• ढोरपाटन (बागलुङ), १३ फागुन  : सदरमुकाम बागलुङ बजारदेखि करिब एक सय किलोमिटर पश्चिममा छ बुर्तिबाङ । पश्चिम बागलुङको व्यापारिक केन्द्रका रुपमा परिचित बुर्तिबाङ बजारमा हालसम्म सुविधायुक्त अस्पतालको अभाव छ । सुविधा सम्पन्न अस्पताल नहुँदा पश्चिम बागलुङका हजारौँ नागरिक उपचारका लागि पाल्पा, पोखरा र काठमाडौँ पुग्नुपर्ने बाधयतामा छन् । यद्यपि पछिल्लो समय बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट पनि विशेषज्ञ सेवा प्रदान हुँदै आएको छ । 

    त्यसो त बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्लास्तरीय अस्पतालमा स्तरोन्नतिका लागि विसं २०६४ साउन १५ गते स्वास्थ्य मन्त्रलायले निर्णय गरे पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन । तर अब भने सो स्वास्थ्य केन्द्र प्रदेशस्तरको अस्पतालमा स्तरोन्नति हुने भएको छ । 

    गण्डकी प्रदेश सरकारको सिफारिसमा सङ्घीय सरकारको यही फागुन ६ गतेको मन्त्रिपरिषद्को बैठकको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेशस्तरीय ५० शय्याको अस्पताल बनाउने निर्णय गरिसकेको छ । 


    यो स्वास्थ्य केन्द्र विसं २०५२ मा स्थापना भएको हो । यस क्षेत्रका जनतालाई सेवा दिने उद्देश्यले १६ वर्ष अगाडि जिल्ला अस्पताल बनाउने निर्णय गरी रु ३२ करोडको लागतमा संरचना निर्माण गरिएको थियो । करोडौँको संरचना निर्माण गरे पनि जिल्ला अस्पताल बन्न नसके पनि यस स्वास्थ्य केन्द्रमा हाल २५ शय्यासहितको सेवा भने प्रवाह भइरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्रका लागि स्वीकृत दरबन्दीमा व्यवस्थापन समिति र विभिन्न निकायले जनशक्ति थप गरी २५ शय्याको सेवा दिइदै आएका हुन् ।

        हाल केन्द्रमा १० शय्याको आकस्मिक र १५ शय्याको प्रसुति विभाग सञ्चालनमा छ । स्थानीय र सरोकारवाला निकायको लामो समयको प्रयासपछि केन्द्रलाई प्रदेशस्तरीय अस्पताल बनाउन लागिएको हो  । केन्द्रका लागि स्वीकृत ११ जनाको स्थायी दरबन्दी भए पनि ४८ जना कार्यरत छन् । ढोरपाटन नगरपालिकाले करार सेवामा २० जना, स्वास्थ्य केन्द्र व्यवस्थापन समितिबाट सात जना र निकसाइमन इनिस्टिच्युट संस्थाबाट छ जना कर्मचारी व्यवस्थापन गरेर २५ शय्याको सेवा सञ्चालन गरेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा नवीन्द्र ढकालले बताउनुभयो । 

        उहाँका अनुसार हाल एक जना बालरोग र एक जना एमडीजिपी विशेषज्ञ, दुई जना मेडिकल अधिकृत, एक ल्यावको बीएमलटी, दुई जना स्टाफ नर्स, चार हेल्थ असिस्टेन्ट, चार जना अहेव, पाँच जना अनमी र ९ जना कार्यालय सहयोगी लगायतका कर्मचारी रहेका छन् । हाल स्वास्थ्य केन्द्रबाट चौबिसै घण्टा आकस्मिक, बहिरङ्ग, शल्यक्रियाद्वारा प्रसुति सेवा, सामान्य शल्यक्रिया, बालरोग विशेषज्ञ सेवा, जनरल फिजिसियन विशेषज्ञ सेवा, अत्याधुनिक प्रयोगशाला सेवा, जिनएक्पट सेवा, दन्त, आँखा उपचारलगायतको सेवा दिँदै आइएको उहाँको भनाइ छ । 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…