• प्रदेश १ को राजधानी रहेको मोरङ बिराटनगरबाट अनुसन्धान बिभागका कर्मचारीहरुले फोन सम्पर्क गरेर के छ कार्यक्रमहरु भनेर प्रस्न गर्दै थियो । किरात राई यायोक्खाको केन्द्रीय पदाधिकारी भएको र यो सस्था प्रदेशको नाम किरात प्रस्ताव गर्दै संघर्षमा रहेको कारण मुभमेन्ट चलेको यस्ता फोनहरु आउने गरेका थिए ।
    २०७९ फागनु १७ गते बिहानैदेखि फोन आउने क्रम बाक्लियो । जिल्लाको साथै पथरीशनिश्चरे लगायत पूर्बी मोरङ हेर्ने बिभागका एक जना असईले फोन गरेर सोधे तपाईहरुको कार्यक्रम छ ? यसैवीच विराटनगरबाट रातोपार्टी अनलाइनका पत्रकार अर्जुन आचार्यले यसैगरी प्रस्न सोध्दै आज नाम आउने लगभग निश्चित जस्तो छ । आन्दोलनको केही कार्यक्रमहरु भए सूचना वा जानकारी दिनुहोला । 
    त्यसपछि मैले हाम्रो क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य गीता तिम्सिनालाई फोन लगाएर सोधेँ । उहाँले हो आज नाम राख्ने कुरा छ भन्नुभयो । त्यसपछि प्रदेश सभा सदस्यसमेत रहनु भएका किराती राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्ष राजन किराती (बासु)लाई फोन लगाए उहाँको फोनि बिहानैदेखि स्वीच आफ । सम्पर्कका अरु सभा सदस्यहरुलाई फोन लगाउँदा चार जना सांसदले नाम आजै पास हुन्न होला भन्नु भयो । यसरी प्रदेश १ को नाम राख्ने नराख्ने बिषयमा जानकारी लिदै गर्दा एक थरी प्रदेश सभा सदस्यहरु र अनलाइन मिडियाहरुमा प्रदेशको नाम कोशी रहने भरर समाचार, स्टाटसहरु आउन थाल्यो । 
    गुपचुपमा प्रदेशको नाम ल्याउने सूचना पाएर किरात राई यायोक्खा फागुन १६ गते प्रदेशको सभामुख, प्रतिपक्षी नेपाली कांग्रेस, सत्ता पक्षीय, माओवादी केन्द्रका संसदीय दलको नेता, एमालेको प्रमुख सचेतकसँग भेटघाट गर्दा तत्काल नाम नआउने बताएका थिए । राष्ट्रपतिको निर्वाचन फागुन २५ मा हुँदै थियो । राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रले तत्कालीन सत्ता साझेदार एमालेलाई नसघाएर कांग्रेसलाई भोट दिने भएकाले एमालेले सत्ता छाड्ने र कांग्रेस इन हुने परिस्थिति बन्दै थियो ।
    यो परिस्थितिमा प्रदेश १ मा एमाले नेतृत्वको सरकारलाई प्रतिपक्षी कांग्रेसले नसघाउला कि भन्नेमा थियौ हामी । तर, मुख्यमन्त्री हिक्मत कार्कीको मुख्य नेतृत्वमा रामबहादुर मगर प्रस्तावक, निरन राई र भूमीप्रसाद राजवंशी समर्थक रहेको कोशी नाम प्रस्ताव गरेर फागुन १७ मै ठोकिदिए । पूर्ब मुख्यमन्त्री राजेन्द्रकुमार राई प्रस्तावक, निर्माला तावा र कमलप्रसाद जवेगु समर्थक रहेको ‘किरात लिम्बुवान सगरमाथा’ को पक्षमा चार मत मात्र आयो । 

    के हो कोशी ?
    नाम कोशी आएपछि के रहेछ भनेर मसँग भएको नेपाल प्रज्ञा परिषदद्वारा २०६० मा प्रकाशित नेपाली बृहत् शब्दकोश पल्टाएँ । सोशी शब्दकोशको नयाँ एप्समा खोलेर हेरेँ कोशी भन्ने छुट्टै शब्द पाइन । 
    कौशिक र कौशिकी भन्ने शब्द छ । कौशिक को अर्थ कौशिक ऋषिको कुल वा वंशको परिचयात्मक नाम वा गोत्र उल्लेख छ । कौशिकीको अर्थ पातलो ‘स’ बाट कोसी वा नदी भन्ने छ । 
    शब्दकोश वा एप्समा कोशी सर्च गर्दा (नां) पातलो ‘स’ बाट कोसी भन्ने उल्लेख छ । कोसी शब्दको अर्थ खोज्दा नेपालको पुरानो संरचना अनुसार एक अञ्चल भन्ने उल्लेख छ । कोसीको अर्को अर्थ पूर्वी नेपालमा सुनकोसी, इन्द्रावती, दुधकोसी, तामाकोसी, सप्तकोसी लगायत नाम उल्लेख छ । कोसी मात्रैको पनि अर्थ पाइन्न । कोसी भन्नाले नदी भन्न खोजिएको हुन्थ्यो भने पनि कुन कोसी भन्ने प्रस्न आउछ । 

