• प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिदै छ । तर, महाधिवेशन गर्नका लागि गर्ने काम भने भएका छैनन् । राष्ट्रिय राजनीतिमा कांग्रेसको उपस्थिति शून्य भएको आरोप लागिरहदा सोमबारमात्रै मुलुकभर आन्दोलन गरेको छ । यसले कांग्रेसलाई पुनर्ताजगी दिएको नेताहरुको प्रतिक्रिया छ । पार्टी महाधिवेशन राष्ट्रिय राजनीति र महाधिवेशनबाट चुनिने कांग्रेसको नयाँ नेतृत्वबारेमा हामीले महामन्त्री डा. शशांक कोइरालासँग कुराकानी गरेका छौं । प्रस्तुत छ कोइरालासँग गरिएको कुराकानीको सारसंक्षेप :

    फागुनको ७ देखि १० गतेसम्म १४ औं महाधिवेशनको मिति निर्धारण गर्नु भएको छ, अहिलेसम्म जिल्लामा सदस्यताको विवाद टुंगिएकै छैन । अन्य काम कुनै पनि भएका छैनन् । कसरी हुन्छ महाधिवेशन ?

    हामीले औपचारिक रुपमा फागुन ७ देखि १० गतेसम्म महाधिवेशन भनेका छौं । मेरो दृष्टिकोणमा फागुन ७ गते महाधिवेशन उद्घाटन हुन सक्ने सम्भावना छैन । किनभने मंसिर मसान्तसम्म क्रियाशील सदस्यहरुको विवरण जिल्ला जिल्लाबाट पठाउनुपर्ने हो ।

    मलाई लाग्छ, धेरै जिल्लाले पठाएका छैनन् । अधिराज्यभरि केही जिल्लाबाहेक धेरैबाट पनि आएको छैन । त्यो आइसकेपछि त्यसमा दाबी विरोध हुन्छ । त्यसका लागि कम्तिमा तीन महिना चाहिन्छ । भन्नाले मंसिर, पुस, माघ । फागुन पनि लाग्न सक्छ । त्यो भइसकेपछि अनि भोटर लिस्ट बन्छ, अनि अधिवेशन गराए पनि हुन्छ । तसर्थ निर्धारित मितिमा महाधिवेशन हुने सम्भावना छैन ।

    अहिलेसम्म कार्यतालिका अनुसार कोभिड—१९ भएर महाधिवेशनका काम अगाडि बढ्न सकेनन् । तपाइले बताएको समयमा पनि पुनः कोभिड बढ्यो भने ?

    कोभिडले अब समस्या पार्दैन । हाम्रो छिमेक बिहारमा चुनाव हुन सक्छ । कोभिडको पिकमा बिहारमा चुनाव भएको छ । अमेरिकामा चुनाव भयो । भनेपछि, त्यस्तो कोभिडको महामारीमा बिहारमा चुनाव हुन सक्छ भने हाम्रोमा किन हुन सक्दैन ? हामी अब तयारीमा लाग्छौं ।

    त्यसो भए फागुनमा महाधिवेशन हुँदैन किन भन्नु भएको त ?
    फागुनमा किन हुँदैन मैले भनिहालें नि । तीन र चार महिना त दाबी विरोधमा नै लाग्छ । अहिलेसम्म कार्यतालिका अनुसारका काम हुन सकेनन् । अब गर्ने हो ।

    महामन्त्री तपाई पनि हो, अहिलेसम्म किन नभएको हो छ कार्यतालिका अनुरुपको काम ?

    जिल्ला जिल्लाबाट क्रियाशील सदस्यताको लिष्ट नआएकाले नबनाएको हो । अब आउँछ मंसिर मसान्तसम्मको समय हामीले दिएका थियौं । सकियो, पठाउँछन, त्यसपछि हामीले अन्य प्रक्रिया अगाडि बढाउँछौ । जब जिल्लाबाट नाम आउँछ नि, अनि भोटर लिस्ट बन्छ ।

    जिल्लाबाट सदस्यताको लिष्ट आउँछ त भन्नुभयो, केही जिल्लामा त अझै फारम नै पठाइएको छैन त ?
    केहीमा संविधान अनुरुप शासकीय स्वरुप अन्र्तगत संगठन समायोजन नभएकाले नपठाइएको हो । अब लगभग टुंगियो । पठाउने तयारी भइरहेको छ । धेरैमा पठाएर, उनीहरुले काम भ्याएर पनि केन्द्रमा पठाउन लागिसके ।

    त्यसो भए अब महाधिवेशनको अन्तिम डेटलाइन कहिले तोक्नुहुन्छ ?
    भदौ हो । भदौपछि गयो भने क्राइसिस आउँछ । भदौ भन्दा पहिले नै गर्नुपर्छ । म त भन्दैछु, जेठमा गर्नुपर्छ । असारको पहिलो हप्ता पनि गरे हुन्छ, नत्र बर्खा लागेपछि त हुन सक्दैन । त्यसै विषयमा हामीहरुबीच छलफल भइरहेको छ ।

    महाधिवेशन भन्नेबित्तिकै नयाँ नेतृत्व चयनको कुरा आउँछ । यहाँले पनि कोइराला परिवारबाट सभापतिमा उम्मेदवारी दिने चर्चा छ, यहाँको दाबी के मा छ ?
    हामी कोइराला परिवारबाट तीन जना केन्द्रीय समितिमा छौं । म महामन्त्री, शेखर दा र सुजाता दि केन्द्रीय सदस्य । हाम्रो बीचमा कुरा हुनुप¥यो । पहिले त साथीहरुसँग कुरा गर्नुप¥यो । अनि नेताहरुसँग कुरा गर्नुप¥यो । हामी भरसक एउटै व्यक्तिलाई उठाउँछौं । भरसक । सकेसम्म ।

