विराटनगर / आफूहरूलाई उठीबास लगाउन खोजिएको भन्दै विराटनगर गोग्राहाका सुकुमबासी महानगरपालिका कार्यालयअगाडि उभिएर विरोध प्रदर्शन गरिरहेका छन् ।
उनीहरूले ‘भूमाफियालाई कारबाही गरौँ, सुकुमबासीको बस्ती उठाउन पाइँदैन, क्रान्तिकारी भूमिसुधार लागू गर, सुकुमबासीहरू एक हौँ,’ लेखेको प्ले–कार्ड बोकेका छन् ।विराटनगर महानगरपालिका–३ गोग्राहा चोकस्थित ऐलानी जग्गामा ४० वर्षदेखि बस्दै आएका सुकुमबासी परिवारलाई जबरजस्ती हटाउन खोजेको भन्दै महानगरपालिका पदाधिकारीविरुद्ध नाराबाजीसहित विरोध प्रदर्शन भइरहेको छ ।
शुक्रबार अपरान्ह नगर प्रहरीहरू डोजरसहित सुकुमबासीको बस्तीमा प्रवेश गरेपछि स्थानीय आन्दोलित भएका हुन् । बस्ती भत्काउने निर्णय कार्यान्वयन गर्न डोजरसहित गोग्राहा पुगेको टोली विरोध प्रदर्शनपछि ‘खालीहात’ फर्किएको थियो ।