•  भक्तपुर, १८ भदौ  
    मूर्तकला मात्रै होइन, धार्मिक पर्वले परिपूर्ण विभिन्न अमूर्तकला, संस्कृति, पर्व एवं परम्पराको भण्डार मानिने ऐतिहासिक मध्यपुरथिमि नगरी यतिखेर धार्मिक एवं ऐतिहासिक महत्व बोकेको परम्पराले नाचिरहेको छ । प्रत्येक वर्ष वैशाख २ गते सिन्दुर जात्रा, जिब्रो छेड्ने जात्राले मात्रै होइन, गाईजात्राको भोलिपल्ट द्वितीयादेखि पञ्चमीसम्म चार दिन तीन रात अनवरत रुपमा टोलटोलमा विभिन्न बाजागाजाले गुञ्जयमान हुँदै नाचिने विभिन्न देवीदेवताका नाचले मध्यपुरथिमि दिनरात उल्लासमय बनेको छ ।
        
        विभिन्न देवीदेवताका मुकुण्डो धारण गरी धार्मिक, सांस्कृतिक र ऐतिहासिकतालाई जीवित राख्दै मध्यपुरथिमिको टोलटोलमा नीलबाराही प्याँख र भैल प्याँख जस्ता नाचहरु नाच्दै देवीदेवताको पहिचानलाई जीवित सङ्ग्रहालयको रुपमा यथावत राख्न सफल भएको मध्यपुरथिमिका संस्कृतिकर्मी अर्जुन श्रेष्ठ बताउनुहुन्छ । यतिखेर विभिन्न बाजाको तालमा विभिन्न धार्मिक एवं सांस्कृतिक महत्व बोकेको फरकफरक नाचहरुको प्रदर्शन हेर्दा यहाँको कला, संस्कृतिको धरोहरलाई जीवन्त राख्न यहाँका बासिन्दा निकै जुर्मुराएको देखिन्छ । 

        मध्यपुरथिमिभित्र विभिन्न देवीदेवताको मुकुण्डो धारण गरेर नाचिने यस्ता नाचहरु कुनै डबलीमा प्रस्तुत गरिने नाटकीय भने होइन । यी नाचभित्र तान्त्रिक र दैवी शक्तिको बास हुने यहाँका धार्मिक एवं नाचका गुरुहरु र स्थानीय बासिन्दाहरु बताउँछन् । यी नाचहरुको अवलोकन गर्न मध्यपुरथिमिको बासिन्दा मात्रै होइन, उपत्यकाका नेवार समुदायको बाहुल्यतासँगै अन्य जातजातिसहितको भिडले अवलोकन गरिरहेको देखिन्छ । 

    तीन दिन चाररात मनाइने नीलबाराही नाच 

        मध्यपुरथिमिको बोडेमा प्रसिद्ध नीलबाराही मन्दिर छ । नीलबाराही जङ्गलको छेउमा रहेको यो मन्दिर यहाँका बासिन्दाको धार्मिक आस्थाको धरोहर हो । नीलबाराही देवीप्रतिको धार्मिक विश्वास, आस्थालाई यहाँका बासिन्दाले जीवन्त राख्दै आएका छन् । त्यसको उदाहरण हो द्यो प्याँख अर्थात नीलबाराही नाच । 

        मध्यपुरथिमिको बोडेमा हरेक वर्ष गाईजात्राको भोलिपल्टको मध्यराति अर्थात भाद्र द्वितीयादेखि पञ्चमीसम्म नीलबाराही नाच चार दिन तीन रातसम्म यहाँको टोल टोलमा प्रर्दशन गर्ने गरिन्छ । नाचमा भैरव एक, बाराही चार, कुमारी चार, सिहं चार द्वारपाल दुई र गणेश चार गरी १९ देवगणले नाच नाच्ने गर्दछन् । देवता १९ जना, गुरु छ जना, १९ जना देवताका सहयोगी, बाजा बजाउने नौ जनाको नाचमा प्रतक्ष्य संलग्नता रहने गर्दछ । 
        
        बोडेको लाकुछेँ अर्थात् देवता घरबाट सुरु भई लाछी, लाछकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खासी टोल, नीलबाराही स्थान हुँदै पुन ः खासी टोल भएर लाकुछेंमा आएर मुकुण्डो निकालेपछि समापन हुने स्थानीय दिलकृष्ण प्रजापतिले जानकारी दिनुभयो । प्रत्येक टोलको चोकमा धाँ बाजा, भुस्या, काँय, पाँगा बाजाको तालमा परम्परागत नीलबाराही देवीको नाच देखाउने र यहाँका बासिन्दाले पूजा एवं दान दक्षिणा दिने परम्परा रहेको उहाँ बताउनुहुन्छ । 

        दैनिक १० देखि १४ घन्टासम्म परम्परागत नियममा बाँधिएर नाच्नु पर्ने नीलबाराही नाच कहिलेदेखि सुरु भएको भन्नेबारे यकिन तथ्य फेला नपरे पनि भक्तपुरको नवदुर्गा नाचसँगै नीलबाराही नाच सुरु भएको हुनुपर्ने मध्यपुरथिमि नगरपालिकाका– ८ का वडाध्यक्ष एवं नीलबाराही नाचका संरक्षक रमेश थापा श्रेष्ठ बताउनुहुन्छ । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…