरगङ्गा जलाशययुक्त आयोजनाको क्षेत्र, आरक्षको क्षेत्र र पर्यटकीय पूर्वाधारको क्षेत्र सबै समेट्ने गरी गुरुयोजना निर्माणमा जुटेका छौँ ।”

        हालसम्म ढोरपाटन क्षेत्रसँग जोडिएको गाउँ मध्यवर्ती घोषणा हुन नसक्दा ढोरपाटन सिकार आरक्षमा सङ्कलित राजस्व केन्द्रमा गइरहेको छ । मध्यवर्ती क्षेत्र घोषणाका लागि आरक्ष र स्थानीयबीचको बुझाइमा एकरुपता नहुँदा मध्यवर्ती क्षेत्र घोषणामा ढिलाइ भइरहेको ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिनुभयो । 

        सिकार आरक्षले स्थानीय पालिकासँग समन्वय नगर्दा र मध्यवर्ती घोषणापछि स्थानीयवासीको आर्थिक तथा सामाजिक विकासमा पुग्ने फाइदाका बारेमा जानकारी नगराउँदा समस्या भएको वडाध्यक्ष मगरले बताउनुभयो ।

        ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतका अनुसार यस वर्ष उत्तरगङ्गा नदीलाई व्यवस्थित गर्ने, बराह मन्दिरमा रहेका ढुङ्गाको बाजागाजा व्यवस्थापन र ढोरपाटन प्रवेशद्वारमा मन्दिर निर्माण गर्ने योजना बनाएको छ । उहाँले सडक निर्माण ढिलाइ हुँदा सोचेअनुसार ढोरपाटनको विकास हुन नसकेको र आगन्तुकलाई भित्र्याउन नसकेको बताउनुभयो । पहिलेको तुलनामा पर्यटक बढे पनि अपेक्षाअनुसार भित्र्याउन नसकेको सुनाउनुभयो । 

     

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…