    डा. शेखरले पनि सभापतिमा लड्छु भन्नुहुन्छ, तपाइ पनि के परिवारभित्रैबाट दुई जना लड्ने हो ?
    यो के हो भने रेस (दौड) भन्छन् नि । रेसमा जसले अगाडि बोल्यो, त्यो नै अगाडि बढ्ने कुरा हो । तर, मेरो दृष्टिकोणमा तपाईले भनेको कुरा ठीक हो, हामीले पहिले कुरा गरेर, अलि संवेदनशील भएर उम्मदेवारीबारे बोल्नु पर्ने हो । तर, हामी उम्मेदवारी दिनेबेलासम्म मिलेर अगाडि बढ्छौ ।

    महाधिवेशनमा सभापति शेरबहादुर देउवा र तपाईंबीचमा समीकरण गर्ने सहमति भएको चर्चा पनि यदाकदा सुन्न पाइन्छ ?
    सहमति केही भएको छैन । धेरै पहिले, दुई तीन वर्ष पहिले भन्नुभएको थियो । तपाईं वीपीको छोरो हो, तपाईंलाई नै सभापति बनाउँछु भन्नुभएको हो । तर, त्यो पुरानो कुरा हो । अहिले यो लागू कसरी हुन्छ ? उहाँ आफैं लड्नुहुन्छ ।

    देउवाले तपाईंलाई नै सभापतिमा सहयोग गर्नु भयो भने नि ?
    त्यो त झन् जाती भयो । तर, म त्यो सम्भावना देख्दै देख्दिन ।

    अब प्रसंग बदलौ, नेपालमा दुई तिहाई बहुमत हुँदा पनि राजनीतिक स्थिरता देखिएन । अबँ प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपति बनाएर जाँदा राम्रो हुन्थ्यो कि ?
    हामी संसदीय प्रजातन्त्रमा विश्वास गर्छौं । दलहरुमा विश्वास गर्छौं । त्यसैले दलहरुको नेतृत्वमा सरकारमा जाने हो । प्रत्यक्ष निर्वाचितले अर्को एउटा अतिवाद जन्माउने डर हुन्छ । उसले के भन्छन भने म किन प्रधानमन्त्रीबाट हट्ने ? मलाई त सबैले चुनेका हुन् । उसमा अतिवादी सोच आउँछ । हिटलरको जस्तो सोच आउँछ । त्यसैले सन्तुलित हिसाबले राजनीति गर्ने हो भने जुन अहिलेको व्यवस्था छ, यसैलाई टेकेर हामी जानुपर्छ ।

    अहिलेको सत्तारुढ नेकपा गुटै गुटमा विभक्त छ, कांग्रेस प्रतिपक्षमा भएर पनि गुट छन् । बहुमत ल्याएर सरकारमा कांग्रेस गए पनि उस्तै त होला नि ?
    हैन । हाम्रो अधिवेशन हुन्छ । अधिवेशनमा राम्रो नेतृत्व आउँछ । त्यो नेतृत्वले परिवर्तन ल्याउँछ । त्यसमा विश्वास राख्नोस् ।

    अर्को प्रसंग, सरकार बनेको तीन वर्षपछि कांग्रेसले शक्ति प्रदर्शन ग¥यो, खास के का लागि गरिएको हो ?
    सतहत्तरै जिल्लामा हामीले जिल्लास्तरीय एकै दिन एकै पटक विरोध प्रदर्शन गर्यौ । यो सरकार छ कि छैन भन्ने पनि अनुभूति जनतालाई भइरहेको छैन । सरकारको उपस्थिति छैन । उपस्थिति कहाँ हुन्छ, गलत ठाउँमा हुन्छ ।

    जस्तो कि रामचन्द्र दाइलाई त्यस्तो गर्नुपर्ने आवश्यकता नै थिएन । जबकि त्यहाँ (तनहुँ) को पुल उदघाटनमा पालिकाले नै उहाँलाई बोलाएको थियो । त्यसमा पनि उनीहरु (नेकपा) ले विरोध गरे । यो त भएन नि । हाम्रो भनाइ के हो भने सरकारले गरेको ज्यादतीको विरोध गर्नुपर्छ । तसर्थ हामीले यो विरोध प्रदर्शन गरेका हौं ।

    सडकमा एकातिर नेपाली कांग्रेस आएको छ, अर्कातिर राजवादीले आन्दोलन गरिरहेका छन् । कतै मिलेमतो त छैन ?
    व्यक्तिगतरुपमा म हिन्दुराष्ट्रको पक्षमा छु । तर, संघीयताको विरोधमा होइन । संघीयता भनेको विकेन्द्रीकरणको अन्तिम चरण नै संघीयता हो । तर, यो अभ्यास गर्न अहिलेको सरकारले सकेको छैन । जस्तो कि बजेट बाँडफाँट गर्दाखेरि प्रदेशलाई दिनुपर्ने हो कि हैन बजेट ? सबै केन्द्रीकृत गरेको छ सरकारले ।

    जबकि प्रदेशलाई दिनुपर्ने हो । तल्लोस्तरमा, गाउँस्तरमा चाहिँ दिएको छ । तर, प्रदेशस्तरमा उनीहरुले बजेट वितरण गरेका छैनन् । केन्द्रीकृत चलाइराखेका छन् । त्यसो हुनाले यो सरकार विकेन्द्रीकरणको नीतिको विरोधी हो ।

    यो सरकार संघीयताको विरोधी हो । किनभने, सरकारले चाहेको खण्डमा त संघीयतालाई झन् बलियो पार्नुपर्ने हो नि । तर, उसको क्रियाकलापले के देखिन्छ भने यो सरकार संघीयताको पक्षमा छैन । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…