    कौशिकको अर्थ
    हिन्दू समाजमा विभिन्न थरहरू गोत्रमा बाँडिएका हुन्छन् । गोत्र प्राचीन ऋषिमुनीहरूको नाममा आधारित छन् । हिन्दू समुदायमा गोत्र कुल छुट्याउने एउटा आधार हो । एउटा गोत्र एकै बाजेबाट जन्मिएको हुनाले सहगोत्री वीच बिहावारी चल्दैन । यस्ता गोत्रहरु सुरुमा विश्वमित्र, आत्री, आत्रेय, कस्याप, गौतम, जमदग्नि, भारद्धज र वशिष्ट गरी आठ वटा थिए । 
    पछि कौशिक, मरिची, गर्ग, भिर्गु लगायत थपिएर ३८ वटा रहेका छन् (विकिपिडिया) । कौशिक गोत्र यिनै ३८ मध्येको एक बराजु हुनुहुन्छ । शब्दकोश र हिन्दू सभ्यतालाई अध्ययन गर्दा प्रदेशको नाम नदी नभएर एउटा ऋषि, वंश वा बाजेको नामबाट कोशी राखिएको प्रस्ट छ । प्रदेशको नाम किन आत्रेय, कस्याप, उप्रेती, वशिष्ठ गोत्र नराखेर कोशी (कौशिक) राखियो ? भ्रम दिन खोजिएको छ । कोशी नदी हो भनेर । तर कोशी नदी होइन । हिन्दू समाजको एउटा बाजे (वंश) हो कौशिक । त्यही नाम हो कोशी । 

    यस कारण कोशी नाम खारिज
    प्रदेश १ को नाम कोशीको पक्षमा ८२ सांसदहरुले मत दिएका थिए । ‘किरात लिम्बुवान सगरमाथा’को पक्षमा ४ र अन्य ६ जना सांसद अनुपस्थित रहेको तथ्याङ्क यस अघि नै सार्वजनिक भइसकेको छ । 
    कोशीको पक्षमा भोट दिने ८२ जनाले कुन अर्थको कोशीमा भोट लगाएका हुन् । कौशिक ऋषिको वंश, गोत्र, महेन्द्रकालीन अञ्चल ? नदी हो भने लेखन (शब्द) गलत छ । बुझेर लगाए कि भोट नबुझेर ? विस्तारै जवाफ देलान वा दिदै जालान । 
    अन्धकारमा नदी भनेर लगाएका भएपनि कोसी निर्जिव बस्तुले नाम माग्ने कुरा आएन । नदी कोसीको नाममा प्रदेशका मामाजिक, राजनीतिक संगठनले जस्तो उच्चाइमा माग कसैले गरेका थिएनन् । पञ्चायतकालीन कोसी हो भने प्रदेशबासी इतिहासमा पछाडि फर्किन चाहदैन ।
    होइन कोशी कौशिक ऋषिको कुल वा वंशको परिचयात्मक नाम वा गोत्र हो भन्ने बुझेरै कोशी नाम राखिएको हो भने प्रदेशमा बासोबासको दृष्टिकोणले हेर्दा वा समाज विज्ञानको हिसावले के यो ठीक छ ? 
    कौशिक ऋषि र ऋषिको वंशजप्रति नेपाली समाज सधै सम्मान गर्दछ र एकले अर्कालाई आदर सत्कार गर्नु पर्दछ । तर, नाम राख्ने सवालमा हामीले पुनः विचार गर्दै पर्दछ । एउटा बाजेको नाममा आएको कोशी शब्दले प्रदेशबासीको भावनालाई समेट्न सक्दैन । साझा मनोविज्ञान बन्न सक्दैन । जवरजस्ति गर्दा झनै भावना टुक्रिन्दै जाने खतरा हुन्छ । 

