काठमाडौं – अपरान्ह ४ बजे बस्ने प्रतिनिधिसभा बैठकबारे रणनीति बनाउन भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड – माधव नेपाल पक्षले संसदीय दलको आकस्मिक बैठक बोलाएको छ ।
सिंहदरबारस्थित दलको कार्यालयमा केहीबेरमा बैठक बस्न लागेको प्रचण्ड निकट स्रोतले लोकपथलाई बतायो ।
केही बेरअघि प्रचण्ड र नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल तथा प्रमुख सचेतक देव गुरुङ र कृष्णभक्त पोखरेलले सभामुखसँग परामर्श गरेका थिए । परामर्शलगत्तै संसदीय दल बैठक बोलाउनुलाई अर्थपूर्ण भनिएको छ ।
गत शुक्रबार बसेको दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए आज अविश्वास प्रस्ताव दर्ता गर्नेबारे छलफल भएको थियो ।
ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन यो पक्षले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग समेत संवाद गरिरहेको छ।