•  भोजपुर, १४ माघ : भोजपुरको दक्षिणी क्षेत्रका नागरिकलाई सडकका माध्यमबाट तराईका जिल्ला पुग्न निकै कठिन हुने गरेको थियो । पछिल्लो समय अरुण नदीमा पानी जेटबोट सञ्चालनमा आएपछि स्थानीयलाई यात्रा गर्न सहज भएको छ । 

        यसअघि यहाँका ठूला नदी दूधकोशी र अरुणमा पुल नहुँदा सवारीसाधन सञ्चालनका लागि स्थानीयले सास्ती भोग्दै आएका थिए । वर्षात्को समयमा बाहेक हतुवागढी–९ कोप्चेबाट दैनिक जेटबोट सञ्चालन भइरहेको छ । दक्षिणी क्षेत्रका स्थानीय जेटबोट चढेर जलयात्रामार्फत धरान, इटहरी, विराटनगरलगायत ठाउँमा पुगेर घर फर्कने वातावरण बनेको स्थानीय इन्द्र थापाले बताउनुभयो । भिरको बाटो तीनदेखि चार घन्टा पैदल हिँडेर चतरा पुग्नुपर्ने अवस्थामा जलयात्राले सहजता भएको उहाँको भनाइ थियो । 

        जलयात्राबाट चतरासम्मको करिब १९ किमी दूरी २० देखि २५ मिनेटमा पुगिने थापाले जानकारी दिनुभयो । “स्थानीयलाई आवागमनका लागि पानी जेटबोट सञ्चालनले धेरै सहज भएको छ”, उहाँले भन्नुभयो, “सडकका माध्यमबाट यात्रा गर्न नदीमा पुल छैनन् । वर्षात्को समयमा अलि कठिन भए पनि हिउँदमा जलयात्रा गरेर एक दिनमा तराईका सहरमा पुगेर फर्कनसक्ने वातावरण बनेको छ ।”

        स्थानीयले १९ किमी यात्रा गरेको रू छ सय भाडा तिर्दै आएका छन् । अरुण नदीमा जेटबोट सञ्चालनले बिरामी हुँदा सहरका ठूला अस्पतालमा छिटो पुगेर उपचार गर्न सहजता थपिएको स्थानीय लालबहादुर प्रधानले बताउनुभयो । 

        भोजपुर सदरमुकाम भएर लेगुवा, हिले, घनकुटा हुँदै तराई झर्न करिब दुई किमी पर्ने भन्दै दक्षिणी भेगका स्थानीयका लागि यो जेटबोटले धेरै सुगमता थपेकोे उहाँको भनाइ थियो ।

        “हामीलाई भोजपुर सदरमुकाम भएर यात्रा गर्न धेरै लामो दूरी हुन्छ”, प्रधानले भन्नुभयो, “जेटबोट सञ्चालनमा आएपछि कम समयमा यात्रा गर्न सकेका छौँ । बिरामी हुँदा चाँडो उपचार लिनसक्ने वातावरण बनेको छ । यसले दक्षिणी क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको छ ।”

        जेटबोट सञ्चालनले भोजपुर, धनकुटा र सुनसरीलाई पूर्वी तराईसँग जोडेको गाउँपालिकाले जनाएको छ । जलयात्रालाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ पर्यटन पूर्वाधारको विकासमा पालिका जुटेको गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिनुभयो । जेटबोट सञ्चालन भएसँगे हतुवागढी क्षेत्रबाट तराईका जिल्लासँगको दूरी छोटो पर्ने भएकाले यहाँको विकासमा टेवा पुग्ने उहाँको भनाइ थियो ।

        अध्यक्ष राईले भन्नुभयो, “दुई ठूला नदीमा पुल निर्माण गर्न ढिलाइ हुँदा सवारीसाधनको आवतजावतमा समस्या भएको थियो । जलयात्रालाई पर्यटनसँग जोडेर विकासमा जुटेका छौँ ।” उहाँका अनुसार सवारीसाधन सञ्चालनका लागि भोजपुर र उदयपुरलाई जोड्ने चुहारको दूधकोशी र भोजपुर तथा धनकुटालाई जोड्ने सुनवालुवामा पुल नहँुदा स्थानीयलाई समस्या हुँदै आएको छ । यी दुवै नदीमा पुल बनाउने कामको थालनी गरिएको भए पनि निर्माणमा भने ढिलाइ भइरहेको छ । 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…