    कोशीको पक्षमा छैनन पार्टी कार्यकर्ता

    कोशी नाम आएपछि एमाले, कांग्रेस, माओवादी (केन्द्र) लगायतका पार्टीका कार्यकर्ताहरु विरोधमा बोल्ने लेख्ने र आन्दोलनमा सहभागि हुने क्रम बाढ्दो छ । 
    पार्टी सिस्टममा हरेक निर्णय पार्टीहरुमा पनि छलफल र समितिले निर्णय गर्नुपर्ने हुन्छ । पार्टीको बैठकले पास गरेर भएको निर्णय मात्र नेता कार्यकर्ता मान्न तयार हुन्छन । संविधानमा उल्लेख भए वा नभए पनि एउटा मन्त्रीको सल्लाहकार नियुक्त गर्दासम्म कहिले काही पार्टीले निर्णय कुर्नुपर्ने वा गर्नुपर्ने चलन छ । पार्टीहरुमा छलफल र निर्णय गराउनु पर्ने कारण निर्णयलाई नेता, कार्यकर्ताहरुले विरोध नगरुन भन्ने हो । 
    नयाँ संविधान जारी गर्नु अघि नै सात प्रदेशको नाम टुंङ्याउनु पर्ने थियो । पार्टीहरुका केन्द्रीय समितिहरुमा एक मत हुन नसक्दा वा माथिल्लो नेताहरुले निर्णय गर्न आँट नगर्दा संविधानमा नै प्रदेश सभाले नाम राख्ने व्यवस्था गरिएको थियो ।
    यसको मत्लव यो होइन कि प्रदेश स्तरीय पार्टीहरुमा नेता, कार्याकर्ताहरुमा छलफल नगरी प्रदेश सभाले पास गरुन । कोशी नाम एमाले, कांग्रेस, माओवादी (केन्द्र), राप्रपाको पार्टीमा के संसदीय दलमासमेत छलफल भएन । 
    मुख्य मन्त्री हिक्मत कार्कीले, सभामुख बाबुराम गौतम कोशी नाम रुचाउने मन्त्री, केही सांसदहरुसँग व्यक्तिगत रुपमा आन्तरिक रुपमा छलफल गरेर सहमति गराएको बुझिन्छ । धेरै सांसदहरुलाई कोशी नाम १७ गते नै रहन्छ भन्ने थाहा थिएन । संसदीय दलमा छलफल गराइएमा सूचना लिक भएर आन्दोलनको उभार आउने संभावनालाई ख्याल गरेको गुपचुप योजना बनाएको बुझिन्छ । यसरी पार्टी, संसदीय दलमा छलफल नगराइ चारजना नेताहरुको हुमुमबाट राखिएको नाम पार्टी कार्यकर्ताहरुले मान्न जरुरी छैन ।

    के कोशी खारेज हुन्छ ? 
    धेरैलाई लागेको होला । मधेश बाहेक पाँच वटा प्रदेशको नाम यसैगरी राखियो । प्रदेश नं. १ को नाम पनि दुई तिहाइ बढीले पारित ग¥यो । अब सकियो । तर, अन्य पाँच वटा जस्तो यो प्रदेश होइन । यहा सामाजिक संगठन र पहिचानवादी राजनीति दल सशक्त रहेका छन् । शान्तिपुर्ण आन्दोलनबाटै कोशी नाम खारिज हुन्छ । 
    कोशी खारेजीको आन्दोलनमा किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात धर्म तथा साहित्य उत्थान संघ, नेपाल शेर्पा संघ, नेपाल आदिबासी जनजाति महासंघ केन्द्रीय समिति जस्ता गैर राजनीतिक संगठनहरु सक्रिय छन् । यी संगठनहरुमा सबै पार्टीका कार्यकर्ताहरु रहन्छन् । 
    यस बाहेक जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, किरात मोर्चा, पूर्ब मन्त्री गोपाल किराती नेतृत्वको देशभक्त समाजवादी संगठन, कांग्रेस, एमाले, माओवादी (केन्द्र) लगायतका प्रदेशको शान्ति र संमृद्धि चाहने नेता कार्यकर्ताहरु यो आन्दोलनमा सहभागि हुँदै आएका छन् । दिनदिनै आन्दोलनमा समर्थन र सहभागिहरु बढ्दै गएका छन् ।
    प्रदेशमा क्रियाशील ४० भन्दा बढी सामाजिक÷राजनीतिक संगठनहरुको साझा मोर्चा प्रदेश नं. १ पुनः नामकरण संयुक्त संघर्ष समिति गठन भएको छ । यही मोर्चाको आयोजनामा २०७९ फागुन २७ गते साँझ प्रदेशको १४ जिल्लाको हरेक चोकहरुमा राँके जुलुस र २८ गते आम हड्तालमा नेता कार्यकर्ताहरु सहभागी भए । यो आन्दोलन सांकेतिक भएपनि संशक्त भयो । 

