• बिहीबार २५ भदौ, २०७७

    जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले बुधबारदेखि दमौली बजारमा हर्न बजाउन र ओभरटेक गर्न निषेध गरेको छ । दमौली बजारभित्र तीव्र गतिमा सवारी चलाउने क्रम बढेपछि ट्राफिक प्रहरी कार्यालयले ‘नो हर्न र नो ओभरटेक’ को अवधारणा ल्याएको हो ।

    अनावश्यक रुपमा हर्न बजाउने र ओभरटेक गर्ने प्रवृत्तिले दुर्घटना बढाएकाले दुर्घटना न्यूनीकरणका लागि यो अभियान शुरु गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख रेशम रानाभाटले जानकारी दिनुभयो । “तीव्र गतिमा सवारी हाँक्दा दुर्घटनाको जोखिम र अनावश्यक रुपमा हर्न बजाउँदा कोलाहल हुने भएकाले यो अभियान शुरु गरेका हौ”, उहाँले भन्नुभयो, “शुरु शुरुमा सवारी चालकलाई यसबारेमा जानकारी गराउने र अटेरी गर्नेलाई कानून बमोजिम कारवाही गर्छौ ।”

    प्रहरीको यो अभियानलाई तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाईले साथ दिएको छ । एकाईले प्रहरीलाई सचेतनामूलक चार वटा सङ्केत सामग्री हस्तान्तरण गरेको छ । सङ्केत सामग्रीमा तीव्र गतिमा सवारी नचलाऔँ, ओभरटेक नगराँै र हर्न नबजाऔँ भन्ने सचेतनामूलक सन्देश राखिएको छ ।

    दमौली बजार क्षेत्रको सवारी व्यवस्थापनका लागि एकाईले विगतदेखि नै प्रहरीलाई सहयोग गर्दै आइरहेको एकाई सभापति राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार एकाईले सहयोग गरेको उक्त सङ्केत सामग्री दमौली बजार प्रवेश गर्ने बुल्दी र मादी पुलमा राखिनेछ । त्यसका साथै भोर्लेटार चोक र जिल्ला प्रहरी कार्यालय अगाडी पनि उक्त सामग्री राखिने श्रेष्ठले जानकारी दिनुभयो ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अरुण पौडेलले सवारी व्यवस्थापनका लागि सामाजिक सङ्घसंस्थाको सहयोग सकारात्मक रहेको बताउनुभयो । तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष मानकाजी श्रेष्ठले प्रहरीसँग हातेमालो गर्दै सामाजिक क्षेत्रका काममा सहयोग गर्न व्यवसायी तयार रहेको बताउनुभयो ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …