म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा बुधबारदेखि प्रथम चौँरी महोत्सव शुरु भएको छ । राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालयको सहयोगमा चौँरी स्रोत संरक्षण तथा प्रवद्र्धन समिति पाउद्वारले आयोजना गरेको महोत्सव छ दिनसम्म सञ्चालन हुने जनाइएको छ ।
चौँरी संरक्षण, चौँरीका उत्पादनको बजारीकरण, चौँरीको महत्व र स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको समितिका अध्यक्ष मीनबहादुर गर्बुजाले बताउुभयो । “पाउद्वार गाउँकै नजिकै लरेनीमा झारिएका चौँरी देखाएर पर्यटक भित्र्याउने उद्देश्यले महोत्सव आयोजना गरेका हौँ”, उहाँले भन्नुभयो, “कोरोनाका कारण थलिएको पर्यटन र ग्रामीण अर्थतन्त्रलाई पनि यसले सहयोग गर्ने अपेक्षा छ ।”
महोत्सवमा कृषक र विज्ञहरुबीच चौँरीको महत्व, समस्या, व्यावसायिक सम्भावना र कृषकको आवश्यकताका विषयमा छलफल आयोजना गरिएको छ । यसैगरी चौँरीको आलो रगत पिउने मेलासमेत सञ्चालन हुनेछ ।
महोत्सवमा आउने पाहुनालाई चौँरी देखाउने र यसको महत्वका विषयमा बुझाइने कार्यवाहक वडाअध्यक्ष राजेश तिलिजाले बताउनुभयो । “म्याग्दी जिल्लामा हाम्रो वडामा मात्र चौँरीपालन हुन्छ”, उहाँले भन्नुभयो, “परम्परागत चौँरीपालनलाई पर्यटन र गाउँलेको आयआर्जन सुधारसँग जोड्ने प्रयास गरिएको हो ।”
दश हजारभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको महोत्सवको उद्घाटनका अवसरमा चौँरी गोठाला सुकबहादुर पुनलाई सम्मान गरिएको थियो । स्थानीय मगर संस्कृतिमा आधारित पुख्यौली, सोरठी, कौरा, मादले, मारुनी गीत र नृत्य महोत्सवको आकर्षण हुन् ।
पाउद्वार र शिखका तीन वटा फार्मले ४०० भन्दा बढी चौँरी पालेका छन् । सामाजिक अभियानकर्मी डा महावीर पुनको अगुवाइमा पाउद्वार मावि र हिमाञ्चल माविका निजी स्रोतका शिक्षकको तलबभत्ता जुटाउन विसं २०५८ देखि खोपारा क्षेत्रमा व्यावसायिक चौँरीपालन गरिएको स्थानीयवासी भीम तिलिजाले बताउनुभयो ।
खोपारा, खयर, बयली, डाडखर्कलगायत बराह शिखर हिमालको फेदीका बुकीमा चाँैरीपालन गरिएको छ । प्राकृतिक हिसाबले सुन्दर त्यस क्षेत्रमा पालिएका चौँरी र भेडीगोठले पर्यटकलाई आकर्षित गराएको गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले बताउनुभयो ।
राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालयका वरिष्ठ पशु विकास अधिकृत खगेन्द्रराज भट्टले अनुकूल हावापानी र भूगोल भएको अन्नपूर्ण गाउँपालिकालाई चौँरी स्रोत केन्द्रका रूपमा विकास गर्न लागिएको बताउनुभयो । “चौँरीको नश्ल, गोठ सुधार, व्यावसायिक उत्पादन, उत्पादनको विविधीकरण र बजारीकरणमा सघाउने कार्यक्रम बनाएका छौँ”, उहाँले भन्नुभयो, “‘यहाँ पालिएका चौँरीलाई देशका अन्य ठाउँमा पनि नश्ल सुधारका लागि लैजान सकिन्छ ।” यस वर्ष स्रोत केन्द्र सञ्चालनका लागि रु नौ लाख ३५ हजार विनियोजन भएको छ ।
तीन वटा याक खरिद गरेर समितिलाई उपलब्ध गराइसकिएको छ । आन्तरिक र बाह्य परजीवी विरुद्धको खोप, गोठ सुधार, खानेपानी, खर्क सुधार र गोठालाका लागि आवश्यक सामग्री सहयोग गरिने पशु विकास अधिकृत बासुदेव नाथले बताउनुभयो । चितुवाको आक्रमण, चरन क्षेत्रको अभाव र रोगको महामारी चौँरीपालनका लागि चुनौती भएको कृषक प्रेम पुर्जाले बताउनुभयो ।