    नाममा के छ ?
    प्रदेशको नामहरु राख्ने क्रममा एका थरीले भन्ने गरेका छन । नाममा के छ ? जे राखेपनि भइगयो नि । किन आन्दोलन गर्नु प¥यो ? 
    हो । एक किसिमले सोच्दा नाममा केही हुन्न । हामीले मधेश प्रदेश नाम राखि सक्यौ । रामप्रसाद राई, सकेला, माङ्सेबुङ लगायत स्थानीय तहहरुको नाम राखि सकियो । कसैले केही पाएन । यो विचारसँग सहमत हुने हो भने कौशिकी गोत्र रहनु भएका समुदायले कोशी नाम राख्दा के पाएत ? किन कोशीको पक्ष र विपक्षमा लाग्नु प¥यो ? 
    नाममा के छ ? होइन केही छ । नाम प्रदेशबासीको साझा मनोविज्ञान हो । व्यक्तिगत रुपमा केही प्राप्त हुन्न । तर, यहाँ हामी छौ । यो हाम्रो पनि हो । प्रदेश सबैको साझा हो भन्ने बुझाइ नामले गर्दछ । यो भौतिक भन्दा पनि मस्तिष्कमा प्रतिविम्बित हुने बिषय हो । 
    त्यसैले नाम राख्ने सवालमा एमाले अध्यक्ष केपी ओली, माओवादी (केन्द्र)का अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले गम्भीर रुपमा सोच्नु पर्दथ्यो । प्रदेशमा आउदा मुख्यमन्त्री हिक्मत कार्की, सभामुख बाबुराम गौतम लगायतका चार दलका नेताहरुले गम्भीर भएर नाम राख्नु पर्दथ्यो । प्रदेशमा रहेका बिशाल समूहको भावनामा लात मार्ने काम अत्यान्त गलत भएको छ । 

    नाममा के राख्दा उचित ?
    फागुन १७ अघिसम्म १ नं. प्रदेशको नाम किरात, लिम्बुवान, खम्बुवान, कोशी, कोचिला, शेर्पालुङ, बिराट लगायत छलफल छल्दै आएको थियो । 
    कोशी कसरी भयो र यसको अर्थ माथि ब्याख्या भइसकेको छ । किरात भन्ने शब्द कैलाश (पर्बत), कैलात, कैरातहुँदै किरात भएको भन्ने छ । शब्द उत्पतिबारे धेरै भएपनि एउटा अर्थ यो हो । किरात शब्द जसरी आएपनि यो सभ्याता, इतिहास, भूगोल, भाषा संस्कृति र साझा मनोविज्ञान हो । भूगोलमा बसेर आफूलाई किरात भन्न रुचाउने वा गर्व गर्ने सबै किराती हुन । यो बिषयमा धेरै विद्वान, विश्लेशक र पत्रकार मित्रहरुले लेखि, बोलिरहनु भएको छ ।
    लिम्बुवान शब्द पनि जाति होइन । भाषामा लिआबुआङ (धनुष वाण) भन्ने शब्दबाट लिम्बुवान भएको हो । जाति थाक्थुङबा हो । आफूलाई लिम्बू मान्ने धेरैको नागरिकतामा सुब्बा पनि उल्लेख छ । थाक्थुङ्, लिम्बू र सुब्बा थर प्रयोग हुँदै आएको छ । प्रदेशको नाम यी दुई तीन वटासम्म शब्द प्रयोग गरेपनि फरक पर्दैन । प्रदेशमा हुने अवसर समान वितरण गर्नेगरी सकेसम्म साझा पहिचानको एक नत्र कुनै दुइ, वा तीन शब्दको नाम राख्दा केही बिग्रदैन । यसको लागि प्रदेश सरकारले अध्यादेश मार्फत प्रस्ताव ल्याएर पुनः नामकरण गर्नु पर्दछ । होइन भने नेपालको प्रदेश नं. १ सबैभन्दा बढी अशान्त हुने निश्चित छ । 
     

सम्वन्धित समाचार

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकत…

काठमाडौँ, १ फागुन : विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सर…

 भद्रगोल किराती भारतको सानो तर सुन्दर राज्य सिक्किममा भौगोलिक क्षेत्रफलको ८२.३१% वन क्षेत्रले …

शान्ति लामा आज ८ मार्च विश्वभरिका श्रमिक महिलाहरुले महिला माथि भएको शोषण  विरुद्ध  आवाज उठा…