यो समस्या यहाँको मात्र नभएर देश अवस्था नै अहिले यस्तै छ । पढेलेखेका शिक्षित युवाहरु रोजागरका लागि शहर बस्छन् भने कतिपय ब्यापार व्यवसायका लागि । जसले गर्दा आजभोलि गाउँघरमा जेष्ठ नागरिकहरु मात्र पाउन सकिन्छ ।
स्वदेशमा कामको अवसर र वातावरण नहुनु, उद्यम वा व्यवसाय सञ्चालनमा जोखिम र कठिनाइको भय भई लगानी गर्नसमेत पाटा र बाटाको अभावमा बाध्य भएर विभिन्न बहानामा लाखौँ युवा विदेशिदा गाउँ बस्तीमा भइपरी, मलामी, मर्दापर्दा र मलिलो भूमि बाँझिएको छ । खेतिपातीका लागि कृषि मजदुर पाउन छोडेको छ । धेरै खेती भएका र रोजगारी भएकाहरुले खेतमा बोटबिरुवा लगाएर जग्गा बाँजो हुन दिएका छैनन् भने कतिपयले बाँझै राखेका छन् ।
केही वर्ष अघिसम्म गाउँ टोल छर–छिमेकमा विवाह, व्रतबन्ध वा कुनै संस्कारमा युवाको उल्लेख्य सहभागिता हुन्थ्यो । नाचगानको बेग्लै रमाइलो पनि हुन्थ्यो । उर्लाबारी इन्द्रेझोडाका तुलशी राया भन्छन, ‘एक छोरा र एक बुहारी कामको सिलसिलामा बाहिर छन्, बिरामी पर्दा पानी तताएर दिने घरमा छैनन, ठूलो समस्या परे सहयोग गर्ने गाउँमा छैनन् ।’
गाउँमा चाडपर्वमा हुँदा नाटक नृत्यहरु देखाउथे,अहिले त केहि कार्यक्रमहरु नै हुँदैन,रायले भने, युवाशक्ति पलायन हुँदा गाउँको रौनक नै हरायो ।
आफ्नो घरखेत बाँझो राखेर विदेशको वालुवामा कर्म खोज्ने रहरले नेपालीहरु माटोको माया त्याग्दा रेमिटेन्स त भित्रियो तर मर्दा पर्दा गाउँमा शव उठाउन काँधहरु पनि भेटिन छाडेका छन् । सामान्य बिरामी हँुदा हस्पिटल लगिदिने युवा पनि छैनन् ।
गाउँमा मरिमराउ हुँदा लाश पनि महिलाहरुले बोकेर घाट सम्म पुरयाउने गरेका छन्, उर्लाबारी दुर्गापुरीका राजकुमार योन्जन भन्छन्, महिलाले लाश बोक्नुहुन्न भन्ने परम्परा नै तोडिएको छ । मरिमराउ हुँदा पनि किरीयापुत्रिलाई रुग्ने मान्छे पनि पाउन छोडिएको उनले गुनासो गरे । योन्जन भन्छन्, वैदेशिक रोजगारीले धेरै समस्या भित्रीयाएको छ ।
गाउँमा जेष्ठ नागरिकहरु मात्र छन् । बलका ठुला कामहरु गर्न सक्दैन्, उनीहरुले गाउँमा आगोलागी भयो,दुर्घटना भयो भने पनि दमकल प्रहरीलाई फोन हेक्का समेत राख्न सक्दैन्, उर्लाबारी ९ कै नरेन्द्र देवान भन्छन्, मेरो घरको माँचमा एकपटक आगलागि भयो, दमकल बोलाउन नम्बर पनि भएन, गाउँमा सबै हामी बुढापाकामात्रै, निभाउन त खोज्यौ तर आँखै अगाडी सबै खरानी भयो । उनले भने, गाउँमा लाठेहरु भएको भए निभाउन सकिन्थीयो तर कोहीँ त छैन अहिले गाउँमा ।
लाठेहरु गाउँमा नहुँदा सुरक्षाको चिन्ता बढेको देवानले गुनासो गरे । सामान्य अक्षर चिनेपछि नेपालमा केही हुँदैन भन्दै युवा रोजगारका लागि खाडीमुलुक पस्नुपर्छ भन्ने सोच विकास गर्न थालिसकेका छन् । वर्षभरि खेती गर्दा पनि नगद नदेखिने र समस्या आइपर्दा जहिले ऋण काट्नु पर्ने पिरले विदेशिएका उर्लाबारी बोर्डरलाईनका सुमन साँबाले बताए ।
भर्खरै बिदामा घर आएका उनले भने, वर्षभरि दुःख गर्दा रु ३० हजार कमाउन चर्काे पर्छ, उस्तै प¥यो भने विदेशमा एकै महिनामा त्यति पैसा कमाइन्छ अनि किन नेपाल बस्ने । प्राविधिक शिक्षा र वैज्ञानिक कृषि प्रणालीको अभावमा नेपालीले यस्तो मार खेप्नुपरेको उनको भनाइ छ ।
कतिछन् युवा विदेश ?
गएको १० वर्षमा ४० लाख ३ हजार ४ सय ८० नेपाली युवा रोजगारीका लागि विदेशिएका छन् । यसमा छिमेकी देश भारतमा गएका नेपाली कामदारको संख्या समावेश गरिएको छैन । भारतमा कति नेपाली रोजगारीका लागि जान्छन् भन्ने यकिन तथ्यांक कुनै निकायसँग छैन ।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०५०–०५१ देखि ०६२–०६३ सम्म नेपालबाट ७ लाख ५८ हजार ६ सय ७५ जना वैदेशिक रोजगारमा गएका थिए । २०५० साउनदेखि २०७४ असार मसान्तसम्म विदेश जाने नेपाली कामदारको संख्या झण्डै आधा करोड अर्थात ४७ लाख ६२ हजार १ सय ५५ रहेको छ ।
पछिल्लो आर्थिक बर्ष ७३–७४ मा ३ लाख ८३ हजार ४ सय ९९ जना नपाली वैदेशिक रोजगारमा गएका छन् ।
चुनाब अघि हाम्रा देशका नेताहरुले विदेशीएका युवा जनशक्ति फर्काउने र स्वदेशमै रोजगारको ग्यारेन्टी गर्ने भाषण गर्छन् । तर सत्तामा पुगेपनि माखो मारेको देखिदैन् । समस्या ज्यूका त्यू नै छ ।
दिगो विकासका निम्ति कृषिको आधुनिकीकरण, पशुपालन, प्राकृतिक सम्पदा र कच्चा पदार्थको संरक्षण र सदुपयोग, संस्कृति र सांस्कृतिक सम्पदाको संरक्षण, प्रचार र विकास गरी पर्यटन व्यवसायको स्थापना, विकास र विस्तार गर्ने र खानी उत्खनन र अनुसन्धान एवं जडीबुटी सङ्कलन र प्रशोधन उद्यम र व्यवसाय सञ्चालन देशको भूगोल, जलविद्युतको उत्पादन एवं सिँचाइको पर्याप्तता, स्थानीय परिवेशमा उपलब्ध कच्चा पदार्थ र युवाको सीपको मूल्याङ्कन गरि उद्योग र कलकारखानाको स्थापना र स्वदेशी वस्तुको उत्पादन र उपभोग बढाउन सके युवा शक्तिले विदेशिनु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनेथियो कि ?