•  कैलालीको भजनी नगरपालिका–५ पलियापुरमा नगरपालिका, दिगो विकास समाज र जनश्रमदानबाट बाढी प्रभावितका लागि सुरक्षित घर निर्माण गरिएका छन् । नगरपालिकाको सबैभन्दा बढी बाढी प्रभावित क्षेत्र भनेर चिनिने पलियापुरमा सुरक्षित आवास निर्माण भएपछि यहाँका बाढी प्रभावित खुसी भएका छन् । 

        नगरपालिका, दिगो विकास समाज र जनश्रमदान गरी रू ९५ लाख ४६ हजार नौ सय बराबरको लगानीमा १६ वटा बाढी प्रभावित परिवारका लागि घर निर्माण भएका छन् । नगरपालिकाले रू ४० लाख दिगो विकास समाजले रू ३२ लाख खर्च गरेको नगरपालिकाले जनाएको छ ।

        भजनी नगरपालिका–५ का मोतीराम भण्डारीको परिवार यतिबेला हुलाकी सडक छेउमा त्रिपालको भरमा असुरक्षित घरमा बसिरहेको छ । एक/दुई दिनमा मोतीरामसहित परिवार नयाँ निर्मित आवासमा बस्ने तयारीमा हुनुहुन्छ । नयाँ आवासमा सरेपछि हुलाकीमा वर्षायामको पाँच/छ महिना बिताउनु नपर्नेमा उहाँ खुसी हुनुहुन्छ । 

        नगरपालिका र दिगो विकास समाजको आर्थिक सहयोगमा जमिनको सतहदेखि छ फिट अग्लो घर निर्माण गरेको मोतिरामले बताउनुभयो । “यस वर्ष सडकमा जानुपर्दैन । घरभित्र पानी पस्ने छैन । परिवार र खाद्यान्न सुरक्षित हुन्छन्”, उहाँले भन्नुभयो, “स्थानीय सरकार छ भन्ने अनुभूति हामीलाई भएको छ । हाम्रो वर्षौंदेखिको समस्या समाधान भएको छ ।”

        सोही ठाउँका राज विक अहिले घर निर्माणमै व्यस्त हुनुहुन्छ । घर निर्माण सम्पन्न गरेर यस वर्षको वर्षात् नयाँ घरमा बिताउने उहाँको रहर छ । “हुलाकी सडकमा भोकभोकै बस्नुको पीडा हाम्रा लागि खत बनेर बसेको छ । त्यो पीडा कहिल्यै भुल्ने छैनौँ”, विकले भन्नुभयो, “त्रिपालको सहायतामा सडकमा बस्ने दिनको अन्त्य हुँदैछ । घर बनेपछि बाढीबाट हुने क्षति कम हुनेमा विश्वस्त छौँ ।” उहाँले नगरपालिका सहयोग गरेर आवास निर्माण गरिरहेको बताउनुभयो ।

        आवास निर्माण भए पनि शौचालय र खानेपानीको भने समस्या हुने देखिएको विकको भनाइ थियो । “आवास निर्माण गर्दा शौचालय निर्माण गरिएको छैन । खानेपानीका हाते नल्कामा बाढीले  क्षति पु¥याउँछ”, उहाँले भन्नुभयो, “खानेपानीका लागि उचाइ बढी बनाएर व्यवस्थित धारा जडान गर्नुपर्ने हुन्छ ।”

        वर्षामा शौचालय र खानेपानीको समस्या हुने सोही ठाउँकी सरिता टमट्टाले बताउनुभयो । “बर्खाको समयमा हुने किरा/फट्याङ्ग्राको जोखिमबाट बच्ने भएका छौँ । बालबालिका बाढी र डुबानबाट सुरक्षित हुने भएका छन्”, उहाँले भन्नुभयो, “घर निर्माण भएको क्षेत्रबाट बाहिर जान ढुङ्गा आवश्यक पर्छ । यहाँ नदी बग्छ । यस्तो अवस्थामा खानेपानी र शौचालयका लागि कता जाने भन्ने चिन्ता छ ।” घर निर्माण भएको क्षेत्रमा भुइँको सतह निकै गहिरो भएकाले माटो पटानी गरेर समस्या समाधान गर्नुपर्ने टमट्टाको भनाइ थियो । 

        नयाँ आवासमा खाद्यान्न सुरक्षित राख्न सकिने भएपछि लालबहादुर कामी तनावमुक्त हुनुभएको छ । बर्खा लागेसँगै घरमा भएको अन्न तथा अन्य खाद्यान्न आफन्तकामा सार्नुपर्ने बाध्यता यस वर्षदेखि अन्त्य हुने उहाँले बताउनुभयो । “बर्सेनि आउने बाढी र डुबानबाट सुरक्षित राख्न हामीले केही सामान आफन्तकामा राख्दै आएका थियौँ । आफन्तकामा राखिएका सामान पनि बाढीबाट सुरक्षित हुँदैनथ्यो”, लालबहादुरले भन्नुभयो, “यस वर्ष आफ्नै घरमा खाद्यान्न सुरक्षित हुने भयो । हामी सुरक्षित  हुने भयौँ ।”

        भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले नगरपालिकाले पाँच वर्षमा ५० सुरक्षित आवास निर्माण गर्ने लक्ष्य राखेको जानकारी दिनुभयो । उहाँले बाढी र डुबानको बढी जोखिम हुने क्षेत्रका नागरिकको सुरक्षाका लागि दातृ संस्थासँग समन्वय गरी सुरक्षित आवास निर्माण थालिएको बताउनुभयो ।

        “चालू आर्थिक वर्षमा १६ घर निर्माण भएका छन् । शौचालय, खानेपानी लगायतको काम बाँकी छ । आगामी आर्थिक वर्षमा बााकी काम पूरा गर्ने योजना बनाएका छौँ”, नगर प्रमुख चौधरीले भन्नुभयो, “बाँकी जोखिम भएका क्षेत्रमा पनि आवास निर्माणका लागि नगरपालिकाले सहयोग गर्नेछ । यसका लागि दातृ संस्थासँग निरन्तर समन्वय गर्नेछौँ ।” उहाँले कान्द्रा नदीलाई नियन्त्रण गर्न नसकेसम्म भजनीलाई डुबानबाट जोगाउन नसकिने बताउनुभयो ।

        “हाम्रो पीडा कान्द्रा हो । कान्द्र नियन्त्रण गर्नसके आधा दुख सकिन्छ”, नगर प्रमुख चौधरीले भन्नुभयो, “त्यसका लागि हाम्रो बजेटले पुग्दैन । प्रदेश र सङ्घीय सरकारले अपेक्षित सहयोग गरेको छैन । टुक्रे बजेटले कान्द्रा नियन्त्रण गर्न सकिँदैन ।”

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…